काठमै भविष्य खोज्दै नौखरीका उद्यमी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीमा बिहानको सुरुवात काठको आवाजसँगै हुन्छ। आँगनमै थुपारिएको विजयसाल काठ, हातमा औजार र मनमा आशा र यहाँका काष्ठ उद्यमीहरूको दैनिकी बनेको छ।

पुस्तौंदेखि सिकेको सीपलाई निरन्तरता दिँदै उनीहरू विजयसालबाट विभिन्न भाँडाकुडा तयार गरेर जीवन धानिरहेका छन्। स्थानीय उद्यमीहरू गिलास, लोटा, कचौरा, थाल जस्ता सामग्री परम्परागत तरिकाले हातैले बनाउँछन्। काठ काट्ने, मिलाउने, घोट्ने र अन्तिम रूप दिने प्रक्रियामा धेरै समय र मेहनत लाग्छ। तर यसै मेहनतले उनीहरूको घर चलिरहेको छ।

उपहार दिने र लिने प्रचलन मावन समाजमा सदियौं देखि चल्दै आएको छ। कुनै विशेष अवसर होस् वा मित्र र आफ्ना प्रियजनलाई विदाई गर्दा। ‘मायाको चिनो’ स्वरुप केहि बस्तु उपहार दिने गरिन्छ। आधुनिक युगमा उपहारका विकल्प धेरै हुन सक्छन। त्यो पनि ठाँउ र परिवेश अनुसार फरक–फरक हुनु स्वाभाविक हो। त्यसमा पनि उपहार दिने र लिनेको उमेरमा पनि भर पर्छ। तर, सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको सन्दर्भमा भने ‘मायोको चिनो’ अर्थात उपहारका रुपमा स्थापित भएको छ, ‘विजयसालको भाँडाकुडा ’ ।

‘मायाको चिनो’ का रुपमा विजयसालका अम्खरा लगाएतका भाडाहरु आदान प्रदान गर्न थालेपछि यसले महत्व समेत पाएको छ। अचेल बाहिरबाट यहाँ कुनै कार्यक्रममा आउने बढिजसो पाहुनालाई चिनोका रुपमा अम्खरा दिनु अनिवार्य झैं भएको छ।

यहाँ तयार गरिएका सामग्री किन्ने ग्राहकहरू गाउँमै आउने गर्छन्। कतिपयले बजारबाट खोज्दै पनि यहाँ आइपुग्ने गरेका छन्। विशेषगरी स्वास्थ्यप्रति सचेत मानिसहरू विजयसालका भाँडाकुडा प्रयोग गर्न रुचाउँछन्। आयुर्वेदिक मान्यताअनुसार विजयसाललाई बहुगुणी काठका रूपमा लिने गरिन्छ, जसले शरीरलाई फाइदा पुग्ने विश्वास छ। यही कारण पनि यसको माग निरन्तर रहेको स्थानीय बताउँछन्।

स्वास्थका लागि हितकर

चिनोका रुपमा दिइने विजयसालको भाँडोमा राखेको पानी पिउँदा मुख्यतया पेट सम्बन्धि विभिन्न रोगहरु निको हुने गर्छ। औषधिको रुपमा समेत प्रयोग हुन थालेपछि यसको महत्व झन बढेको छ। विजयसालको बोक्रा, खोटो र कलिला पातहरुबाट निकालिएको रस विभिन्न रोगको उपचारका लागि औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सक बताउँछन्। विजयसालका भाँडामा राखिएको पानी पिउने गरेमा पेटका विभिन्न रोग, मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने र हाडजोर्नी दुख्ने रोग निदान गर्न प्रयोग गरिन्छ। विजयसालका भाँडामा सधै पानी राख्दा माथिल्लो भाग निलो, बीचको भाग रातो र पिँधको भागको रङ्ग पहेलो देखिने गर्छ। यसलाई घर–घरमा सजावटको रुपमा पनि राख्न थालिएको छ।

“हामीले बनाएको सामान ग्राहकले रुचाएर किन्छन्, त्यसले काम गर्ने हौसला दिन्छ,” एक उद्यमी भन्छन्, “यो पेसा केवल आम्दानीको माध्यम होइन, हाम्रो पहिचान पनि हो।” यद्यपि, यो व्यवसाय चुनौतीविहीन भने छैन। विजयसाल काठको सहज उपलब्धता नहुनु, कच्चा पदार्थको मूल्य बढ्नु, आधुनिक उपकरणको अभाव र बजार विस्तारको कमीले उद्यमीहरूलाई समस्या परेको छ। उनीहरूका अनुसार यदि उचित प्रविधि र बजारीकरणमा सहयोग मिल्ने हो भने उत्पादन बढाउन र आम्दानी वृद्धि गर्न सकिने सम्भावना धेरै छ।

स्थानीय स्तरमा सञ्चालन भइरहेको यस्तो काष्ठ उद्यमले रोजगारी सिर्जना मात्र गरेको छैन, परम्परागत सीप र ज्ञानलाई जोगाउने काम पनि गरिरहेको छ। नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित भइरहेका बेला यस्ता उद्यमले उनीहरूलाई गाउँमै केही गर्ने प्रेरणा दिन सक्छ।

नौखरीका यी काष्ठ उद्यमीका लागि विजयसाल केवल काठ होइन—संघर्ष, परिश्रम र आत्मनिर्भरताको प्रतीक बनेको छ। उचित सहयोग र प्रोत्साहन पाए यो सानो प्रयासले ठूलो सम्भावना बोकेको छ, जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने मात्र होइन, मौलिक सीपको संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ।