भ्रष्टाचारीलाई कारबाहीदेखि संविधान संशोधनसम्म नेकपाको प्राथमिकता

काठमाडौं । २२ वटा कम्युनिस्ट तथा समाजवादी घटकको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टी ले मुलुकमा बाह्य हस्तक्षेपकारी गतिविधि बढेको दाबी गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमान जोगाउन एकताबद्ध हुन आह्वान गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल द्वारा जारी संयुक्त अपिलमा नेपालको स्वतन्त्र अस्तित्वमाथि चुनौती देखिएको उल्लेख छ । “इतिहासमा कहिल्यै कुनै विदेशी शक्तिको अधीनमा नरहेको हाम्रो राष्ट्रको स्वाधीनता र स्वाभिमानमा आँच आउन सक्ने खतरा महसुस भएको छ,” अपिलमा भनिएको छ ।

प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै सार्वजनिक गरिएको अपिलमा संविधानको कार्यान्वयनबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । संविधान खारेजको पक्षमा नरहेको स्पष्ट गर्दै पार्टीले आवश्यक परिमार्जन भने गर्न सकिने धारणा अघि सारेको छ । “यसलाई खारेज गर्ने अधिकार कसैलाई पनि छैन । तथापि यो अपरिवर्तनीय दस्तावेज भने होइन । यसको कार्यान्वयन गर्दा देखा परेका समस्या समाधान गर्नका निम्ति आवश्यक परिमार्जन गर्न सकिन्छ, गर्नुपर्दछ,” अपिलमा उल्लेख छ । संविधानले निर्देश गरेको प्रक्रियाअनुसार संशोधन हुनुपर्नेमा जोड दिँदै पार्टीले कार्यान्वयनको समीक्षा र पुनरावलोकन गरेर शासकीय स्वरूपलगायत विभिन्न पक्षमा सुधार गर्ने अठोट व्यक्त गरेको छ ।

त्यसैगरी, वर्तमान निर्वाचन प्रणालीलाई अत्यन्त खर्चिलो, भड्किलो र जटिल भएको टिप्पणी गर्दै परिवर्तनको आवश्यकता औंल्याइएको छ । कुनै एक दलले स्पष्ट बहुमत ल्याउन नसक्ने संरचनाले गठबन्धन सरकार बन्ने र त्यसले राजनीतिक अस्थिरता निम्त्याउने दाबी पार्टीको छ । “हामी यस निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ,” अपिलमा भनिएको छ ।सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका सबै अङ्ग सञ्चालन गर्ने र सङ्घीयताको मर्मअनुसार जनताको घरदैलोमै प्रभावकारी सेवा प्रवाह गर्ने वाचा गरिएको छ । त्यसका साथै, उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता समेत अपिलमार्फत व्यक्त गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।