कास्की । पशुमा लाग्ने महामारीजन्य रोगको सङ्क्रमण नियन्त्रण तथा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कास्कीमा सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ ।
नियमित खोप अभियानले खोरेत, पिपिआर, लम्पी स्किन र रेबिजलगायत रोगको जोखिम घटाउन सहयोग पुगेको पशु सेवा कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले पशुजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि विसं २०७६ देखि जिल्लामा पूर्ण खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका पाँचवटै स्थानीय तहका ३२ हजार ७९४ पशुपालक घरपरिवारलाई समेटेर दुई लाख १२ हजार ४७० मात्रा खोप लगाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा. ग्रिष्म न्यौपानेका अनुसार नियमित खोप कार्यक्रमले पशुमा महामारीजन्य रोग लाग्ने र फैलिने जोखिम घटाएको छ । यसले पशुको स्वास्थ्य संरक्षण, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुका साथै पशुबाट मानिसमा सर्न सक्ने जुनोटिक रोग नियन्त्रणमा समेत सहयोग पुर्याएको छ ।
“पूर्ण खोप कार्यक्रम सञ्चालन भएपछि विगतको तुलनामा खोरेतलगायत महामारीजन्य रोगको सङ्क्रमणमा उल्लेख्य कमी आएको छ । पशुमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन समयमै खोप लगाउनु प्रभावकारी हुन्छ,” डा. न्यौपानेले भने ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी पिपिआर रोगविरुद्ध ८७ हजार ४७२ मात्रा खोप लगाइएको थियो । त्यस्तै, खोरेतविरुद्ध ८० हजार ६२६, लम्पी स्किनविरुद्ध ३२ हजार ३२७, रेबिजविरुद्ध आठ हजार ४२९, क्लासिकल स्वाइन फिभरविरुद्ध दुई हजार ५३ र डिएचपिपिएलविरुद्ध एक हजार ४०० मात्रा खोप लगाइएको थियो ।
पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि गत आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा एक करोड ३४ लाख ९२ हजार ७५० रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लाभर १७२ जना खोपकर्ता परिचालन गरिएको थियो ।
डा. न्यौपानेका अनुसार खोप अभियानले पशुपालकलाई रोग लागेपछि उपचार खोज्ने प्रवृत्तिबाट रोगको रोकथामका लागि पूर्वतयारी गर्ने अभ्यासतर्फ प्रोत्साहित गरेको छ ।
पशुमा महामारीजन्य रोग फैलिँदा पशुधनको क्षति हुनुका साथै दूध, मासु तथा अन्य उत्पादन घट्ने र किसानले आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले नियमित खोप, रोगको निगरानी र समयमै उपचारलाई प्राथमिकता दिन आवश्यक रहेको पशु विकास अधिकृत सहदेव पौडेलले बताए ।
पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिम न्यूनीकरण गर्न पनि पशु स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । नियमित खोप र प्रभावकारी रोग निगरानीले पशुपालन क्षेत्रलाई सुरक्षित, उत्पादनमुखी र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




































