एसिया कपमा छनोट नेपाली टोलीलाई विराटनगर किङ्सको सम्मान, खेलाडीलाई ५० हजार

काठमाडौँ । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ मा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगदसहित सम्मान गर्ने घोषणा गरेको छ।

विराटनगर किङ्सले राष्ट्रिय टोलीको ऐतिहासिक सफलताको सम्मान गर्दै टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गर्ने निर्णय गरेको जनाएको छ।

टोलीलाई ऐतिहासिक उपलब्धिसम्म पुर्‍याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई भने विशेष सम्मानस्वरूप १ लाख रुपैयाँ प्रदान गरिने भएको छ।

नेपाली टोलीको उत्कृष्ट प्रदर्शन, समर्पण र योगदानको कदर गर्दै सम्मान घोषणा गरिएको विराटनगर किङ्सले जनाएको छ। क्लबले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने, खेलाडीको मनोबल बढाउने तथा राष्ट्रिय टोलीको सफलतामा साथ दिने उद्देश्यले पुरस्कार घोषणा गरेको हो।

एसीसी प्रिमियर कपको उपाधिसँगै नेपाली टोलीले एसिया कप २०२७ को यात्रा सुनिश्चित गरेको छ। टोलीको यो सफलताले नेपाली क्रिकेटप्रेमीमा उत्साह थपेको विराटनगर किङ्सले जनाएको छ।

ऐतिहासिक सफलताका लागि विराटनगर किङ्सले राष्ट्रिय टोलीका खेलाडी, प्रशिक्षक तथा सहयोगी स्टाफलाई बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेको छ।