काठमाडौँ । दसैँ बिदापछि खुलेको नेपाली सुनचाँदी बजारमा पहिलो कारोबार दिनमै सुनको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको हो।
महासंघले आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ तोकेको छ। यसअघि दसैँ बिदाअघि असोज ३० गते सुन प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको भाउ आइतबार १९५ रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
दसैँ बिदापछिको पहिलो कारोबारमै सुन र चाँदी दुवैको मूल्य घटेपछि नेपाली बजारमा बहुमूल्य धातुको भाउमा गिरावट देखिएको छ।




































