म एनडीटीभीको ‘वर्ल्ड अन्वीक्षाः आइडियाज एक्रोस बोर्डर्स’ सम्मेलनको पहिलो संस्करणका लागि काठमाडौँ आएकी थिएँ, जुन भारत–नेपाल सम्बन्धमा केन्द्रित हुने तय भएको थियो । मैले यहाँ २ दिन बिताउनुपर्ने थियो र नेपाली सिनेमाका महानायक राजेश हमाल, जसलाई प्रायः नेपालका ‘अमिताभ बच्चन’ भनिन्छ, उहाँलाई भेट्न म निकै उत्साहित थिएँ । एउटा सत्रमा मैले उहाँसँग कुराकानी गर्नुपर्ने थियो ।
म काठमाडौँ ओर्लिएँ र सम्मेलनको तयारी गर्दै थिएँ, जब बिहानको करिब ११ः३० बजे, मेरा एक साथी, जो एक नेपाली पत्रकार हुन्, उहाँले मलाई देशमा एउटा ठूलो पहिरो गएको कुरा भन्नुभयो । म पक्का थिइनँ । पहाडमा कतै सानो घटना घटेको होला भन्ने मैले ठानेकी थिएँ । तर अर्को १ घण्टा जतिमा जस्तै थप जानकारीहरू आउन थाले, मलाई लाग्यो कि यो मैले सोचेभन्दा ठूलो थियो । मेरो पत्रकारिताको भावनाले मलाई सोझै घटनास्थलमा गएर वस्तुस्थिति हेर्नुपर्छ भन्यो । मैले भारतको नोएडास्थित मेरो कार्यालयमा कुरा गरेँ र म प्रभावित क्षेत्रतर्फ जान चाहन्छु भनेर भनेँ ।
मेरो क्यामेरापर्सन पूजा आर्य र मैले हाम्रा स्थानीय चालकलाई बाढीको सबैभन्दा नजिकको विन्दुसम्म लैजान मनाउनुपरेको थियो । उहाँले सुरुमा अस्वीकार गर्नुभयो तर धेरै फकाएपछि अन्ततः राजी हुनुभयो । हामी काठमाडौँबाट निस्किँदा मुसलधारे पानी परिरहेको थियो । नुवाकोटको यात्रा ३ घण्टा लाग्ने अनुमान गरिएको थियो । हामीसँग कुनै टीभी क्यामेरा थिएन । किनभने सम्मेलनका लागि फिल्ड उपकरणहरूको आवश्यकता थिएन । मसँगै भएको सबै कुरा मेरो फोन मात्र थियो र मेरो क्यामेरापर्सनसँग पनि त्यही थियो । जतिबेला वर्षा तीव्र भयो, नुवाकोटतर्फ मोडिने बाटोमा सेनाले ब्यारिकेड लगाएको देख्दा त्रासदी हामीले अनुमान गरेभन्दा ठूलो छ भन्ने संकेत मिल्यो ।
हामीले स्थानीयहरूसँग भेट्यौँ । मैले भेटेकी पहिलो महिलाले मलाई आफ्नो घरको पहिलो तलामा लगेर भन्नुभयो, ‘म भूइँतलामा बस्थेँ र त्यो अहिले डुबानमा परेको छ ।’ त्यस क्षेत्रमा नेटवर्कको ठूलो समस्या थियो । दिल्ली कार्यालयमा पठाउनका लागि हामीले द्रूत रूपमा भिडियोहरू र प्रत्यक्षदर्शीका भनाइहरू खिच्यौँ । मुख्य चुनौती भनेको पानी र अँध्यारो थियो । लेदो, माटो र हिलोका कारण अगाडि बढ्न अझ गाह्रो भएको थियो ।
तैपनि एनडीटीभी २६ अगस्टमा नेपालको ग्राउन्ड जिरोमा पुग्ने पहिलो विदेशी मिडिया बन्यो । भिजेको अवस्थामा र हाम्रा फोनहरूमा पानी पसेको चेतावनी दिइरहँदा पनि हामीले नुवाकोटमा अबेर रातिसम्म रिपोर्टिङ जारी राख्यौँ ।
