काठमाडौं । सोमबार बिहान महाराजगन्जस्थित शिक्षण अस्पतालको एउटा भित्तामा धेरै मानिसका तस्वीर टाँसिएका थिए । ती तस्वीर बाढीमा बेपत्ता भएकाहरूका थिए ।
अस्पताल पुगेका मानिसहरू ती तस्वीरमा आफ्ना आफन्त, साथीभाइ र चिनजानका मानिसको अनुहार खोजिरहेका थिए । त्यही भीडमा एक व्यक्ति भने ती तस्वीरहरू नियाल्दै थिए । उनी तस्वीरमा आफूलाई खोजिरहेका थिएनन् । किनकि उनी बाढीबाट संयोगले जोगिएका थिए । तर, बाँचेर फर्किएको खुसी उनको अनुहारमा देखिँदैनथ्यो । बरु उनका आँखामा आफ्ना साथीहरू अझै बेपत्ता रहेको पीडा झल्किन्थ्यो । ‘म त बाँचेर आएँ, मेरा धेरै साथीहरू अझै बेपत्ता छन्,’ ४४ वर्षीय शिवु गिरीले सुस्केरा हाल्दै भने ।
दाङको घोराही उपमहानगरपालिका–१३ घर भएका गिरी विगत १२ वर्षदेखि जलविद्युत् क्षेत्रमा काम गर्दै आएका छन् । नेपाली सेनामा जमदार पदबाट २०७१ सालमा अवकाश लिएपछि उनी जलविद्युत् आयोजनामा काम गर्न थालेका थिए । पछिल्लो समय उनी माथिल्लो त्रिशूली मैलुङ जलविद्युत् आयोजनामा ल्याब टेक्निसियनका रूपमा कार्यरत थिए । घटनाको दिन पनि उनको दिन अरू दिनजस्तै सामान्य ढंगले सुरु भएको थियो । उनी आफू बस्दै आएको क्याम्पबाट दुई जना साथीसँगै बिहान करिब साढे ७ बजे आयोजनातर्फ लागेका थिए । तर आयोजनास्थल पुग्न करिब पाँच मिनेट बाँकी रहँदा बाटोमै अचानक ठूलो सुख्खा पहिरो खस्यो ।
पहिरोले बाटो पुरिएपछि उनीहरूले तत्काल क्याम्पमै फर्किने निर्णय गरे । काममा पुग्न नसक्ने जानकारी पनि कार्यालयमा गराइसकेका थिए । त्यसपछि उनीहरू फर्किन थाले । तर केही पर पुगेपछि उनीहरूले कल्पनै नगरेको दृश्य देखे । अचानक चारैतिर धुलो उडाउँदै, जमिन नै काँपेजस्तो गराउँदै विशाल बाढी उनीहरूतर्फ आइरहेको थियो । बाढीको भेलले ठूलो फलामे पुलसमेत बगाएर ल्याइरहेको गिरीले देखे । यो दृश्य देखेपछि उनले आफू चढिरहेको गाडीबाट तत्काल हाम फाले र उकालोतर्फ दौडिए । केही माथि पुगेपछि उनले आफ्नो साथीलाई फोन गरेर बाढी आएको जानकारी दिए । साथी पनि आफ्नो र अर्का साथीको झोला बोकेर गिरी भएकै ठाउँतर्फ आए । तर त्यहाँ पुग्दा बाढीको छालले उनलाई समेत छोइसकेको थियो ।
ज्यान जोगाएर उनीहरू केही माथि पुगे । उद्धारका लागि सेनाको हेलिकप्टर आइपुग्ला भन्ने आशामा उनीहरू करिब तीन घण्टा त्यहीँ बसे । तर उनीहरू बसेको ठाउँमा हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था देखिएन । त्यसपछि उनीहरूले आफैं सुरक्षित ठाउँ खोज्दै उकालो लाग्ने निर्णय गरे । उनीहरू लगातार करिब १० देखि १२ घण्टासम्म उकालो चढे । तर यति लामो हिँड्दा पनि न गाउँ भेटियो, न उद्धारको कुनै संकेत नै । अन्ततः गिरीको शरीरले साथ दिन छाड्यो । ‘१२ घण्टा हिँड्दा पनि मैले गाउँ भेट्न सकिनँ,’ उनले भने, ‘म त्यहीँ थला परेर बसेँ । अब बाँच्न सक्दिनँ भन्ने भइसकेको थियो ।’
