सुकुमवासीलाई थपिएको सास्ती !

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले उपत्यकाका विभिन्न स्थानमा बाढी र डुबान निम्त्यायो । त्यसको प्रत्यक्ष असर कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासी परिवारमाथि पनि पर्‍यो ।

मध्यरातमा आएको बाढीले होल्डिङ सेन्टर नै डुबानमा परेपछि त्यहाँ आश्रय लिएर बसेका दर्जनौं परिवार पुनः एकपटक विस्थापित हुन बाध्य भए । उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सार्ने निर्णयअनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म ३१ परिवारका ८९ जनालाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ भने केही परिवारलाई भक्तपुरकै बोडे क्षेत्रमा व्यवस्थापन गरिएको छ ।

बाढीबाट ज्यान जोगाउन सफल भए पनि उनीहरूले वर्षौं लगाएर जोहो गरेका सबै सामान गुमाएका छन् । अहिले उनीहरूको सबैभन्दा ठूलो चिन्ता नयाँ स्थानमा बसाइ व्यवस्थापन, बालबालिकाको शिक्षा, रोजगारी, दैनिक गुजारा र भविष्यको सुनिश्चितता बनेको छ । सरकारबाट तत्काल उद्धार र स्थानान्तरण गरिए पनि दीर्घकालीन समाधानबारे स्पष्ट योजना नआएको भन्दै पीडितहरू अन्योलमा परेका छन् । कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बस्दै आएकी ६४ वर्षीया मेनुका गुरुङका लागि शुक्रबारको रात जीवनकै सबैभन्दा त्रासदीपूर्ण रात बन्यो।

उनी गहिरो निद्रामा थिइन् । रातको करिब १ बजेतिर अचानक बाढीको पानी होल्डिङ सेन्टरभित्र पस्न थालेपछि उनी झस्किएर उठिन् । आफूभन्दा पहिले उनले आफ्ना ११ वर्षीया नातिनी विशुलक्ष्मी र १० वर्षीय नाति विश्वनाथलाई सुरक्षित स्थानतर्फ लैजान हतार गरिन् । केही मिनेटमै पानीको सतह बढ्दै गएपछि उनीहरूले कुनै सामान निकाल्ने अवसरसमेत पाएनन् ।

गुरुङ लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी छन् । आठ पटकसम्म शल्यक्रिया गराइसकेकी उनी आफैं शारीरिक रूपमा कमजोर छिन् । त्यसबीच पनि उनले सानो किराना व्यापार गरेर नातिनातिनाको पालनपोषण गर्दै आएकी थिइन् । चामल, दाल, साबुन, सरफलगायत दैनिक उपभोग्य सामग्री बेचेर जुटाएको जीविकोपार्जनको आधार नै बाढीले बगाइदिएको छ । उनका अनुसार घरभित्र रहेका सम्पूर्ण सामान पानीले नष्ट गरिदियो । नागरिकता बाहेकका अन्य सबै कागजात हराए। नातिनातिनाका विद्यालय पोसाक, पाठ्यपुस्तक, कापी, प्रमाणपत्र तथा दैनिक प्रयोगका सामग्रीसमेत काम नलाग्ने बने। अहिले आफूहरूसँग शरीरमा लगाएको कपडाबाहेक केही पनि बाँकी नरहेको उनी बताउँछिन् ।

मेनुकाको पीडा केवल आफ्नो सम्पत्तिसम्म सीमित छैन । उनलाई सबैभन्दा ठूलो चिन्ता नातिनातिनाको भविष्यको छ । विद्यालय जाने उमेरका बालबालिकाले अब कुन पोसाक लगाएर विद्यालय जाने, कसरी पढाइ निरन्तर गर्ने भन्ने प्रश्नको उत्तर उनीसँग छैन । नयाँ स्थानमा आए पनि आवश्यक शैक्षिक सामग्री नहुँदा बालबालिकाको नियमित अध्ययन प्रभावित हुने निश्चितजस्तै देखिएको छ ।

खरिपाटीमा सारिएका अधिकांश परिवारका बालबालिका काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत छन् । उनीहरू अहिले बसिरहेको स्थानबाट विद्यालय निकै टाढा पर्ने भएकाले दैनिक आउजाउ चुनौतीपूर्ण हुने देखिएको छ । कतिपय विद्यालयमा परीक्षा पनि नजिकिएकाले पढाइ छुट्ने र शैक्षिक भविष्यमा असर पर्ने चिन्ता अभिभावकहरूले व्यक्त गरेका छन् ।

मेनुकाका नातिनी विशुलक्ष्मी र नाति विश्वनाथले आफूहरूलाई धेरै सुविधा आवश्यक नभएको, केवल बस्नका लागि सुरक्षित ठाउँ, खानका लागि पर्याप्त व्यवस्था र विद्यालय जान मिल्ने वातावरण भए पुग्ने बताएका छन् । उनीहरूको चाहना सामान्य भए पनि अहिलेको परिस्थितिमा त्यही सामान्य आवश्यकता पूरा हुनेमा समेत उनीहरू विश्वस्त देखिँदैनन् । बाढीपीडितहरूको अवस्था बुझ्न आइतबार गृहमन्त्रीसहित विभिन्न मन्त्रालयका मन्त्रीहरू खरिपाटी पुगेका थिए।

उनीहरूले अस्थायी रूपमा स्थानान्तरण गरिएका परिवारसँग भेटघाट गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । विशेषगरी बालबालिकाको शिक्षालाई निरन्तरता दिन आवश्यक समन्वय गरिने, युवाहरूलाई सीपमूलक तालिम उपलब्ध गराइने तथा रोजगारीका अवसर सिर्जना गर्न पहल गरिने आश्वासन मन्त्रीहरूले दिएका छन् ।