त्यस राति हामीले पानी पिउनका लागि एउटा चिया पसलमा रोकिँदा एक युवा दम्पतीलाई भेट्यौँ । उनीहरूको घर डुबानमा परेको थियो र उनीहरू आफ्नो परिवारबाट बिछोडिएका थिए । मैले उनीहरूसँगको कुराकानी रेकर्ड गरेँ र उनीहरूले भोलिपल्ट बिहान मलाई उनीहरूको घर त्रिशूली लैजाने वाचा गरे ।
दोस्रो दिन
हामी सूर्योदयसम्म कारमै सुत्न तयार थियौँ तर हाम्रा फोनका ब्याट्रीहरू सकिँदै थिए र हामीलाई सुक्खा कपडाको तुरुन्तै आवश्यकता थियो । त्यसैले हामी ३ घण्टा गाडी चलाएर काठमाडौँ फर्कियौँ, कपडा फेर्यौँ र टीभी लाइभ टेलिकास्टका उपकरणहरू लियौँ । भोलिपल्ट बिहान हामी उहीँ दम्पतीसँग फर्कियौँ, जसले रात चिया पसलमा बिताएका थिए । सबै मुख्य सडकहरू बगेर गएका थिए । उनीहरूले हामीलाई घाँस र माटोले ढाकिएको र चिप्लो भिरालो भएको कच्ची बाटोबाट लगे । सौभाग्यवश हामीसँग एक साहसी स्थानीय चालक हुनुहुन्थ्यो, जो त्यहाँको भूगोलबारे राम्ररी जानकार हुनुहुन्थ्यो । विदुरबाट उकालो चढ्न अर्को १ घण्टा लाग्यो । फेरि पनि एनडीटीभी ऐतिहासिक त्रिशूली बजार पुग्ने पहिलो च्यानल बन्यो । सबै कुरा डुबानमा परेको थियो । केवल एउटा हरियो रंगको घर उभिएको थियो, जुन पछि भाइरल भयो र वास्तुशिल्पको चमत्कारका रूपमा प्रशंसा गरियो ।
हामीले त्यहाँ छायांकन गरिरहँदा हाम्रा चालकले १ जना मानिसतिर इशारा गर्दै भन्नुभयो, ‘उहाँलाई भेट्नुहोस्, उहाँले यो हरियो घरबाट मानिसहरूलाई बचाउनुभयो ।’ मैले उहाँसँगको सहज कुराकानी रेकर्ड गरेँ । मैले त्रिशूली बजारमा ५ वटा घर भएका एक घरधनीलाई पनि भेटेँ । ती सबै भग्नावशेषमा परिणत भएका थिए । लगाउने कपडा थिएन, खाने कुरा थिएन, उहाँ असहाय भएर रुनुभयो ।
मैले भारतीय मूलका २ पसलदारहरूलाई भेटेँ । दुवैले आफ्ना पसलहरू गुमाएका थिए । १ जनाले आफ्नी श्रीमती र छोरालाई पनि गुमाएका थिए । अर्का पसलदारले हामीलाई भने कि उहाँ आफूलाई बचाउन केराको रुखमा समातेर बसेका थिए । उहाँ अझै सुत्न सक्नुहुन्नथ्यो । किनभने उहाँका छिमेकीका छोराले मद्दतका लागि गुहार मागिरहेका थिए ।
‘अंकल, बचाउनुहोस्’ । तर उहाँले उसलाई समातेर राख्न सक्नुभएन; उहाँका औँलाहरू फुत्किए र त्यो केटो बगेर गयो ।
