काठमाडौं । स्पेनलाई च्याम्पियन बनाउँदै फिफा विश्वकप–२०२६ सम्पन्न भएको छ । आइतबार अमेरिकाको न्यु जर्सी रंगशालामा साबिक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेन १६ वर्षपछि विश्व च्याम्पियन बनेको हो ।
अतिरिक्त समयमा धकेलिएको खेलमा १०६औँ मिनेटमा फेरान टोरेसले गरेको एक मात्र गोल स्पेनको जितमा निर्णायक बन्यो । विश्वकपको व्यक्तिगत अवार्डमा पनि स्पेनिस खेलाडीकै वर्चश्व रह्यो । कप्तान रोड्री उत्कृष्ट खेलाडी चुनिँदा पाउ क्युवर्सी उत्कृष्ट युवा खेलाडी र उनाइ सिमोन उत्कृष्ट गोलकिपर बने । यसैगरी फ्रान्सका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए ।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाएका थिए । पहिलोपटक फिफाले राष्ट्रको संख्या बढाएको हो । ३९ दिन चलेको प्रतियोगितामा कुल १०४ खेल भए । मैदान भित्र र बाहिरका गतिविधिले विश्वकपलाई चर्चामा ल्यायो । यो विश्वकपमा केप भर्डे, कुरासाओ, उज्वेकिस्तान र जोर्डनले ‘डेब्यु’ गरे । त्यसमध्ये केप भर्डे नकआउट चरणसम्म पुगेको थियो । यसैगरी, नर्वे, डीआर कंगो, अस्ट्रिया, स्कटल्यान्डजस्ता राष्ट्रले पनि लामो समयपछि विश्वकपमा पुनरागमन गरे ।
यो विश्वकपले धेरै यादगद क्षणहरू दिएको छ । तीमध्ये केहीको यहाँ चर्चा गरिएको छ । नर्वेको प्रदर्शनले विश्व फुटबलको ध्यान खिच्यो । २८ वर्षपछि विश्वकपमा स्थान बनाएको नर्वेले ब्राजिललाई पराजित गरेर पहिलोपटक क्वार्टरफाइनलसम्मको यात्रा तय गर्यो । इंग्ल्यान्डसँग पराजित भएपछि नर्वेको विश्वकप यात्रा टुंगियो । तर, युवा स्टार एर्लिङ हालान्डले आफ्नो क्षमता प्रमाणित गरेका छन् । उनले आफ्नो डेब्यु विश्वकपमै सात गोल गरे । उनीहरूको अनौठो उत्सव विश्वभर चर्चाको विषय बन्यो । मार्टिन ओडेगार्डको नेतृत्वमा टोलीले जित निकालेपछि भाइकिङ रो उत्सव बनाए ।
नर्वेको ऐतिहासिक परम्पराको प्रतीकका रूपमा रहेको यो सेलिब्रेसनले विश्व फुटबलको ध्यान खिच्न सफल भएको थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए । ३९ वर्षीय मेसीका लागि यो विश्वकपको पहिलो ह्याट्रिक थियो । यससँगै मेसी विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बनेका थिए । अन्तिम–१६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको स्थितिलाई उल्टाउँदै अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित दर्ता गर्यो ।
लियोनल मेसीले पेनाल्टी अवसर गुमाएपछि दबाबमा आएको अर्जेन्टिना लगभग हारको मुखमा पुगेको थियो, तर १३ मिनेटभित्र तीन गोल गर्दै टोलीले गरेको पुनरागमन जित उल्लेखनीय बन्यो । अफ्रिकी राष्ट्र केप भर्डेले फिफा विश्वकपमा अप्रत्याशित प्रदर्शन गरेर चर्चा कमायो । सानो मुलुकले विश्व फुटबलको मानचित्रमा भने ठूलो छाप छाडेको छ । टोली समूह चरणमा दुई पूर्वविजेता स्पेन र उरुग्वेलाई रोक्दै अगाडि बढेको थियो । अन्तिम–३२ मा साविक विजेता अर्जेन्टिनासँग हार व्यहोरे पनि केप भर्डेले सानदार प्रदर्शन गर्यो ।
