नेपालमा अब क्रिकेट खेल मात्र नभई युवाको सपना र समृद्धिको सशक्त माध्यमका रूपमा स्थापित भइरहेको छ । काठमाडौँस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबिचको रोमाञ्चक भिडन्तसँगै नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको सुरुआत भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगितामा ८ वटा फ्रेन्चाइज टोलीको सहभागिता, १ करोड ५० लाख रुपैयाँको भारी पुरस्कार राशि र नेपालमै पहिलोपटक भित्र्याइएको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधिले नेपाली क्रिकेट व्यावसायिकताको नयाँ उचाइमा पुगेको प्रस्ट पार्छ । एनपीएलको बढ्दो दायरा र भव्यताले नेपाली युवाहरूमाझ सम्भावना र आशा जगाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमै देखिएको प्राविधिक आधुनिकीकरण र खेलाडीहरूको व्यावसायिक प्रदर्शनले नेपाली क्रिकेट रूपान्तरणको दिशामा अघि बढेको सन्देश दिएको छ । डार्सी सर्ट, निरोशन डिक्वेला, शेर्फन रदरफोर्ड जस्ता अन्तर्राष्ट्रिय स्तरका विदेशी खेलाडीहरूसँग नेपाली युवा खेलाडीहरूले एउटै ड्रेसिङ रुम र मैदान शेयर गर्न पाउने अवसर आफैँमा ऐतिहासिक छ । किशोर महतो र शेर मल्लजस्ता उदीयमान युवा खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनले घरेलु प्रतिभाहरूमाझ थप आत्मविश्वास र हौसला जगाएको छ ।
अन्तर्राष्ट्रिय प्रविधि (डीआरएस) र विदेशी स्टारहरूको उपस्थितिले नेपाली खेलाडीको प्राविधिक क्षमतामा सुधार ल्याउने मात्र नभई उनीहरूलाई विश्वव्यापी मञ्चमा प्रतिभा देखाउने बलियो ढोका खोलिदिएको छ ।
एनपीएलको बहुआयामिक लाभ खेलकुदको सीमाभित्र मात्रै सीमित नभई यसले देशको समग्र सामाजिक र आर्थिक पाटोमा पनि सकारात्मक तरङ्ग पैदा गरेको छ । प्रतियोगिताका कारण खेलकुद पर्यटनको प्रवद्र्धन हुनुका साथै होटेल, यातायात, विज्ञापन र खेलकुद सामग्रीको बजारीकरणमार्फत अर्बौँको आर्थिक गतिविधि सिर्जना भएको छ । यसले युवाहरूलाई खेलकुदलाई नै व्यावसायिक करियर बनाउन सकिन्छ भन्ने दरिलो ढाडस दिएको छ । स्वदेशमै रोजगारी, सम्मान र अवसरको ढोका खुल्दा खाडी तथा अन्य वैदेशिक रोजगारीतर्फ धकेलिने युवा शक्तिलाई खेलकुद क्षेत्रमार्फत स्वदेशमै टिकाउन सकिने सम्भावनालाई एनपीएलले उजागर गरेको छ ।
एनपीएललाई ‘होम एन्ड अवे’ अवधारणामा लैजान पूर्वाधार विकास मन्त्रालयले देशका ८ प्रमुख सहरहरूमा फ्लडलाइट सुविधासहित कम्तीमा ८ हजार दर्शक क्षमताका आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाउनु अत्यन्तै दूरदर्शी र प्रशंसनीय कदम हो । हालसम्म कीर्तिपुरको एउटै मैदानमा सीमित रहनुपरेको बाध्यतालाई अन्त्य गर्दै ३ वर्षभित्र पूर्वाधार तयार पार्न सकियो भने एनपीएल साँच्चिकै राष्ट्रव्यापी उत्सवमा परिणत हुनेछ । देशका विभिन्न सहरहरूमा अन्तर्राष्ट्रिय मापदण्डका रङ्गशालाहरू निर्माण हुँदा त्यसले स्थानीय स्तरमा पनि प्रतिभा पहिचान, खेल पूर्वाधारको विकास र प्रादेशिक अर्थतन्त्रलाई चलायमान बनाउन ठुलो योगदान पुर्याउनेछ ।
एनपीएलले सिर्जना गरेको उत्साह, राष्ट्रिय गौरव र युवाप्रतिको आशालाई दिगो बनाउन राज्य र क्यानबिच अझ मजबुत समन्वय र पारदर्शिता आवश्यक छ । पूर्वाधार निर्माणका योजनाहरू घोषणामा मात्र सीमित नभई तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न हुनुपर्छ । क्यानले पनि एनपीएललाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै निष्पक्ष, अनुशासित र पूर्ण व्यावसायिक ढङ्गले सञ्चालन गर्ने परिपाटी बसाल्नुपर्छ । फस्टाउँदो एनपीएल केवल चौका र छक्काको होडबाजी मात्र नभई नेपाली युवाहरूको स्वाभिमान, राष्ट्रिय एकता र समृद्ध भविष्यको नयाँ आधारशिला हो । यसलाई संरक्षण र प्रवद्र्धन गर्नु राज्य र सम्पूर्ण नागरिकको साझा दायित्व बनेको छ ।
२०८३ कात्तिक ११ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।

































