काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा परेको क्षतिलाई विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्तिका रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार बाढीको प्रभाव, भौगोलिक अवस्था, पूर्वाधारमा भएको क्षति र भूमिगत संरचनाभित्र उद्धार गर्नुपर्ने चुनौती एकैपटक देखिनु आफैंमा निकै दुर्लभ घटना हो । भोटेकोसी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । मन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढीले निम्त्याएको अवस्थाबारे आफ्नो अनुभव र उद्धारका क्रममा देखिएका चुनौतीबारे जानकारी दिएका हुन् ।
डिक्सका अनुसार भोटेकोसी क्षेत्रमा देखिएको विपत्तिको स्वरूप सामान्य बाढी वा पहिरोको घटनासँग तुलना गर्न मिल्ने खालको छैन । बाढीको प्रभाव निकै ठूलो क्षेत्रमा फैलिएको र सतहमा देखिएको क्षतिसँगै भूमिगत संरचनामा समेत जटिल असर परेको उनले बताए । यही कारण उद्धारका लागि परम्परागत उपाय मात्र पर्याप्त नहुने अवस्था आएको उनको भनाइ छ । “यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ । सम्भवतः यस्तो घटना पहिलो नै होला,” डिक्सले भने । उनका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्रलाई प्रत्यक्ष रूपमा प्रभावित बनाएको छ । बाढी र पहिरोका कारण सडक, पुल, नदी किनारका संरचना तथा जलविद्युत् आयोजनाका पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा आवतजावत र उद्धार कार्य नै चुनौतीपूर्ण बनेको छ । कतिपय स्थानमा सडक तथा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले उद्धार टोलीका लागि घटनास्थलसम्म पुग्नसमेत कठिन भएको उनले बताए ।
भौगोलिक अवस्थाका कारण उद्धार कार्य झनै जोखिमपूर्ण बनेको डिक्सको भनाइ छ । भोटेकोसी तथा आसपासका क्षेत्रमा रहेका साँघुरा गल्छी, भत्किएका सडक र पुल तथा नदीको तीव्र बहावका कारण सामान्य उद्धार उपकरण प्रयोग गर्न कठिन भएको उनले बताए । कतिपय ठाउँमा हेलिकोप्टरसमेत अवतरण गर्न नसक्ने अवस्था रहेकाले उद्धारका लागि निकै कठिन उपाय अपनाउनुपरेको उनको भनाइ छ । “हेलिकोप्टर पनि ल्यान्ड गर्न नसक्ने अवस्थाबाट उद्धार गर्नुपर्ने स्थिति थियो । गल्छीहरू अत्यन्तै साँघुरा छन् । उद्धारकर्ताका लागि समेत यो अत्यन्त कठिन भूगोल हो,” उनले भने ।
बाढीपछि उद्धारमा संलग्न नेपाली सुरक्षा निकाय, प्राविधिक टोली र अन्य उद्धारकर्ताले अत्यन्त जोखिमपूर्ण अवस्थामा काम गरिरहेको उनले बताए । कठिन भूगोल र पूर्वाधारमा भएको क्षतिका बाबजुद उद्धार कार्य अघि बढाउन नेपाली पक्षले गरेको समन्वय र प्रयासको उनले प्रशंसा गरेका छन् । डिक्सले विपत्तिको कारणलाई लिएर तत्काल दोषारोपण गर्नेभन्दा उद्धार र मानवीय जीवन जोगाउने कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । प्राकृतिक विपत्तिको स्वरूप असाधारण रहेकाले यस्तो घटनाका लागि कुनै पक्षलाई दोष दिनु उपयुक्त नहुने उनको भनाइ छ ।
“अहिले कसैले कसैलाई दोष दिने अवस्था छैन, त्यो बेला पनि होइन । यस किसिमको विपत्ति आउनुमा मैले नेपालको कुनै दोष देख्दिनँ,” उनले भने । उनले बाढीबाट सतहमा देखिएको ठूलो विनाशलाई मात्रै आधार बनाएर भूमिगत संरचनाभित्र रहेका मानिस जीवित नरहेको निष्कर्षमा पुग्न नहुने बताएका छन् । जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचना अझै अस्तित्वमा रहेकाले त्यहाँ रहेका सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ ।
डिक्सका अनुसार भूमिगत संरचनामा कुनै घटना हुँदा बाहिरबाट देखिएको क्षतिको आधारमा मात्रै भित्रको अवस्था अनुमान गर्न सकिँदैन । सुरुङभित्र केही भाग सुरक्षित रहेको हुनसक्ने भएकाले उद्धारको सम्भावना कायम रहुन्जेल खोजी कार्य रोक्न नहुने उनको भनाइ छ । यसका लागि सुरुङको डिजाइन, संरचनाको अवस्था, पानी तथा माटोको प्रवेश, हावाको सम्भावित आवागमनलगायत विभिन्न प्राविधिक पक्षको अध्ययन आवश्यक हुने उनले बताए । नेपालका जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनाको इन्जिनियरिङ डिजाइनसमेत अध्ययन गरिरहेको डिक्सले जानकारी दिए । विपत्तिपछि उद्धारको प्रारम्भिक चरणमै उपलब्ध डिजाइन, नक्सा र अन्य प्राविधिक विवरणको अध्ययन गरी सम्भावित उद्धार मार्ग पहिचान गर्न थालिएको उनले बताए ।