गिरीका साथीहरू भने अझै गाउँ खोज्दै उकालो लागिरहे । तर उनी अगाडि बढ्न सकेनन् । जंगलको बीचमा सल्लाको रुखमुनि रहेको ओढार देखेपछि त्यहीँ रात बिताउने निर्णय गरे । दिनभरको हिँडाइ, भोक, प्यास र त्रासले उनी निकै कमजोर भइसकेका थिए । त्यही बेला जंगलबाट एउटा कुकुर उनी बसेको ओढारसम्म आइपुग्यो । अँध्यारो जंगलमा त्यो कुकुर नै उनको एक मात्र साथी बन्यो ।
बिहानदेखि केही खान नपाएका गिरी भोक र प्यासले छटपटाइरहेका थिए । पानीको कुनै स्रोत भेटिएको थिएन । प्यास असह्य भएपछि उनले आफ्नो शरीरमा आएको पसिनासमेत लुगाबाट निचोरेर पिए । साथीले दिएको थिन आरारोट बिस्कुटको एउटा प्याकेट उनको साथमा थियो । त्यसमा रहेका तीन पत्ता बिस्कुटमध्ये उनले केही बेलुका खाए र बाँकी तीन पत्ता बिहानका लागि जोगाएर राखे । रात गहिरिँदै जाँदा भने उनको प्यास झन् बढ्यो । पानी नपाएपछि उनले भगवानसँग प्रार्थना गर्न थाले । ‘हे भगवान्, पानी पारिदेऊ, नत्र म मर्छु,’ उनले मनमनै प्रार्थना गरे । उनको प्रार्थनाजस्तै भयो । केही समयपछि राति पानी पर्न थाल्यो । ओढारको छेउबाट पानीको धारा झर्न थाल्यो । गिरीले आफूसँग भएको बोतलमा पानी भरेर पिए ।
‘पानी खाएपछि अब चाहिँ म बाँच्छु भन्ने भयो,’ उनले सम्झिए । झरीले पूरै भिजे पनि उनले रात त्यही ओढारमा बिताए । बिहान उज्यालो भएपछि उद्धार हुन सक्ने ठाउँसम्म पुग्नुपर्छ भन्ने सोच उनको मनमा थियो । बिहान करिब ४ बजेदेखि जंगलमा उज्यालो छिर्न थाल्यो । सैन्य जीवन बिताएका गिरीलाई जंगलमा पाइने पानी अमलाले शरीरलाई केही शक्ति दिने जानकारी थियो । त्यसैले उनले पानी अमला उखेलेर खाए । अघिल्लो रात जोगाएर राखेको तीन पत्ता बिस्कुट पनि बोतलमा भरेको पानीसँग खाए । तर अब कुन बाटो जाने भन्ने समस्या थियो । गाउँ उकालोमा छ कि ओरालोमा, उनलाई थाहा थिएन । अन्ततः उनले आफूले अघिल्लो दिन बाढी आएको स्थानतर्फ नै फर्किने निर्णय गरे ।
‘जहाँ घटना घटेको छ, त्यहाँ त सेनाको हेलिकप्टर उद्धार गर्न आउँछ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले उकालो लाग्नुभन्दा तलै झरेर खोलातर्फ जाने निर्णय गरेँ ।’ उनी ओरालो झर्दै गर्दा अघिल्लो रात ओढारमा सँगै बसेको कुकुर पनि उनको पछि लाग्यो । कुकुर उनको साथ छाड्न तयार भएन । दुवै बाढी आएको स्थानसम्म आइपुगे । त्यतिबेला बिहानको करिब १० बजिसकेको थियो । गिरीले आफूलाई उद्धार गर्न आउने टोलीलाई संकेत दिन आफूसँग रहेको लाइटरको सहायताले आगो बाले । केही समयपछि उनले आकाशमा हेलिकप्टर देखे । उनले उद्धारको संकेत दिइरहे । करिब ११ बजेतिर हेलिकप्टरले उनलाई देख्यो । रातो हेलिकप्टरले उद्धारका लागि तीन पटक प्रयास गर्यो । तर जमिन हिलोमा परिणत भएकाले हेलिकप्टर अवतरण गर्दा जमिनमै गाडिने जोखिम थियो । त्यसैले हेलिकप्टर फर्किन थालेको देखेपछि गिरी झन् चिन्तित भए ।
