काठमाडौं । भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसीमा अचानक आएको भीषण बाढीले ठूलो मानवीय क्षति पुर्याएको आठ दिन बितिसकेको छ । बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू दिनरात भौँतारिइरहेका छन् ।
तर, कतिपय परिवारका लागि आठ दिनसम्म पनि कुनै खबर नआएपछि अब आशा विस्तारै मर्दै गएको छ । बेपत्ता आफन्त जीवितै भेटिने सम्भावना न्यून हुँदै गएपछि रसुवा र नुवाकोटका केही परिवारले खोजी अभियान छाडेर अन्तिम संस्कारको बाटो रोज्न थालेका छन् । शव नभेटिए पनि परम्पराअनुसार कुशको शव बनाएर उनीहरूले काजकिरिया र अन्त्येष्टि सुरु गरेका हुन् । बाढीले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको विदुर नगरपालिका र रसुवाका केही बस्तीमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् । बाढीपछि रसुवाका कम्तीमा दुई वडा र नुवाकोटको विदुर नगरपालिकाका विभिन्न वडामा ठूलो संख्यामा मानिस बेपत्ता भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । तर, बाढीका बेला ती क्षेत्रमा कति मानिस थिए भन्ने यकिन तथ्यांक नहुँदा बेपत्ताको वास्तविक संख्या अझै स्पष्ट हुन सकेको छैन ।
बाढीले घर, बजार, विद्यालय र अन्य संरचना मात्र बगाएको छैन, धेरै परिवारका सदस्यसमेत एकैपटक सम्पर्कविहीन बनाएको छ । एउटै परिवारका पाँच, चार, आठ जनासम्म बेपत्ता भएका घटना स्थानीय तहमा दर्ता भएका छन् । कतिपय परिवारमा भने घरका लगभग सबै सदस्य बेपत्ता भएका छन् । विदुर नगरपालिका–१० का अध्यक्ष गणेशकुमार नेपालका अनुसार बेत्रावती बजारमा मात्रै २४३ जना मानिस बेपत्ता भएका छन् । बाढीका कारण भएको क्षतिको वास्तविक अवस्था अझै पूर्ण रूपमा संकलन हुन नसकेको उनको भनाइ छ । ‘मेरो वडा रहेको बेत्रावतीमा रसुवाको पनि एउटा वडा पर्छ । त्यहाँ एउटा विद्यालय नै बगाउँदा करिब २ सय विद्यार्थी बेपत्ता भएका छन् । योसमेत जोड्दा २५३ जनाको अवस्था अज्ञात छ,’ उनले बुधबार बिहान भने, ‘मानवीय क्षतिको हिसाबले रसुवाको समेत जोड्दा सबैभन्दा बढी प्रभावित क्षेत्र मेरै १० नम्बर वडा हो ।’
बेत्रावती पुरानो र ऐतिहासिक बजार भएकाले पछिल्ला वर्षमा यहाँ तीव्र रूपमा बस्ती विस्तार भएको थियो । व्यापारिक गतिविधि बढ्दै जाँदा बजार क्षेत्रमा मानिसको चाप पनि बढेको थियो । बाढी आएको समयमा बजारमा कति मानिस थिए भन्ने यकिन विवरण निकाल्न अहिले कठिन भइरहेको अध्यक्ष नेपालको भनाइ छ । बाढीले एकैपटक ठूलो क्षेत्र तहसनहस पारेपछि कतिपय मानिसको पहिचानसमेत हुन सकेको छैन । घर भाडामा लिएर बस्ने, व्यापार तथा रोजगारीका लागि आएका मानिस र अन्य जिल्लाबाट आएका व्यक्तिको विवरणसमेत तत्काल उपलब्ध नहुँदा बेपत्ताको संख्या यकिन गर्न समस्या भएको स्थानीय तहका जनप्रतिनिधि बताउँछन् । तर, आठ दिनसम्म आफन्तको कुनै खबर नआएपछि परिवारका सदस्यहरू अब खोजीबाट थाक्न थालेका छन् । उनीहरूका लागि हरेक दिन आशा र निराशाबीच बितिरहेको छ ।