यहाँ पनि नेटवर्कको चुनौती कायम नै रह्यो । हामीले अगाडि बढ्ने र मानसरवर सडकमा वास्तवमा के भयो भन्ने कुराको जानकारी लिन जाने निर्णय गर्यौँ । पुनः एनडीटीभी त्यस क्षेत्रमा पुग्ने पहिलो मिडिया क्रु बन्यो । हामीले त्यहाँबाट रिपोर्टहरू पठायौँ । बाटोमा, हामीले उद्धार टोलीले नदीको किनारबाट शवहरू खनिरहेको देख्यौँ । आकस्मिक बाढीले एउटा डाँडालाई ध्वस्त पारेको थियो, जसले सडक भत्काएर बगाएको थियो । हामीले हाम्रा सबै रिपोर्टहरू संकलन गर्यौँ र हाम्रा कथाहरू पठाउन विदुरको एउटा नेटवर्क विन्दुमा हतारियौँ । यी क्षेत्रहरूमा रात बिताउने कुनै ठाउँ बाँकी नरहेकाले हामीले हाम्रा उपकरणहरू चार्ज गर्न फेरि काठमाडौँ नै फर्किनुपर्यो ।
तेस्रो दिन
चीनबाट दोस्रो बाढीको चेतावनी आएको थियो । यो नयाँ चेतावनीका लागि पीडितहरू कत्तिको तयार छन् भन्ने कुरा बुझ्न हामी त्रिशूलीतर्फ हतारियौँ । हाम्रो बाटोमा, हामीले सेनाको हेलिप्याड र उत्सुकताका साथ पर्खिरहेका परिवारहरू देख्यौँ, जसले आफ्ना प्रियजनहरू हेलिकप्टरबाट बाहिर निस्कने आशा गरिरहेका थिए । त्रिशूली सुनसान भए पनि राहतको पर्खाइमा रहेका पीडितका परिवारहरू सावधानीका रूपमा माथिल्लो भेगतर्फ सरेका थिए । यो एउटा भूतिया सहर जस्तै थियो; वरपर भग्नावशेष मात्र थियो र सग्ला रहेका घरहरूमा ताला लगाइएको थियो ।
मैले एक वृद्धा महिला मैया तामाङलाई भेटेँ, जसले आफ्नो घर नछाड्ने निर्णय गरेकी थिइन् । ‘भाग्यले हाम्रा लागि के लेखेको छ, त्यो निर्णय हुन दिनुहोस् । म मेरो थला परेका, बिरामी श्रीमान्लाई कतै लैजान सक्दिनँ । उहाँ हलचल गर्न सक्नुहुन्न । हामी आकस्मिक बाढीबाट बच्यौँ । हेरौँ यो बाढीले के गर्छ,’ उहाँले मलाई भने । यो सुन्दा निकै पीडादायी थियो । नेटवर्कको समस्या भएकाले, हामीले हाम्रा रिपोर्टहरू पठाउन फेरि १ घण्टा टाढा रहेको विदुरतर्फ गाडी कुदायौँ ।
विदुरमा हामीले केही युवा स्वयंसेवकहरूलाई भेट्यौँ, जो नजिकै किराना सामानहरू खरिद गरिरहेका थिए । उनीहरूले हामीलाई हाम्रो गाडीमार्फत सहयोग गर्न अनुरोध गरे । उनीहरू एउटा यस्तो विद्यालयमा पुग्न चाहन्थे । जहाँ १०० जना मानिसहरूले शरण लिएका थिए र उनीहरूसँग खाना वा पानी थिएन । हामी राजी भयौँ । हामीले उनीहरूका सामानहरू राख्यौँ र फेरि उद्धार आश्रितस्थलतर्फ उकालो लाग्न थाल्यौँ । त्यतिञ्जेलसम्ममा घाम ढलिसकेको थियो र हामी त्यहाँ पुग्दा घोर अँध्यारो भइसकेको थियो । ती क्षेत्रहरूमा अझै पनि बिजुली पुनःस्थापना हुन सकेको थिएन ।
