प्रदूषणले श्वास फेर्न कठिन बन्दै राजधानी शहर

राजधानी काठमाडौँ फेरि एकपटक धुलो र धुवाँको बाक्लो तहले ढाकिएको छ । वायु गुणस्तर सूचकांक १९१ पुगेर अस्वस्थकर श्रेणीमा सूचीकृत हुनु सामान्य चेतावनी होइन । विश्वका प्रदूषित शहरमध्ये अग्रस्थानतर्फ उक्लिँदै जानु केवल मौसमको संयोग होइन, हामीले विकासका नाममा गरेको लापरवाहीको प्रतिफल हो । यदि यहीँ प्रवृत्ति जारी रह्यो भने श्वास फेर्नु नै चुनौती बन्नेछ ।

काठमाडौँ उपत्यका भौगोलिक रूपमा कचौरा आकारको छ । वरिपरि पहाडले घेरेको हुँदा हावाको प्रवाह सहज हुँदैन । वर्षा नहुँदा हावामा रहेका सूक्ष्म कण जमिनमा झर्दैनन् र लामो समयसम्म आकाशमै उड्छन् । यस्तो प्राकृतिक संरचनाको भूभागमा मानवीय क्रियाकलापले प्रदूषणको जोखिम बढाएका छन् ।

प्रदूषण बढ्नुको कारणमा सवारीसाधनको अस्वाभाविक वृद्धि रहेको छ । निजी गाडी र मोटरसाइकलको संख्या तीव्र रूपमा बढ्दा डिजेल र पेट्रोलबाट निस्किने धुवाँ प्रदूषणको प्रमुख स्रोत बनेको छ । पुराना र मापदण्ड नपुगेका सवारीसाधन निर्वाध रूपमा सञ्चालनमा छन् ।

सडक विस्तार, घर निर्माण र पूर्वाधार परियोजनाबाट उड्ने धुलो नियन्त्रण बिना अव्यवस्थित रूपमा निर्माण कार्य गरिँदै आएको छ । फोहोर जलाउने प्रवृत्ति र इँटाभट्टा तथा साना उद्योगले उत्पादन गर्ने वायुले पनि प्रदूषण बढाउनमा भूमिका खेलेको छ ।

स्वास्थ्य मापदण्डअनुसार १९१ एक्युआईको वायु सबैका लागि अस्वस्थ मानिन्छ । विशेषगरी यसले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी जोखिममा राख्छ । दम, एलर्जी, खोकी, आँखा पोल्ने, टाउको दुख्ने जस्ता लक्षण देखाउँछ । वायु प्रदूषणले दीर्घकालीन रूपमा फोक्सोको कार्यक्षमता घट्ने, हृदयघातको जोखिम बढ्ने र समयअगावै मृत्यु हुने सम्भावना हुन्छ ।

जब एक्युआई उच्च तहमा पुग्छ, सरकार र स्थानीय तहले आकस्मिक कदम चाल्नुपर्छ । फोहोर जलाउने कार्य कडाइका साथ रोक्नुपर्छ । सडक सफाइका लागि पानी छर्किने, ब्रुमर र भ्याकुम उपकरणको प्रयोग गर्नुपर्छ । अत्यधिक प्रदूषण भएका दिनमा विद्यालय सञ्चालन समय घटाउने वा वैकल्पिक व्यवस्था गर्ने निर्णय लिन सकिन्छ । सार्वजनिक सन्देशमार्फत मास्क प्रयोग, बाहिरी गतिविधि सीमित राख्ने र जोखिम समूहलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुपर्छ । ट्राफिक व्यवस्थापन कडा गरी अनावश्यक सवारी सञ्चालन घटाउने अस्थायी उपाय पनि प्रभावकारी हुन सक्छ ।

सवारीसाधनको नियमित प्रदूषण परीक्षण अनिवार्य र कडाइका साथ लागू हुनुपर्छ । पुराना र अत्यधिक धुवाँ फाल्ने सवारी चरणबद्ध रूपमा हटाउन प्रोत्साहन र दण्ड दुवै नीति आवश्यक छन् । सार्वजनिक यातायात सुधार गरी निजी सवारी प्रयोग घटाउने रणनीति अपनाउनुपर्छ । निर्माण स्थलमा धुलो नियन्त्रणका मापदण्ड कडाइका साथ लागू गर्नुपर्छ, जस्तैः जालीले छेक्ने, नियमित पानी छर्किने गर्नुपर्छ ।

दीर्घकालीन रूपमा प्रदूषण नियन्त्रण विकास मोडेलसँग जोडिएको छ । विद्युतीय सार्वजनिक यातायात विस्तार, चार्जिङ पूर्वाधार विकास र निजी विद्युतीय सवारीलाई प्रोत्साहन नीतिलाई प्राथमिकतामा राख्नुपर्छ । शहरी योजना पुनरावलोकन गरी हरित क्षेत्र संरक्षण र विस्तार गर्नुपर्छ । पैदलमार्ग र साइकल लेन निर्माणले सवारी निर्भरता घटाउँछ ।

राजधानीको आकाश धुवाँले ढाकिँदा त्यो केवल दृश्य प्रदूषण होइन, नीति असफलताको संकेत पनि हो । श्वास फेर्न पाउने अधिकार मौलिक अधिकार हो । यसलाई सुरक्षित राख्न सरकार, निजी क्षेत्र र नागरिक सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।

मिति २०८२ फागुन ७ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।