अध्यक्ष नेपालका अनुसार कतिपय परिवारले अब आफन्त जीवित भेटिने आशा लगभग त्यागिसकेका छन् । त्यसैले उनीहरूले अन्तिम संस्कारका लागि स्थानीय तहसँग समन्वय गर्न थालेका छन् । ‘हराएका आफन्त जीवित भेटिने सम्भावना न्यून हुँदै गएपछि उहाँहरूले काजकिरिया गर्न सुरु गर्नुभएको छ,’ अध्यक्ष नेपालले भने, ‘अन्तिम संस्कारका लागि राज्यबाट उपलब्ध हुने सहयोग रकम दिन सीडीओ कार्यालयलाई पनि खबर गरिसकेको छु । आज आठ दिन भयो, अब केही परिवारले अन्त्येष्टि थालिसक्नुभएको छ ।’ बेत्रावतीमा मात्रै बाढीका कारण ३१४ घरमा क्षति पुगेको छ । ठूलो संख्यामा परिवार विस्थापित भएका छन् । अध्यक्ष नेपालका अनुसार करिब १२ सय परिवार बाढीका कारण विस्थापित भएका छन् ।
बाढीको विनाश कति भयावह थियो भन्ने एउटा घटनाले पनि देखाउँछ । भदौ १५ गते बेत्रावतीस्थित एउटै घरबाट २३ वटा शव फेला परेका थिए । बाढीले घरभित्र रहेका मानिसलाई एकैपटक बगाएको वा पुरेको हुनसक्ने स्थानीयको भनाइ छ । बेत्रावतीबाट बेपत्ता हुनेमा स्थानीय बासिन्दा मात्र छैनन् । रोजगारी, व्यापार तथा अन्य कामका लागि आएका र घर भाडामा लिएर बसिरहेका मानिस पनि ठूलो संख्यामा सम्पर्कविहीन छन् । उनीहरूका आफन्त अहिले बेत्रावती र आसपासका क्षेत्रमा पुगेर खोजी गरिरहेका छन् । तर, वास्तविक संख्या यकिन गर्न अझै समय लाग्ने अध्यक्ष नेपालको भनाइ छ । ‘भाडामा बस्ने धेरै मानिस पनि हराउनुभएको छ । उहाँहरूका आफन्त आएर खोजी गरिरहनुभएको छ । तर, कति जना हराउनुभएको हो भन्ने पूर्ण विवरण आउन अझै समय लाग्छ,’ उनले भने ।
बेत्रावतीको जस्तै पीडा विदुर नगरपालिका–१ मा पनि छ । त्रिशूली र ढुंगे बजार रहेको यो वडामा पनि बाढीपछि दर्जनौँ मानिस सम्पर्कविहीन छन् । वडा अध्यक्ष लेलिन रन्जितका अनुसार त्रिशूली र ढुंगे क्षेत्रबाट मात्रै ७२ जना मानिस बेपत्ता भएको पुष्टि भएको छ । बेपत्ताको अवस्था लामो समयसम्म पत्ता नलागेपछि यहाँका परिवार पनि कुशको शव बनाएर अन्तिम संस्कार गर्न बाध्य भएका छन् । ‘मेरो वडामा पर्ने त्रिशूली र ढुंगेबाट ७२ जना बाढीपछि बेपत्ता हुनुहुन्छ । अब म आफैँ उहाँहरूका परिवारको अन्तिम संस्कारका लागि पहल थालेको छु,’ अध्यक्ष रन्जितले भने, ‘भाडामा बस्ने मानिस पनि हराएको भनेर तस्बिरसहित आफन्तहरू आइरहनुभएको छ । त्यसैले संख्या अझै प्रस्ट भइसकेको छैन ।’
उनका अनुसार एउटै परिवारका धेरै सदस्य एकैपटक बेपत्ता भएका छन् । सबैभन्दा ठूलो क्षति जोशी परिवारमा भएको उनले बताए । ‘एउटै घरबाट पाँच जना, अर्को घरबाट चार जना र कतिपय परिवारका दुई–दुई जना बेपत्ता हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरूका कतिपयको त अन्तिम संस्कार गर्ने मानिससमेत नहुन सक्छन् । त्यसैले केही दिन कुर्नुहोस्, त्यसपछि सामूहिक रूपमा बसौँ भनेर मैले भनेको छु ।’ कतिपय परिवारका सदस्यले काजकिरिया सुरु गरिसकेका छन् भने केही काठमाडौंलगायत अन्य स्थानमा बसेर धार्मिक तथा पारिवारिक संस्कार पूरा गरिरहेका छन् । बाढी आउँदा त्रिशूली र ढुंगे बजारमा करिब २७ सय मानिस रहेको हुनसक्ने अध्यक्ष रन्जितको अनुमान छ । तर, बाढीले बजारको ठूलो हिस्सा नै तहसनहस बनाएकाले त्यहाँ रहेका मानिसको वास्तविक संख्या र उनीहरूको अवस्थाबारे तथ्यांक संकलन गर्न निकै कठिन भइरहेको छ । एकातिर बेपत्ता आफन्तको खोजी जारी छ, अर्कोतिर जीवित भेटिने आशा कमजोर बन्दै गएपछि परिवारहरू मानसिक रूपमा पनि गम्भीर पीडामा छन् । शव नपाउँदा अन्तिम संस्कार गर्नसमेत कठिन हुने भएकाले उनीहरू स्थानीय जनप्रतिनिधिको सहयोगमा कुशको शव बनाएर परम्परागत विधिअनुसार काजकिरिया गर्न थालेका हुन् ।
