काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष र खिचातानीले पार्टीलाई गम्भीर विभाजनको संघारमा पुऱ्याएको छ । नियमित महाधिवेशनको पक्षमा वकालत गर्दै आएको इतर समूहले नयाँ कार्यदिशासहित अघि बढ्ने उदघोष गरे पनि तत्कालै कुनै ठोस वा निर्णायक कदम चाल्न सकेको छैन ।
संस्थापन पक्षलाई नयाँ रणनीति र कार्यदिशाका साथ चुनौती दिने तयारी गरिरहेको इतर समूह अहिले पनि ’हेर र पर्ख’ को रणनीतिमा देखिन्छ । राष्ट्रिय भेलामार्फत आफ्ना आगामी योजनाहरू सार्वजनिक गर्ने तयारीमा जुटेको यो समूहले नयाँ पार्टीको नाम, झन्डा र संरचनाका विषयमा भने अझै पूर्ण रूपमा प्रष्ट पार्न चाहेको छैन । यद्यपि, आन्तरिक वृत्तमा भने ’चारतारे झन्डासहित राष्ट्रिय कांग्रेस’ को नाममा नयाँ राजनीतिक दल दर्ता गर्ने विषयमा गम्भीर छलफल चलिरहेको बुझिएको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षका नेताहरूबीच यसै विषयलाई लिएर सघन संवाद जारी रहेको र राष्ट्रिय भेलाले नै सबै विषयको अन्तिम टुंगो लगाउने उनीहरूको दाबी छ ।
पार्टीभित्र देखिएको यो गम्भीर मतभेद र सम्भावित फुटको पृष्ठभूमिमा इतर पक्षले आइतबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्यो । पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक मीन विश्वकर्माले पार्टीभित्र उत्पन्न नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवाद उत्कर्षमा पुगेको स्वीकार गरे ।
उनले संस्थापन पक्षको ढिपीका कारण पार्टी विभाजनको अवस्थामा पुग्दा समेत आफ्नो समूहले हतारमा कुनै निर्णय नगरी निकै धैर्यता अपनाएको दाबी गरे । पार्टीलाई अक्षुण्ण राख्न र फुटबाट जोगाउनका लागि इतर समूहले निरन्तर रूपमा एकताको प्रयास गरिरहेको भए पनि अर्को पक्षबाट सकारात्मक वातावरण नबनेको उनको भनाइ थियो । तर, पछिल्लो समय विकसित घटनाक्रमले एकताको ढोका बन्द हुँदै गएको संकेत गरेको छ ।
गत शुक्रबार बसेको इतर समूहका पूर्वपदाधिकारीहरूको बैठकले पार्टीभित्र अब एकताको सम्भावना निकै क्षीण भएको निष्कर्ष निकालेको थियो । सोही बैठकले परिस्थितिको मूल्यांकन गर्दै नयाँ पार्टी गठनको दिशामा अघि बढ्ने आन्तरिक निर्णय समेत गरेको स्रोतको दाबी छ ।
यही रणनीतिको अंग स्वरूप नेपाली कांग्रेसको इतर पक्षले आगामी साउन ६ गते पर्ने बीपी स्मृति दिवसका दिन राष्ट्रिय भेलाको मिति र स्थानको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । नेता डा. प्रकाशशरण महतले पार्टी नेतृत्वलाई सच्चिनका लागि साउन ६ गतेसम्मको अन्तिम समयसीमा दिइएको स्पष्ट पारेका छन् । उनले अब आफूहरूसँग धेरै पर्खने समय नभएको उल्लेख गर्दै यदि आगामी तीन दिनभित्र संस्थापन पक्षबाट कुनै ठोस, सकारात्मक र प्याकेजमा सम्झौताको प्रस्ताव नआएमा आफ्नो समूह बाध्य भएर आफ्नै ढंगले अगाडि बढ्ने चेतावनी दिएका छन् ।
राजनीतिक वृत्तमा इतर समूहको यो कदमलाई संस्थापन पक्षमाथि दबाब बढाउने र आफ्ना मागहरू पूरा गराउने ’घुर्की’ का रूपमा पनि हेरिएको छ । अर्कोतर्फ, संस्थापन पक्षले भने इतर समूहले उठाएका आन्तरिक विवाद र मिलनविन्दुका विषयमा अहिलेसम्म कुनै आधिकारिक वा ठोस प्रतिक्रिया जनाएको छैन । संस्थापनको यो मौनताले विवाद झन् बल्झिने खतरा बढाएको छ । यसैबीच, इतर पक्षले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन आयोगको हालैको निर्णयलाई बदनियतपूर्ण र सर्वोच्च अदालतको फैसलालाई अन्यायपूर्ण भन्दै कडा आपत्ति जनाइएको छ । राज्यका संवैधानिक निकाय र अदालतबाट समेत संस्थापन पक्षलाई नै कानुनी वैधता दिने काम भएको इतर समूहको बुझाइ छ ।
संयोजक मीन विश्वकर्माले विधिको शासन र न्यायिक स्वतन्त्रताको सम्मान गर्दै आफूहरूले आजका मितिसम्म पनि पार्टी एकताकै लागि हरसम्भव प्रयत्न गरिरहेको बताए । निर्वाचन आयोग र अदालतबाट मान्यता पाएको संस्थापन पक्षले इतर समूहसँग भेटघाट, वार्ता र संवाद भइरहेको भनी बजारमा फैलाएको हल्ला निराधार रहेको उनको भनाइ छ । सार्वजनिक रूपमा दुई पक्षबीच वार्ता भइरहेको हल्ला चलाइए पनि सम्बन्धित पक्षसँग कुनै औपचारिक भेटघाट नभएको र ठोस प्रस्तावसहितका दुईपक्षीय संवादहरूलाई टुंगोमा पुर्याउने इमानदार प्रयास संस्थापन पक्षबाट नभएको विश्वकर्माले स्पष्ट पारे । इतर पक्षले वर्तमान अवस्थामा नेपाली कांग्रेसको समग्र एकता अत्यन्तै कमजोर र नाजुक मोडमा पुगेको निष्कर्ष निकालेको छ ।