भूमि सुधार तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधिहरूले पनि पीडितहरूको दीर्घकालीन व्यवस्थापनका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । यदि भविष्यमा कोठा भाडामा लिएर बस्नुपर्ने अवस्था आएमा त्यसका लागि आवश्यक सहजीकरण गरिने र स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापन गरिने उनीहरूको भनाइ थियो । यद्यपि, सरकारी टोलीबाट आश्वासन पाए पनि विस्थापित परिवारहरू त्यसप्रति पूर्ण रूपमा आश्वस्त देखिएका छैनन् । उनीहरूका अनुसार यस्ता प्रतिबद्धता विगतमा पनि पटक–पटक सुनिएको हो, तर व्यवहारमा स्थायी समाधान भने कहिल्यै हुन सकेन । अहिले पनि अस्थायी रूपमा एक स्थानबाट अर्को स्थानमा सारिएको मात्रै हो, तर भविष्यमा कहाँ बस्ने भन्ने प्रश्न यथावत् रहेको उनीहरूको गुनासो छ ।

मेनुका गुरुङले सरकारको भूमिसम्बन्धी प्रस्तावमाथि पनि प्रश्न उठाइन् । उनका अनुसार केवल खाली जग्गा उपलब्ध गराइदिँदैमा समस्या समाधान हुँदैन । आर्थिक अवस्था अत्यन्त कमजोर भएका परिवारले घर निर्माण गर्ने क्षमता नै राख्दैनन् । “हामीसँग एउटा बाँस किन्ने पैसा छैन। खाली जग्गा मात्रै दिएर कसरी बस्ने ? घर कसरी बनाउने ?” भन्ने उनको प्रश्नले अधिकांश विस्थापित परिवारको साझा चिन्ता झल्काउँछ । पीडितहरूका अनुसार अहिले उनीहरूलाई तत्काल राहत मात्र होइन, सम्मानजनक र स्थायी बसोबासको आवश्यकता छ ।

बारम्बार बाढी, डुबान वा अन्य विपद्का कारण स्थान परिवर्तन गरिरहनुपर्दा बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक जीवन सबै प्रभावित भइरहेको उनीहरूको भनाइ छ । खरिपाटीमा स्थानान्तरण गरिएका परिवारहरू अहिले अस्थायी आश्रयस्थलमा बसिरहेका छन् । उनीहरूलाई खाना, पिउने पानी र आधारभूत सुविधा उपलब्ध गराउने प्रयास भइरहेको भए पनि दीर्घकालीन बसोबासको योजना अझै स्पष्ट छैन । कतिपय परिवारले आफ्ना रोजगारीका स्रोत पनि गुमाएका छन् । कीर्तिपुर क्षेत्रमा मजदुरी, सानो व्यापार वा अन्य दैनिक काम गरेर जीविकोपार्जन गर्नेहरू नयाँ स्थानमा पुगेपछि रोजगारीसमेत अनिश्चित बनेको छ ।

सामाजिक अभियन्ताहरूले पनि सरकारलाई केवल अस्थायी व्यवस्थापनमा सीमित नभई पुनःस्थापनाको स्पष्ट नीति ल्याउन आग्रह गरेका छन् । उनीहरूका अनुसार प्राकृतिक विपद्को जोखिममा रहेका सुकुमबासी बस्तीहरूको वैज्ञानिक अध्ययन गरी सुरक्षित स्थानमा व्यवस्थित आवास निर्माण गर्नु नै दीर्घकालीन समाधान हुनेछ। अन्यथा प्रत्येक वर्ष बाढी र डुबानसँगै यस्ता परिवार पुनः विस्थापित भइरहने अवस्था दोहोरिने उनीहरूको चेतावनी छ । यसबीच अर्को विषयले पनि चासो बढाएको छ । भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश गर्न रोक लगाइएको छ । घटनाको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरूलाई ‘माथिल्लो निकायबाट अनुमति लिएर आउनुपर्छ’ भन्दै सुरक्षाकर्मीले भित्र जान नदिएको जानकारी दिएका छन् ।

पत्रकारहरूलाई मन्त्रालय वा प्रमुख जिल्ला अधिकारीको औपचारिक अनुमति बिना होल्डिङ सेन्टरभित्र प्रवेश गर्न नदिने निर्देशन रहेको बताइएको छ। यसले पीडितहरूको वास्तविक अवस्था सार्वजनिक हुन कठिन हुने भन्दै सञ्चारकर्मीहरूले असन्तुष्टि जनाएका छन् । विपद्पछि राहत र पुनःस्थापनाको अवस्थाबारे पारदर्शी सूचना प्रवाह आवश्यक रहेको बेला सञ्चारमाध्यममाथि लगाइएको यस्तो प्रतिबन्धले थप प्रश्नहरू उठाएको छ ।

एकातिर सरकारले पीडितहरूलाई सुरक्षित स्थानमा सारेर तत्काल राहत उपलब्ध गराउने प्रयास गरिरहेको छ भने अर्कोतर्फ विस्थापित परिवारहरू अझै पनि भविष्यप्रति गम्भीर चिन्तामा छन् । उनीहरूका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता सुरक्षित आवास, बालबालिकाको निर्बाध शिक्षा, स्थायी रोजगारी र सम्मानजनक जीवनयापनको सुनिश्चितता हो । जबसम्म यी आधारभूत आवश्यकता पूरा हुँदैनन्, तबसम्म राधास्वामी होल्डिङ सेन्टरबाट खरिपाटी पुगेका यी परिवारका लागि विस्थापनको पीडा समाप्त हुने देखिँदैन ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।