न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला

नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपनाप्रधान मल्लले बुधबारदेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी छन् । यसअघि पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नेतृत्व गरेकी थिइन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश मल्लको काँधमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी आइपुगेको छ ।

प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा १२९(६) मा प्रधानन्यायाधीश अवकाश भएपछि वरिष्ठतम् न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीश हुने व्यवस्था गरिएको छ ।
न्याय परिषद्ले गत फागुन २६ गते प्रधानन्यायाधीश बन्न योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको सूची संवैधानिक परिषद्मा पठाएको थियो । प्रधानन्यायाधीशका लागि परिषद्ले वरिष्ठतम् न्यायाधीश मल्लसहित, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

नेपालको संविधानअनुसार सर्वोच्च अदालतमा ३ वर्ष न्यायाधीश भएको र ६५ वर्ष उमेर नपुगेको व्यक्ति प्रधानन्यायाधीश हुन पाउने योग्यता पुगेको मानिन्छ । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा १ महिनाअघि नै संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम प्रस्ताव गर्नुपर्छ । तर प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन । सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलको नेताको पद रिक्त भएकाले संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न नसकेको बताइएको छ ।

संसदीय सुनुवाइ विशेष समितिमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ । प्रतिनिधि सभाको निर्वाचनपछि संसद्को अधिवेशन बिहीबारदेखि सुरु हुने र सभामुख/उपसभामुखको निर्वाचनको प्रक्रिया सुरु हुन बाँकी रहेकाले सुनुवाइ समितिको गठनमा अझै केही हप्ता लाग्न सक्ने देखिन्छ ।

कामु प्रधानन्यायाधीश सपना

बुबा गोविन्दबहादुर प्रधान र आमा राधा प्रधानको कोखबाट विक्रम संवत् २०२० कात्तिक २९ गते शुक्रबार थापाथली काठमाडौँमा जन्मिएकी कामु प्रधानन्यायाधीश मल्ल २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् ।

उनी त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक र दिल्ली विश्वविद्यालयबाट कानुन विषयमा नै स्नातकोत्तर गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासनमा समेत उनी स्नातकोत्तर गरेकी हुन् ।

विक्रम संवत् २०४५ सालदेखि कानुन व्यवसायमा सक्रिय भएर काम गरेकी कामु प्रधानन्यायाधीश सपनासँग २ वर्ष नेपाल ल क्याम्पसमा कानुन पढाएको अनुभव पनि छ । अधिवक्ता भएर काम गर्दागर्दै २०६९ सालमा उनले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेकी थिइन् ।

कामु प्रधानन्यायाधीश सपनाको दर्जनौँ शोध र लेखहरू प्रकाशित भएका छन् । कानुनका क्षेत्रबाट महिला अधिकारको संरक्षण, महिला हिंसा नियन्त्रण, सामाजिक न्याय, महिलामा लगानी, महिलाको सम्पत्तिको अधिकार आदि धेरै विषयमा राष्ट्रिय/अन्तरराष्ट्रिय दैनिक तथा जर्नलहरूमा लेख समेत उनले लेखेकी छन् । सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा कार्यरत हुँदा उनले लैङ्गिक न्याय, लैङ्गिक एवं घरेलु हिंसा एवं संवैधानिक मामिला जोडिएका कैयौ मुद्दामा दूरगामी असर पार्ने नजिर पनि प्रतिपादन गरेकी थिइन् ।

न्यायिक नेतृत्वसम्म आइपुग्दा सपनाका संघर्ष

सर्वोच्च अदालतको न्यायाधीश हुनुभन्दा अगाडि उनी विभिन्न अन्तरराष्ट्रिय संघसंस्था, कानुन न्याय एवं मानवअधिकारका विषयमा काम गरिसकेकी छन् । कानुनकै विद्यार्थी भएको हुनाले कामु प्रधानन्यायाधीश मल्लले २०६४ देखि २०६९ सालसम्म संविधानसभा सदस्य भएर पनि काम गरिसकेकी छन् । संयुक्त राष्ट्रसंघको यातना विरुद्धको समितिमा विज्ञ सदस्य भएर समेत उनले काम गरिसकेकी छन् ।

यसका साथै कामु प्रधानन्यायाधीश मल्लले कानुनका क्षेत्रसँग सम्बन्धित धेरै संघसंस्थामा आबद्ध भएर काम गरिसकेकी छन् । न्यायाधीश महिला समाजको संयोजक भएर काम गरिसकेकी उनले वातावरण सम्बन्धी विश्वव्यापी न्यायिक संस्थानको महासचिव भएर पनि काम गरिसकेकी छन् ।

सार्क कानुन नेपाल अध्ययनको अध्यक्ष, अन्तरराष्ट्रिय महिला न्यायाधीश संघको सदस्य, वातावरण न्यायसम्बन्धी विश्वको आयोगको सदस्य, नेपाल बार एसोसिएसनको सदस्यका साथै विभिन्न पदमा रहेर उनले काम गरिसकेकी छन् ।

वरिष्ठ अधिवक्ता तथा संविधासभा सदस्य समेत भएर काम गरेकी कामु प्रधानन्यायाधीश मल्लले नेपाल सरकारको दशौँ योजनामा समावेश गर्ने योजना र कार्ययोजनाको विकासमा संलग्न थिइन् । मानव बेचबिखन विधेयक, राष्ट्रिय महिला आयोग विधेयक तथा उत्तराधिकार अधिकार विधेयक र वैदेशिक रोजगार विधेयक, यौन उत्पीडन विरोधी कानुन र लैङ्गिक समानता विधेयक लगायत कानुन सुधार पहलहरू लगायत धेरै कानुनी क्षेत्रमा योगदान पुर्‍याएकी छन् ।

सर्वोच्च अदालतमा कार्यरत रहँदा व्यवस्थापन तथा प्रकाशन समिति लगायतका धेरै समितिमा रहेर उनले नेतृत्व गरिसकेकी छन् । प्रधानन्यायाधीश भएमा उनी २०८५ कात्तिक ३० गते ६५ वर्षे उमेरहदबाट अवकाश हुनुपर्नेछ । (रासस)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।