“मैले जलविद्युत् आयोजना र सुरुङहरूको इन्जिनियरिङ डिजाइन अध्ययन गरेको छु । विपत्ति आएपछि सुरुमा मैले उपलब्ध डिजाइन र प्राविधिक तथ्यांक हेरेँ,” उनले भने । सुरुङभित्र उद्धार गर्दा बाहिरबाट सामान्य रूपमा हेरेर बाटो पहिचान गर्न सम्भव नहुने भएकाले आयोजनाको मूल डिजाइन तथा निर्माणसम्बन्धी प्राविधिक विवरण महत्वपूर्ण हुने डिक्सको भनाइ छ । सुरुङको लम्बाइ, निकास बिन्दु, पावरहाउसको अवस्थिति, भेन्टिलेसन, पहुँचमार्ग र विभिन्न संरचनाबीचको सम्बन्ध अध्ययन गरेर मात्रै सुरक्षित उद्धार रणनीति बनाउन सकिने उनले बताए । भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको बाढीले जलविद्युत् आयोजनामा कार्यरत श्रमिक तथा कर्मचारीको अवस्थाबारे समेत गम्भीर प्रश्न उठाएको छ । बाढीका कारण केही आयोजना क्षेत्र पूर्ण रूपमा सम्पर्कविहीन बनेका छन् भने कतिपय आयोजनाका सुरुङ, पावरहाउस र पहुँचमार्गमा माटो, ढुंगा, पानी तथा अन्य मभदचष्क भरिएको अवस्था छ । यस्तो परिस्थितिमा उद्धार टोलीले सुरुङभित्र प्रवेश गर्दा थप जोखिमको सामना गर्नुपर्ने हुन्छ ।
डिक्सका अनुसार उद्धारका क्रममा सुरुङको संरचनात्मक सुरक्षासँगै उद्धारकर्ताको सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । एकपटक सुरुङभित्र प्रवेश गरेपछि पानीको बहाव, पहिरो, हावा, अक्सिजनको अवस्था र संरचनाको स्थायित्वबारे निरन्तर मूल्यांकन आवश्यक हुने उनले बताए । सामान्य अवस्थामा सुरुङभित्र हुने दुर्घटना वा भूमिगत संरचनामा फसेका मानिसको उद्धारसम्बन्धी विषय सार्वजनिक चासोमा कमै आउने गर्छ । तर, केही वर्षयता भएका ठूला सुरुङ दुर्घटनाले यस्ता घटनामा अन्तर्राष्ट्रिय विशेषज्ञताको आवश्यकता कति महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ ।
डिक्स सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारको उद्धारमा प्रमुख भूमिकाका कारण अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएका थिए । त्यहाँ ४१ जना कामदार १७ दिनसम्म सुरुङभित्र फसेपछि विभिन्न प्राविधिक उपाय र अन्तर्राष्ट्रिय विज्ञको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरिएको थियो । उक्त घटनामा भूमिगत संरचनाभित्रको अवस्था बुझ्ने, वैकल्पिक मार्ग पहिचान गर्ने र जोखिम व्यवस्थापन गर्ने विषयमा डिक्सको विशेषज्ञता महत्वपूर्ण मानिएको थियो । त्यही अनुभवका कारण अहिले नेपालमा भोटेकोसी–त्रिशूली क्षेत्रमा देखिएको जटिल परिस्थितिमा पनि उनको प्राविधिक सहयोग महत्वपूर्ण मानिएको छ । नेपालमा आएको विपत्ति सिल्क्यारा घटनाभन्दा पनि फरक प्रकृतिको रहेको उनले बताएका छन् । यहाँ सुरुङभित्रको सम्भावित जोखिमसँगै बाहिरी भूगोल, नदीको बहाव, सडक तथा पुलको क्षति र व्यापक क्षेत्रमा फैलिएको प्राकृतिक विनाशले उद्धारलाई थप जटिल बनाएको छ ।
डिक्सले अहिलेको प्राथमिकता हराइरहेका तथा सम्पर्कविहीन मानिसको खोजी र सम्भावित जीवित व्यक्तिको उद्धार भएको बताएका छन् । त्यसपछि मात्रै क्षतिको विस्तृत मूल्यांकन, पूर्वाधार पुनर्निर्माण र भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरणका उपायबारे सोच्नुपर्ने उनको धारणा छ । भोटेकोसी क्षेत्रमा देखिएको विपत्तिले नेपालका जलविद्युत् आयोजना र भूमिगत पूर्वाधारको जोखिम व्यवस्थापनबारे पनि नयाँ बहस सुरु गराएको छ । हिमाली क्षेत्रमा जलवायु, भूगोल र प्राकृतिक विपत्तिको बदलिँदो स्वरूपलाई ध्यानमा राख्दै जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गर्दा आपत्कालीन उद्धार योजना, वैकल्पिक पहुँचमार्ग, सुरुङको सुरक्षा र जोखिम पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
प्रोफेसर डिक्सको भनाइले पनि अहिलेको घटनालाई केवल बाढीबाट भएको सामान्य क्षतिको रूपमा बुझ्न नहुने संकेत गरेको छ । सतहदेखि भूमिगत संरचनासम्म फैलिएको क्षति र अत्यन्त कठिन भौगोलिक परिस्थितिका कारण यो घटना नेपालका लागि मात्रै नभई अन्तर्राष्ट्रिय टनेल तथा विपद् व्यवस्थापन विज्ञका लागि समेत गम्भीर अध्ययनको विषय बनेको छ । उद्धार कार्य जारी रहेकाले सुरुङभित्र तथा सम्पर्कविहीन क्षेत्रमा रहेका व्यक्तिको वास्तविक अवस्थाबारे थप तथ्य क्रमशः बाहिर आउने अपेक्षा गरिएको छ । अहिलेको अवस्थामा भने सम्भावित जीवित व्यक्तिको खोजीलाई प्राथमिकता दिँदै उपलब्ध सबै प्राविधिक उपाय र विशेषज्ञताको प्रयोग गर्नुपर्नेमा डिक्सले जोड दिएका छन् ।
प्रक्षेपण राष्ट्रयि दैनकिबाट साभार ।




