विद्यालयमा प्रवेश गर्दा मलाई ‘१४ वर्षका एक जीवित भागेका किशोर छन्, जसले यो सब सामना गरेका छन्’ भनियो । जब मैले उनीसँग ‘नमस्ते’ भनेँ, युवा स्वास्तिक मुस्कुराए । मैले उनको निधार, हात र खुट्टामा चोटहरू देख्न सक्थेँ । उनले भने, ‘हो, म क्यामेरामा बोल्छु । म त्यो बिर्सिन सक्दिनँ, यो एउटा नराम्रो सपना जस्तै छ ।’ उनले मलाई भने कि उनकी ६ वर्षीया बहिनी पनि बाँचिन्, यद्यपि उनको घुँडा भाँचिएको थियो । उनले उनलाई उठाएर म भएकहाँ ल्याए । सानी स्वास्तिका मुस्कुराइन् र मेरो नाम सोधिन् । मैले उनलाई केही सोध्नुअघि नै उनले मलाई मेरा कतिवटा बच्चा छन्, मेरो उमेर कति भयो, म कहाँकी हुँ र मेरो क्यामेरापर्सनको नाम के हो जस्ता प्रश्नहरूको वर्षा गरिन् ।
हामी तीनै जना अँध्यारोमा बस्यौँ र त्यसदिन के भयो, उनीहरूका शिक्षकले कसरी उनीहरूलाई बचाउनुभयो र भग्नावशेषबाट बाहिर निकाल्नुभयो, उनीहरूले कसरी अन्य बच्चाहरू बगेको देखे, स्वास्तिक ठूलो भएर कसरी ठूलो फूटबल खेलाडी बन्न चाहन्थे भन्नेबारे लामो कुराकानी गर्यौँ । उनीहरूका आमाबाबु, सौभाग्यवश, त्यस दिन गोसाइँकुण्डमा हुनुहुन्थ्यो । भोलिपल्ट मात्र उहाँहरू उनीहरूसम्म पुग्न सफल हुनुभयो । मेरो हृदय भरिएर र घरमा रहेका मेरा आफ्नै बच्चाहरूलाई सम्झिँदै म त्यस राति काठमाडौँ फर्किएँ ।
चौथो दिन
अहिलेसम्ममा मेरा सहकर्मीहरू आइसकेका थिए र प्रभावित क्षेत्रहरूमा फैलिसकेका थिए । मैले त्यहाँबाट पहिले नै विशेष रिपोर्टहरू पठाइसकेकी थिएँ । पहिलो दिनदेखि नै ग्राउन्डमा खटिने पहिलो टीभी पत्रकार भएकाले मैले रसुवातर्फ अघि बढ्ने निर्णय गरेँ । मेरो चालक खुसी हुनुहुन्नथ्यो । उहाँले भन्नुभयो कि त्यहाँ कुनै सडक छैन । मैले जिद्दी गरेँ, ‘खोजौँ न त ।’ सरकारले राहतकर्मीहरूका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको बताउँदै आएको थियो । त्यसैले हामीले प्रयास गर्ने निर्णय गर्यौँ ।
हामी कहाँ जाने भन्ने थाहा नपाई रसुवातर्फ अघि बढ्न थाल्यौँ । हरेक दोबाटोमा हामी रोकियौँ र मार्गहरूको लागि सुझाव माग्यौँ । यो क्रम हामी पहाडतर्फ जाने एउटा साँघुरो सडकमा नपुगुञ्जेल चलिरह्यो । तल झर्दै गरेका केही बाइक चालकहरूले हामीलाई चेतावनी दिए, ‘यो रसुवा जाने सडक हो तर यसले ८ घण्टा लिनेछ । यदि तपाईंको गाडी फोर–ह्विलर होइन र तपाईंको चालक अनुभवी हुनुहुन्न भने नजानुहोस् ।’
