‘देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला चुनावले गर्छ’

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै यस क्षेत्रलाई क्रान्तिको आधारभूमिबाट विकासको नमूना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा सम्पन्न कार्यक्रमहरूमा उनले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पालाई आफ्नो राजनीतिक कर्मथलोका रूपमा उल्लेख गरे। “रुकुमपूर्व मेरो लागि नयाँ ठाउँ होइन। म ४१ वर्षअघि नै यहाँ आएको थिएँ। रुकुम–रोल्पा मेरो नेतृत्वमा भएको जनयुद्धको आधार क्षेत्र हो। यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ,” उनले बताए।

संयोजक प्रचण्डले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोका रूपमा चित्रण गर्दै यहाँ आउँदा आफूलाई नयाँ ऊर्जा प्राप्त भएको उल्लेख गरे। जनतासँगको भेटघाटलाई उनले विजय उत्सवसँग तुलना गर्दै भने, “कतै भव्य जुलुस छन्, कतै पञ्चेबाजा बजिरहेका छन्। मत माग्न आएकोभन्दा पनि विजय उत्सव मनाइरहेको जस्तो अनुभूति हुन्छ।” उनले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया मात्र नभई विशेष परिस्थितिको राजनीतिक प्रतिस्पर्धा भएको बताए। चुनावमा तीन प्रकारका प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै उनले भदौ २३ मा युवाको हत्या गर्ने शक्ति, भदौ २४ मा आगजनी र विध्वंस मच्चाउने शक्ति र सुशासन, गणतन्त्र तथा शान्तिको पक्षमा उभिएको शक्तिबीच जनमत परीक्षण हुने बताए।

“हिंसा नगर्ने, आगजनी नगर्ने र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने प्रवृत्तिलाई जिताउने कि विध्वंस र अराजकतालाई जिताउने भन्ने निर्णय जनताले गर्नेछन्,” उनले भने। आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको उल्लेख गर्दै सकारात्मक शक्तिले विजय हासिल गर्ने विश्वास व्यक्त गरे। प्रचण्डले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै सेना र प्रहरीप्रति भरोसा व्यक्त गरे। “यो निर्वाचन राष्ट्रका लागि अत्यन्त महत्वपूर्ण छ। देशलाई दुर्घटनातर्फ लैजाने कि सुरक्षित राख्ने भन्ने निर्णय यही चुनावले गर्नेछ,” उनले बताए। भौतिक कठिनाइका बाबजुद पनि जनताबीच पुग्दा आफूलाई थप ऊर्जा प्राप्त भएको उल्लेख गर्दै उनले रुकुमपूर्वलाई विकासको नमूना जिल्ला बनाउने प्रतिबद्धता पुनः दोहोर्याए।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।