रवि–स्वर्णिमबीच दुसित रिसोर्टमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले धुलिखेलको एक रिसोर्टमा करिब २४ घण्टा बिताएर आइतबार अपराह्न काठमाडौँ फर्किएका छन् ।

पछिल्लो समय सत्ता गठबन्धन र पार्टीभित्रको आन्तरिक राजनीतिक सन्तुलनलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला दुई शीर्ष नेताहरूबीच धुलिखेलमा भएको यो बसाइँलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । उनीहरू धुलिखेलस्थित प्रसिद्ध ’दूसित थानी हिमालयन रिसोर्ट’ मा बसेका थिए ।

विशेष कुरा त के छ भने, उक्त रिसोर्टका एक जना लगानीकर्ता स्वयम् अर्थमन्त्री डा. वाग्ले हुन् । दुवै नेताहरू वाग्लेकै लगानी रहेको भिल्लामा सँगै बसेका थिए । शनिबार दिउँसो करिब ३ बजे रिसोर्ट प्रवेश गरेका उनीहरू भोलिपल्ट अर्थात् आइतबार दिउँसो करिब २ बजेर २० मिनेटमा त्यहाँबाट बाहिरिएका थिए । रिसोर्ट बसाइका क्रममा सभापति लामिछानेका साथमा उनकी पत्नी निकिता पौडेल पनि रहेकी थिइन् ।

वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको तालमेल प्रभावकारी हुन नसकेको र आन्तरिक असमझदारी बढेको चर्चा चलिरहेका बेला दुई प्रमुख नेताहरूले एकान्तमा २४ घण्टा समय बिताउनुलाई राजनीतिक विश्लेषकहरूले चासोका साथ हेरेका छन् । विशेषगरी प्रधानमन्त्री बालेन र अर्थमन्त्री डा. वाग्लेबीचको कार्यशैली र नीतिगत विषयलाई लिएर सम्बन्ध सुमधुर हुन नसकेका समाचारहरू लगातार सार्वजनिक भइरहेका छन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीबीचको यही तिक्तता र दूरी कम गर्न तथा पार्टीको आगामी रणनीति तय गर्न सभापति लामिछाने आफैँ अघि सरेर यो छलफलको वातावरण बनाएको अनुमान गरिएको छ । सरकार सञ्चालन र पार्टीको आन्तरिक समीकरणमा देखिएका असमझदारीहरूलाई चिर्न दुई नेताहरूबीच सघन संवाद आवश्यक भइरहेका बेला यो धुलिखेल बसाइँ भएको हो । मिडिया र सार्वजनिक बहसहरूबाट टाढा रहेर शान्त वातावरणमा पार्टी र सरकारको कार्यदिशाबारे समीक्षा गर्न उनीहरूले धुलिखेललाई रोजेको बुझिएको छ । प्रधानमन्त्रीसँगको खटपट र पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनलाई कसरी मिलाएर लैजाने भन्ने विषयमा नै उनीहरूबीच मुख्य केन्द्रित रहेर कुराकानी भएको स्रोतहरूको दाबी छ ।

यद्यपि, उनीहरूको यो धुलिखेल भ्रमण नितान्त निजी र अनौपचारिक भनिएको छ। जिल्ला प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार उनीहरू कुनै औपचारिक कार्यक्रम बिना नै निजी प्रयोजनका लागि त्यहाँ पुगेका थिए । विशिष्ट राजनीतिक व्यक्तित्वहरूको भ्रमण भए तापनि उनीहरूको यो रिसोर्ट बसाइँबारे स्थानीय प्रहरी–प्रशासनलाई पूर्वजानकारी गराइएको थिएन। सुरक्षा निकायलाई समेत खबर नगरी सुटुक्क गरिएको यो भेटघाट र बसाइँले यसभित्र राजनीतिक एजेन्डाहरू नै प्रमुख रहेको सङ्केत गर्दछ ।

पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्ने र सरकारमा रास्वपाको भूमिकालाई थप सुदृढ बनाउने विषयमा दुई नेताबीच सहमति जुटेको वा नजुटेको भन्ने कुरा भने स्पष्ट भइसकेको छैन । तर, बदलिँदो राजनीतिक परिदृश्य र सरकारभित्रको तीव्र ध्रुवीकरणका बीच रास्वपाका दुई खम्बा मानिने लामिछाने र वाग्लेको यो लामो संवादले आगामी दिनमा पार्टीको रणनीति र सरकारसँगको सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने कुरा निकै महत्त्वपूर्ण हुने देखिन्छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।