वैदेशिक रोजगारीमा कमी, श्रम स्वीकृति लिने नेपाली घटे

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा रोजगारीका लागि विदेश जाने नेपालीको सङ्ख्यामा कमी आएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६ प्रतिशतले घटेको हो । नेपालको अर्थतन्त्र विप्रेषणमा ठूलो रूपमा निर्भर रहे पनि पछिल्लो तथ्याङ्कले वैदेशिक रोजगारीमा जाने प्रवृत्तिमा केही कमी आएको संकेत गरेको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृति र बिदामा आएर पुनः विदेश फर्किने कामदारका लागि गरी कुल सात लाख ९२ हजार १८७ वटा श्रम स्वीकृति जारी गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने आठ लाख ३९ हजार २६६ वटा श्रम स्वीकृति जारी भएको थियो। यस आधारमा एक वर्षको अवधिमा ४७ हजार ७९ वटा श्रम स्वीकृति घटेको देखिन्छ । विभागले मध्यपूर्व क्षेत्रमा देखिएको अमेरिका–इरान तनावका कारण केही समय हवाई उडान प्रभावित हुँदा विशेषगरी खाडी मुलुक जाने नेपाली कामदारको प्रस्थानमा असर परेको जनाएको छ । यसले पनि श्रम स्वीकृतिको सङ्ख्या घट्नमा भूमिका खेलेको विश्लेषण गरिएको छ ।

गत आर्थिक वर्षमा जारी भएका कुल श्रम स्वीकृतिमध्ये छ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन् । अर्थात् कुल श्रम स्वीकृतिमा पुरुषको हिस्सा ८८ प्रतिशत र महिलाको १२ प्रतिशत रहेको छ। यसले नेपाली वैदेशिक रोजगारी अझै पनि पुरुष केन्द्रित रहेको देखाउँछ ।

म्यानपावर कम्पनीमार्फत जाने कामदार घटे

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) मार्फत विदेश जाने नेपालीको सङ्ख्यामा उल्लेखनीय कमी आएको छ। समीक्षा अवधिमा दुई लाख ६८ हजार ९९० जना म्यानपावर कम्पनीमार्फत विदेश गएका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख ५९ हजार ६७५ रहेको थियो ।

यता व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या भने एक लाख २८ हजार ५२० पुगेको छ । यसमध्ये ९८ हजार ८४१ पुरुष र २९ हजार ६७९ महिला रहेका छन्। व्यक्तिगत श्रम स्वीकृतिमा महिलाको सहभागिता करिब २३ प्रतिशत रहेको छ, जुन म्यानपावर कम्पनीमार्फत विदेश जाने महिलाको अनुपातभन्दा उल्लेखनीय रूपमा बढी हो ।

जीटूजीमार्फत पनि हजारौँ नेपाली विदेश

सरकार–सरकार (जीटूजी) प्रणालीमार्फत पनि गत आर्थिक वर्षमा आठ हजार १९७ नेपाली रोजगारीका लागि विदेश गएका छन् । यसमध्ये छ हजार ९४५ पुरुष र एक हजार २५२ महिला रहेको विभागले जनाएको छ ।

पाँच देशमै केन्द्रित नेपाली कामदार

वैदेशिक रोजगारीका लागि जाने नेपालीको प्रमुख गन्तव्य अझै पनि खाडी मुलुक र मलेसिया नै रहेका छन्। विभागका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) सबैभन्दा ठूलो श्रम गन्तव्य बनेको छ। गत आर्थिक वर्षमा यूएईका लागि एक लाख ८३ हजार ५८० जनाले श्रम स्वीकृति लिएका छन्, जुन कुल स्वीकृतिको २३.१७ प्रतिशत हो ।

त्यसपछि मलेसियामा एक लाख ३२ हजार ६४६, कतारमा एक लाख ३२ हजार ५१, साउदी अरेबियामा एक लाख २४ हजार ५८३ र कुवेतमा ४३ हजार ३६० नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् । यी पाँच देशमा मात्रै छ लाख १६ हजार २२० नेपाली कामदार गएका छन्, जुन कुल श्रम स्वीकृतिको करिब ७८ प्रतिशत बराबर हो । यसले नेपाली श्रम बजार अझै पनि सीमित गन्तव्यमा केन्द्रित रहेको देखाउँछ ।

युरोपमा रोमानियाको आकर्षण

युरोपेली मुलुकमध्ये रोमानिया नेपाली कामदारको सबैभन्दा ठूलो गन्तव्य बनेको छ । गत आर्थिक वर्षमा ३३ हजार ९२० जनाले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन्। समग्र वैदेशिक रोजगारीको हिसाबले रोमानिया छैटौँ प्रमुख गन्तव्य बनेको छ । त्यसपछि जापानमा २२ हजार २६६, ओमानमा ११ हजार ६३३, साइप्रसमा ११ हजार ६९ तथा बहराइनमा नौ हजार ३३६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कले श्रम स्वीकृतिको सङ्ख्या घटे पनि नेपाली कामदारको मुख्य रोजाइ अझै पनि खाडी मुलुक, मलेसिया तथा केही नयाँ युरोपेली गन्तव्यहरू नै रहेको स्पष्ट देखाएको छ ।