हामी दुवै हिसाबले सुसज्जित थियौँ । तर हामी त्यो लामो, खतरनाक, भयानक ड्राइभका लागि साँच्चै तयार थिएनौँ । केवल २ बोतल पानी र कुनै खानेकुरा बिना हामी चाँडै पुग्छौँ र मिलाउँछौँ भन्ने ठानेका थियौँ । तर होइन, भारी वर्षा र खतरनाक उकालोका साथ, ड्राइभ अझ लामो भयो । त्यहाँ कुनै नेटवर्क थिएन । मैले कार्यालय वा घरमा कुरा गर्न सकिनँ । हामी राति १० बजेसम्म अघि बढिरह्यौँ । अन्ततः, हामी एउटा सानो सहर, कालिका पुग्यौँ । यो अँध्यारोमा डुबेको थियो । हामीलाई रात बिताउन एउटा ठाउँ चाहिएको थियो । एउटा सानो चिया पसलले हामीलाई कोठा दिनुहुने दयालुपन देखायो । एनडीटीभी फेरि पनि रसुवा पुग्ने विश्वको पहिलो मिडिया नेटवर्क बन्यो ।
पाँचौँ दिन
भारी वर्षाको लामो रात थियो र हाम्रा फोनहरू चार्ज गर्न बिजुली नभएकाले यो अझ लामो र डराउदो लाग्यो । अन्ततः, बिहान भयो र हामी बाहिर निस्क्यौँ । बिहानै बेत्रावती बजारतर्फ अघि बढ्दा हामीले भेटेका पहिलो स्थानीयले भने कि बिहान ४ः३० बजेदेखि उनीहरू कोही पनि सुतेका थिएनन् । चट्याङको ठूलो गर्जनका साथ यो एउटा डराउदो रात भएको थियो ।
बेत्रावती बजारका पहिलो विशेष तस्वीरहरू ल्याउँदा मैले महसूस गरेँ कि यो त्रासदीको परिमाणलाई नक्सांकन वा लेखाजोखा गर्न सकिँदैन । यो कल्पनाभन्दा बाहिरको थियो । मैले बेत्रावती नजिकै बस्ने १ महिलालाई भेटेँ, जो सिलाइकटाइको काम गर्नुहुन्थ्यो । उहाँले मसित बोल्दा आफ्ना आँसु रोक्न सक्नुभएन । ‘मेरो घर सग्लो छ । मेरो श्रीमान् ठीक हुनुहुन्छ । तर म यहाँ बस्न सक्दिनँ । नदीको बहावको शक्तिले मेरो घर थर्किरहेको छ । मेरा छिमेकीहरू बगेर गए । घरहरू सकिए । म यहाँ कसरी एक्लै बस्न सक्छु ?’
बेत्रावती बजार भग्नावशेषमा परिणत भएको छ, जसको छेउमा भीषण भोटेकोसी बहिरहेको छ । नदीको गर्जन यति ठूलो थियो कि हामी चिच्याएर नबोली एकअर्कासँग कुरा गर्न सक्दैनथ्यौँ ।
हाम्रो अर्को बिसौनी एउटा विद्यालय थियो, जुन अहिले आश्रयस्थलको रूपमा काम गरिरहेको थियो र उद्धार गरिएका थप १०० जना बालबालिकाहरूको घर बनेको थियो । विद्यालयका प्रधानाध्यापक अहिले उनीहरूको संरक्षक हुनुहुन्छ; धेरै जना आकस्मिक बाढीमा अनाथ भएका छन् । उनीहरू विद्यालय गइरहेका बेला, उनीहरूका आमाबाबु र घर बगेर गएका थिए ।
त्यसपछि हामी धुञ्चेतर्फ लाग्यौँ र पछि चीन–तिब्बत सीमातातर्फ लाग्यौँ, जहाँबाट नेपालमा विनाश ओर्लिएको थियो । १२ मोडी सडक नपुगुञ्जेलसम्मको ड्राइभ फेरि पनि एउटा चुनौती थियोः लामो, पहाडी, घुम्ती सडकहरू ।