इतर पक्षको आरोप अनुसार, नियमित महाधिवेशनको वकालत गर्ने संस्थापन पक्षले दिनानुदिन नयाँ, अव्यवहारिक र मान्नै नसकिने सर्त तथा प्रस्तावहरू अघि सारेर एकताको वातावरणलाई जानीजानी असहज बनाइरहेको छ । संस्थापन पक्षले आफू अनुकूलका हल्लाहरू चलाएर कार्यकर्ता पंक्तिमा भ्रम सिर्जना गरेको इतर समूहको दाबी छ । पार्टीभित्र संयोजनका लागि उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाएका विभिन्न प्रस्तावहरूको विषयमा गत जेठ १८ गते नै इतर पक्षले लिखित जवाफ पठाइसकेको नेता विश्वकर्माले जानकारी दिए । इतर पक्षले अघि सारेको प्रस्तावमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै समायोजन गरी गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने माग गरिएको छ ।
त्यति मात्र नभई, इतर पक्षले सभापति गगनकुमार थापाको स्पष्ट बहुमत रहने गरी पार्टीको शक्तिशाली कार्यसम्पादन समिति गठन गरिनुपर्ने सर्त राखेको छ । यसरी पुनर्गठित गरिने केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नै पार्टीको आगामी १५औँ महाधिवेशनको स्पष्ट कार्यतालिका घोषणा गर्नुपर्ने इतर पक्षको अडान छ । शक्ति सन्तुलन मिलाउनका लागि वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण समिति र उपसमितिहरू बनाउन सकिने लचिलो प्रस्ताव समेत इतर पक्षले अघि सारेको थियो । इतर समूहले दिएका यी संगठनात्मक प्रस्तावहरूमाथि संस्थापन पक्षले औपचारिक रूपमा कुनै प्रतिक्रिया नदिएको भए पनि संस्थापन पक्षकै प्रभावशाली नेता एवं महामन्त्री गुरुराज घिमिरेले यी प्रस्तावहरू कार्यान्वयन हुने सम्भावना निकै न्यून रहेको टिप्पणी गरेका छन् । जसले गर्दा दुई पक्षबीचको दूरी झन् बढेको देखिन्छ ।
पार्टीको आन्तरिक सदस्यता विवाद पनि उत्तिकै जटिल बनेको छ । तत्कालीन महामन्त्री एवं वर्तमान सभापति गगनकुमार थापा संयोजक रहेको समितिले टुंगो लगाएका सबै क्रियाशील सदस्यहरू आगामी १५औँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था हुनुपर्ने इतर पक्षको मुख्य माग छ ।
उनीहरूको विवरणलाई डिजिटल प्रक्रियामा समावेश गर्ने निर्णय भइसकेको अवस्थामा संस्थापन पक्षले फेरि बखेडा झिक्न खोजेको इतर समूहको आरोप छ । प्रचार संयोजक विश्वकर्माका अनुसार, साउन महिनाभित्रै काठमाडौँमा एउटा विशाल राष्ट्रिय भेला आयोजना गर्ने गरी सम्पूर्ण तयारीहरू अगाडि बढाइएका छन् । यस भेलाको मुख्य उद्देश्य पार्टीभित्र बलियो नीतिगत एकता कायम गर्नु, नेपाली जनताको स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि नयाँ कार्यदिशा तय गर्नु रहेको पूर्वगृहमन्त्री एवं पार्टीका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् ।
नेता सिटौलाका अनुसार, विचार र नीतिगत रूपमा स्पष्ट र एकताबद्ध भएको सिङ्गो एवं सुदृढ कांग्रेसले मात्रै मुलुकका अन्य राजनीतिक दलहरूसँग राष्ट्रिय मुद्दाहरूमा संवाद, सहमति र सहकार्य गर्न सक्छ । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, नागरिक अधिकार र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि पनि बलियो कांग्रेस अपरिहार्य रहेको ठहर गर्दै इतर पक्षले आम कार्यकर्तालाई पार्टी एकताका लागि आह्वान गरेको छ ।
तर, संस्थापन पक्षले १५औँ महाधिवेशनको कार्यतालिका बमोजिम क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य लगभग सम्पन्न भइसकेको अवस्थामा पनि फेरि ’अद्यावधिक’ को नाममा पूर्वाग्रही ढंगले प्रक्रियालाई लम्ब्याउन खोजेको इतर पक्षको गम्भीर आरोप छ । यो प्राविधिक र राजनीतिक विवादले नेपाली कांग्रेसलाई कुन मोडमा पुऱ्याउने हो, त्यसको छिनोफानो आगामी साउन ६ गतेको राष्ट्रिय भेलाले गर्ने निश्चित देखिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