केप भर्डेको उत्कृष्ट प्रदर्शनको केन्द्रमा रहे ४० वर्षीय गोलकिपर भोजिन्हा । उनले स्पेनविरुद्ध आठ र अर्जेन्टिनाविरुद्ध १० बचाउ गरेका थिए । प्रतियोगिताको सबैभन्दा असाधारण र विवादास्पद क्षणहरूमध्ये एक होल अमेरिकी स्ट्राइकर फोलारिनको रातो कार्ड फिर्ता हो । अन्तिम–३२ मा बोस्निया एन्ड हर्जगोभियाविरुद्धको खेलमा बालोगुनले रातो कार्ड पाएका थिए । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि फिफाले बालोगुनको रातो कार्ड फिर्ता लिएको थियो । यो निर्णयको बेल्जियमलगायत विभिन्न फुटबल विश्लेषकले चर्को आलोचना गरेका थिए । अमेरिका अन्तिम–१६ मा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।
समूह चरणमा पानामासँगको जितपछि इंग्लिस समर्थकले खेलाडीसँगै ओएसिसको प्रतिष्ठित गीत ‘वन्डरवाल’ गएका थिए । यो प्रतियोगिताको स्मरणीय क्षणहरूमध्ये एक थियो । स्कटल्यान्डका जोशिला समर्थकहरू प्रतियोगिताको भाइरल सनसनीहरूमध्ये एक बने । ‘नो स्कटल्यान्ड, नो पार्टी’ भन्ने नारालाई पालना गर्दै टार्टन आर्मीले बोस्टनमा चर्चा कमाएको थियो । उनीहरूले बार, मूर्ति लगायतका स्थानमा ट्राफिक कोनहरू राख्दै रमाइलो गरेका थिए । स्कटिस समर्थकको यो शैलीले निकै चर्चा कमाएको थियो । यो विश्वकपमा सबैभन्दा विवादित बन्यो भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को निर्णय । विशेषगरी अन्तिम–१६ मा इजिप्ट र अर्जेन्टिनाबीचको खेललाई लिएर निकै आलोचना भएको थियो ।
भीएआरले आफ्नो गोललाई मान्यता नदिएपछि इजिप्टका मुख्य प्रशिक्षक तथा खेलाडीले आफूमाथि अन्याय भएको आरोप लगाएका थिए । केही फुटबल विश्लेषकहरूले पनि उक्त गोलले मान्यता पाउनुपर्ने तर्क गरेका थिए ।
इजिप्ट १–० ले अघि बढिरहेको अवस्थामा मोस्ताफा जिकोले अर्को गोल गरेका थिए । तर, भीएआरले त्यसअघि लिसान्ड्रो मार्टिनेजमाथि फल भएको देखाउँदै उक्त गोललाई मान्यता दिएको थिएन । यसैगरी विश्वकपमा पहिलोपटक लागु गरिएको ‘हाइड्रेसन ब्रेक’ले पनि खेलको मज्जा बिगारेको भन्दै आलोचना भएको थियो । यो विश्वकपले चर्चामा ल्याएका अर्का पात्र हुन्, स्पेनिस स्टार लामिन यामलका भाइ केइन ।
तीन वर्षका केइन स्पेनका हरेक खेल हेर्न रंगशाला पुगेका थिए । अन्तिम–३२ मा अस्ट्रिया र सेमिफाइनलमा फ्रान्सविरुद्ध जित निकालेपछि उनको अनुहारमा देखिएको चमकले निकै चर्चा कमाएको थियो । यामल र केनको आमा एउटै भए पनि बुबा भने फरक हुन् । तर, यामल र केइनको मायामा भने कुनै कमी छैन । केइन बार्सिलोना तथा स्पेनका प्रायः सबै खेल हेर्न पुग्छन् । यसैगरी सेनेगलविरुद्ध बेल्जिमयको पुनरागमन जित, जर्मनीविरुद्ध समूह चरणमा इक्वेडर तथा अन्तिम–३२ मा पाराग्वेको जित, खेलाडी–रेफ्रीको विवादजस्ता विषयले पनि यो विश्वकपमा निकै चर्चा कमाए ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