अनि त्यसपछि एनडीटीभीका लागि अर्को एउटा पहिलो अवसर आयो । हामी नेपाल–तिब्बत सीमाको सबैभन्दा नजिकको पहुँचयोग्य विन्दुमा पुग्ने र नेपालका अन्तिम बस्तीहरू, स्याफ्रुबेसी र टिमुरे बजारमा भएको विनाशको दस्ताबेजीकरण गर्ने पहिलो मिडिया क्रु बन्यौँ । एनडीटीभी पुनः यस संकटका बेला नेपालको सबैभन्दा टाढाको प्रभावित सीमानामा पुग्ने एकमात्र नेटवर्क बन्यो । उद्देश्य सरल थियोः नेपालले भोगिरहेको त्रासदीको वास्तविक परिमाण देखाउनु ।
छैटौँ दिन
हामी धुञ्चेमा रातभर बस्यौँ । यो कालिकाको अघिल्लो रातभन्दा धेरै आरामदायी थियो । धुञ्चे पहाडमा रहेको एउटा सानो सहर हो, जुन एक राष्ट्रिय निकुञ्ज नजिक छ, त्यसैले साना होटलका कोठाहरू सजिलै उपलब्ध थिए । एउटै चुनौती बिजुलीको थियो । तर स्थानीयले आफ्ना दुःखका बारेमा कहिल्यै गुनासो गरेनन् । उनीहरूले मुस्कानका साथ हामीलाई स्वागत गरे । हाम्रा होटलका मालिकहरू, एक दम्पतीले, एउटा मात्र तेलको दियो बालेर अँध्यारो भान्सामा हाम्रा लागि खाना बनाइदिनुभयो ।
बिहान सामान्य थियो । हेलिकप्टरहरूको आवतजावतले हामीलाई ब्युँझायो र हामी हेलिप्याडतर्फ हतारियौँ । स्याफ्रुबेसी र टिमुरेबाट भेटिएका शवहरू ओसारपसार भइरहेको थियो, जबकि बाढीका कारण सम्पर्कविच्छेद भएका गाउँहरूमा एयर–ड्रप (हवाई मार्गबाट खसाल्न) गर्न केही राहत सामग्रीहरू पनि लगिँदै थियो ।
मैले बालबालिका र युवाहरूलाई भेटेँ, जो ६ दिनपछि उद्धार भई धुञ्चे फिर्ता ल्याइएका थिए । उनीहरूले हामीलाई त्यो घातक बिहान र भग्नावशेषको भयावहता एवं त्यसमुनि गाडिएका मृतकका शवहरूको दुर्गन्धबारे बताए । कठिन समयले उनीहरूलाई अझ कठोर बनाएको छ । कुनै आँसु छैन, केवल वास्तविकतालाई स्वीकार गर्ने भाव छ ।
त्यसपछि हामीले नेपाल–तिब्बत सडकको अन्तिम विन्दुसम्म जाने र पैदल यात्रा गर्ने निर्णय गर्यौँ, जसले स्याफ्रुबेसी, त्यसपछि टिमुरे बजार र त्यसपछि तिब्बत सीमातिर लैजान्छ । तिब्बतबाट नेपालमा ठोक्किएको व्यापक विनाशको त्यो नजिकको दृश्य ल्याउने एकमात्र मिडिया बन्दै हामी अन्तिम विन्दुसम्म पुग्यौँ । पुल र सडकहरू बगेर गएका छन् । प्रहरी चौकी, भन्सार कार्यालय, होटल र रेस्टुरेन्टहरू, सबै डुबानमा परेका छन् । अन्तिम विन्दुमा चिलिमे जलविद्युत् आयोजनाको सुरुङ थियो, जहाँ हामीले उद्धारकर्मीहरू र विपद् व्यवस्थापन अधिकारीहरूलाई सुरुङ खोल्न निरन्तर काम गरिरहेको देख्न सक्थ्यौँ । हामीले हेलिकप्टरहरूले उपकरण र जेनेरेटरहरू तल झारिरहेको देख्यौँ ।
(लेखक एनडीटीभी इन्डियाकी कन्ट्रिब्युटिङ एडिटर र वरिष्ठ एंकर हुन् ।) एनडीटीभीबाट भावानुवाद



































