काठमाडौं । मिस युनिभर्स नेपाल आयोजक संस्थाले ‘दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन तथा अडिसन प्रक्रिया खुला गरेको छ ।
‘तपाईं जस्तो हुनुहुन्छ, त्यही नै उत्कृष्ट हुनुहुन्छ’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यस वर्षको प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न सक्ने सक्षम, आत्मविश्वासी र नेतृत्वदायी व्यक्तित्वको खोजी गर्ने जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताले सौन्दर्यलाई केवल बाह्य आकर्षणमा सीमित नराखी व्यक्तित्व, बौद्धिक क्षमता, सामाजिक उत्तरदायित्व र नेतृत्व कौशललाई पनि समान प्राथमिकतामा राख्नेछ। यही अवधारणाअनुसार देशभर तथा विदेशमा रहेका योग्य नेपाली युवतीलाई आवेदन दिन आह्वान गरिएको छ ।
मिस युनिभर्स नेपाल २०२५ की विजेता सान्या अधिकारीको कार्यकालपछि नयाँ प्रतिनिधिको छनोट प्रक्रिया सुरु भएको हो । आयोजकले यस वर्षको संस्करणले प्रतिस्पर्धीलाई आफ्नो क्षमता, विचार र सामाजिक योगदान प्रस्तुत गर्ने सशक्त अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।
यस वर्षको प्रतियोगिताको मुख्य प्रायोजक का रूपमा विद्युतीय सवारीसाधन ब्रान्ड दिपल रहेको छ । आयोजकका अनुसार दिगो प्रविधि र आधुनिक सोचलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ दिपलले प्रतियोगितामा सहकार्य गरेको हो ।
त्यसैगरी नेपालको प्रविधि क्षेत्रको अग्रणी ब्रान्ड एक्स–एज तथा अमृत शुद्ध सूर्यमुखी तेल सह–प्रायोजक का रूपमा सहभागी भएका छन् । आयोजकले यी साझेदारसँगको सहकार्यले प्रतियोगितामा सहभागी युवतीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
मिस युनिभर्स नेपालले पछिल्ला वर्षहरूमा महिला सशक्तीकरण, सामाजिक नेतृत्व र आत्मविश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै प्रतियोगिताको दायरा विस्तार गर्दै आएको छ। यस संस्करणमा पनि प्रतिस्पर्धीहरूको व्यक्तित्व विकास, सार्वजनिक प्रस्तुति, नेतृत्व क्षमता तथा सामाजिक अभियानमा सहभागितालाई विशेष महत्व दिइने आयोजकले जनाएको छ । आवेदन प्रक्रिया आधिकारिक रूपमा सुरु भइसकेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक योग्य युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक वेबसाइट वा मोबाइल अनुप्रयोगमार्फत आवेदन दर्ता गर्न सक्नेछन् । आवेदनपछि अडिसन, प्रशिक्षण तथा विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिनेछ । आयोजकका अनुसार ‘दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६’ ले नेपाली महिलाको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई विश्वमञ्चमा प्रस्तुत गर्ने लक्ष्यका साथ यस वर्ष पनि भव्य रूपमा आयोजना गरिनेछ ।

