उद्धार हुन नसक्ने देखेपछि उनले हेलिकप्टरतर्फ हात हल्लाउँदै खाना र पानी भए फालिदिन संकेत गरे । तर करिब आधा घण्टापछि सेनाको अर्को हेलिकप्टर त्यहाँ आइपुग्यो । हेलिकप्टर अवतरण गर्न सम्भव थिएन । त्यसपछि सेनाका उद्धारकर्मीले उनलाई हिलोबाट बाहिर निकाल्ने जोखिमपूर्ण प्रक्रिया सुरु गरे । हेलिकप्टरतर्फ जाने क्रममा गिरी कम्मरसम्म हिलोमा गाडिए । सेनाले दिएको निर्देशनअनुसार उनी पङ्खाले चोट नपुर्याओस् भनेर टाउको निहुराएर बसे । त्यसपछि हिलोबाट विस्तारै खुट्टा निकाल्दै उनी तेर्सो परेर अगाडि बढे । आफूभन्दा करिब चार मिटर टाढा रहेको हेलिकप्टरसम्म उनी बल्लतल्ल पुगे । ‘हेलिकप्टरमा चढेपछि अब चाहिँ म बाँचेँ भन्ने लाग्यो,’ उनले भने । तर उनको उद्धारसँगै अर्को पीडा पनि जोडिएको थियो ।
उनको पछि लाग्दै आएको कुकुर पनि हिलोमा केहीबेर फस्यो । गिरीले सेनाका उद्धारकर्मीलाई कुकुरलाई समेत उद्धार गर्न आग्रह गरे । तर हेलिकप्टरमा कुकुरलाई राख्न सम्भव भएन । हेलिकप्टर उड्नुअघि कुकुरले केहीबेर गिरीलाई एकोहोरो हेरिरह्यो । त्यसपछि ऊ फेरि जंगलतर्फ फर्कियो । सेनाको टोलीसँग भेट भएपछि गिरीले उनीहरूको फोनबाट परिवारसँग सम्पर्क गरे । दाङमा रहेका परिवारलाई आफू सुरक्षित रहेको खबर दिए । उनी तत्काल काठमाडौं जान चाहन्थे । तर सामान्य स्वास्थ्य अवस्थामा रहेका उद्धार गरिएकालाई त्रिशूलीस्थित होल्डिङ सेन्टरमा राखिने जानकारी पाएपछि उनी त्यहीँ बसे । त्यहाँ पुगेपछि उनले अर्को सुखद खबर पाए । अघिल्लो दिन आफूसँगै जंगलतर्फ भागेका उनका साथीहरू अझै करिब पाँच घण्टा हिँडेपछि एउटा गाउँसम्म पुगेका रहेछन् । उनीहरू सुरक्षित रहेको जानकारी पाएपछि गिरीलाई केही राहत भयो ।
त्रिशूलीको होल्डिङ सेन्टरमा सामान्य स्वास्थ्य परीक्षणपछि गिरी १२ गते साँझ काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल आइपुगे । तर अस्पतालको भित्तामा टाँसिएका बेपत्ता मानिसका तस्वीर हेर्दा उनको मन फेरि भारी हुन्छ । ती तस्वीरमा उनका आफ्ना धेरै सहकर्मी पनि हुन सक्छन् । उनी आफू भने बाढीको भेलबाट जोगिएर फर्किएका छन्, तर उनीसँगै काम गर्ने धेरै साथीहरू कहाँ छन् भन्ने अझै थाहा छैन ।
बाँचेर फर्किएको मानिसको अनुहारमा देखिनुपर्ने खुसीभन्दा गिरीको अनुहारमा अहिले पनि सहकर्मी गुमाएको पीडा र उनीहरू भेटिने आशा मिसिएको छ । ‘म बाँचेर आएँ, तर साथीहरूलाई के भयो भन्ने चिन्ता छ,’ उनी भन्छन् । बाढीले उनको ज्यान त जोगिएर घर फर्कने मौका दियो, तर त्यो यात्रामा उनले आफ्नै आँखाअगाडि देखेको विनाश, जंगलको अँध्यारो रात, असह्य प्यास, मृत्युको त्रास र साथीहरूसँग छुट्टिनुपरेको पीडा भने जीवनभर भुल्न नसक्ने गरी छाडेर गएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