विदुर नगरपालिकाका अन्य प्रभावित वडामा पनि अवस्था उस्तै छ । वडा नम्बर ५ र ७ मा समेत बाढीपछि हराएका मानिस नभेटिएपछि केही परिवारले अन्तिम संस्कार सुरु गरेका छन् । विदुर नगरपालिका–७ का अध्यक्ष रवीन्द्र नेपालका अनुसार बाढीले वडाका तुप्चे, सोले, सेतीटार र अक्करेलगायत मुख्य बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । यी क्षेत्रमा मात्रै ६५ जना मानिस बाढीमा हराएको पुष्टि भएको उनले बताए । ‘तुप्चे, सोले, सेतीटार र अक्करेमा ६५ जना बाढीमा हराएको पुष्टि भएको छ,’ अध्यक्ष नेपालले भने, ‘सोले र सेतीटारतिर एउटै परिवारका आठ जनासम्म हराइरहनुभएको छ । त्यहाँ थोरै मानिस मात्र जोगिए कि भन्ने अवस्था छ ।’ बाढीले परिवारका धेरै सदस्य एकैपटक बेपत्ता बनाएपछि केही परिवारको घर नै सुनसान बनेको छ । कोही आफन्तको पर्खाइमा छन् भने कोही शवसमेत नपाएपछि धार्मिक संस्कार पूरा गर्ने अवस्थामा पुगेका छन् । सोलेका पत्रकार निराजन पौडेल पनि बाढीका पीडितमध्ये एक हुन् । उनका आमाबुबा, काकाकाकी र बहिनी गरी पाँच जना बाढीपछि बेपत्ता छन् । आठ दिनसम्म उनीहरूको कुनै खबर नआएपछि पौडेलले पनि बुधबार कुशको शव बनाएर आफन्तहरूको अन्तिम संस्कार गरेका छन् ।
आफन्तको शव आँखैअगाडि देखेर अन्तिम संस्कार गर्न नपाउनु आफैंमा असह्य पीडा हो । तर, लगातारको खोजीपछि पनि कुनै सुराक नपाएपछि परिवारहरूका सामु दुईवटा मात्र विकल्प बाँकी छन्—आशा गरेर अझै कुर्ने वा परम्पराअनुसार अन्तिम संस्कार गरेर आफन्तको आत्माको शान्तिको कामना गर्ने । स्थानीय जनप्रतिनिधिहरूका अनुसार पछिल्लो समय धेरै परिवार दोस्रो विकल्पतर्फ जान थालेका छन् । विदुर नगरपालिका–५ मा पर्ने देवीघाट बजारको अवस्था पनि उस्तै छ । वडा अध्यक्ष लीलानाथ न्यौपानेका अनुसार बाढीका कारण देवीघाट बजारबाट १८ जना मानिस बेपत्ता भएका छन् । उनीहरूमध्ये केही परिवारले बुधबार नै काजकिरिया र अन्तिम संस्कार सुरु गर्न लागेको उनले जानकारी दिए । बाढीपछि हराएका आफन्तको खोजीमा परिवारका सदस्यहरू विभिन्न ठाउँमा पुगिरहेका छन् । नदी किनार, बाढीले थुपारेको माटो, ढुंगा र भग्नावशेषदेखि अस्पताल तथा शव राखिएका स्थानसम्म उनीहरूले आफन्तको खोजी गरिरहेका छन् । तर, कतिपय ठाउँमा बाढीले जमिनको स्वरूप नै परिवर्तन गरिदिएकाले खोजी कठिन बनेको छ ।
भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले मानिस मात्र होइन, घर, विद्यालय, बजार, सडक, पुल र अन्य संरचना समेत बगाएको छ । कतिपय बस्तीमा पुरानो बसोबासको कुनै चिन्हसमेत बाँकी छैन । यस्तो अवस्थामा बाढी आएको समयमा को कहाँ थिए भन्ने विवरण संकलन गर्नु स्थानीय प्रशासनका लागि चुनौतीपूर्ण बनेको छ । विशेषगरी भाडामा बस्ने मानिसको विवरण संकलनमा समस्या देखिएको छ । उनीहरू स्थानीय मतदाता सूची वा स्थायी बसोबासको अभिलेखमा नहुन सक्छन् । बाढीका कारण उनीहरूका घरधनी तथा छिमेकीसमेत विस्थापित वा बेपत्ता हुँदा पहिचान र खोजी झन् जटिल भएको छ । स्थानीय तहले बेपत्ताको विवरण संकलन गरिरहेको भए पनि बाढीको व्यापक क्षतिका कारण तथ्यांकमा फेरबदल भइरहने अवस्था छ । आफन्तले नयाँ विवरण लिएर वडा कार्यालयमा आउने क्रम जारी रहेकाले अहिलेकै संख्यालाई अन्तिम मान्न नसकिने जनप्रतिनिधिहरू बताउँछन् । यसबीच, शव नभेटिएका परिवारका लागि काजकिरिया र अन्तिम संस्कारको विषय पनि जटिल बनेको छ । परम्पराअनुसार शव नभेटिएमा कुशको शव बनाएर अन्तिम संस्कार गर्ने चलन छ । अहिले रसुवा र नुवाकोटका प्रभावित परिवारहरूले यही विधि अपनाउन थालेका हुन् ।
परिवारका लागि यो केवल धार्मिक संस्कार पूरा गर्ने विषय मात्र होइन । लामो समयसम्म बेपत्ता आफन्तको पर्खाइमा बस्दा उत्पन्न मानसिक पीडा र अनिश्चितताको अन्त्य गर्ने प्रयास पनि हो । ‘उहाँहरूलाई आफ्नो मान्छे कहाँ छ भन्ने थाहा छैन । शव पाउने आशा पनि कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा परिवारले मन बुझाउन पनि अन्तिम संस्कार गर्न थालेका छन्,’ एक स्थानीय जनप्रतिनिधिले बताए । तर, अन्तिम संस्कार गरिसकेपछि पनि परिवारको मनमा एउटा प्रश्न भने बाँकी रहनेछ—बेपत्ता भनिएको आफन्तको वास्तविक अवस्था के भयो ? यही प्रश्नले अहिले रसुवा र नुवाकोटका सयौँ परिवारलाई सताइरहेको छ । बाढी गएको आठ दिनसम्म पनि धेरै मानिसको अवस्था अज्ञात छ । खोजी तथा उद्धार टोलीले आफ्नो काम जारी राखे पनि सबै बेपत्ताको अवस्थाबारे तत्काल जानकारी प्राप्त हुने सम्भावना न्यून हुँदै गएको छ । कतिपय परिवारले भने अब सरकारी खोजी अभियानको नतिजाभन्दा पनि धार्मिक संस्कार पूरा गरेर मनलाई सम्हाल्ने बाटो रोजेका छन् ।
बाढीले प्रभावित क्षेत्रमा अहिले पनि मानिसहरू भग्नावशेष हटाउने, हराएका आफन्तको खोजी गर्ने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने काममा जुटिरहेका छन् । तर, घर र सम्पत्ति गुमाएका मानिसका लागि सबैभन्दा ठूलो पीडा भने आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी नहुनु बनेको छ । बेत्रावती, त्रिशूली, ढुंगे, देवीघाट, सोले, सेतीटारलगायतका बजारमा अहिले पनि बाढीको विनाशका दृश्य देखिन्छन् । कतै घरको जग मात्र बाँकी छ, कतै बजारको नामोनिसान छैन । बाढीले बगाएको भौतिक संरचना पुनर्निर्माण गर्न सकिएला, तर बेपत्ता भएका आफन्तको रिक्तता भने कुनै पुनर्निर्माणले पूरा गर्न सक्ने छैन । यही कारणले पनि आठ दिनसम्म आफन्तको कुनै खबर नआएपछि केही परिवारले कुशको शव बनाएर अन्तिम संस्कार सुरु गरेका छन् । उनीहरूका लागि यो आशा त्यागेको घोषणा जस्तो देखिए पनि मनको कुनामा भने अझै एउटा प्रश्न बाँकी छ—कतै आफन्त जीवितै छन् कि ? त्यही आशा र निराशाबीच रसुवा र नुवाकोटका पीडित परिवारको दिन बितिरहेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































