मौसम अलर्ट

हिमआँधी, हिमपहिरोदेखि बाढीको जोखिम

काठमाडौं । यस साताको अन्त्यमा देशका धेरै स्थानमा वर्षा/हिमपातको पूर्वानुमान छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी एवं हिमपहिरोको पनि जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस अवधिमा उच्च हिमाली भूभागमा नजान र गएको भए सुरक्षित स्थानमा रहन महाशाखाले सुझाव दिएको छ । “उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनुहुन तथा पर्यटकहरू उच्च हिमाली भूभागमा नजानुहुन, गएको भए पनि उक्त अवधिमा सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ । हाल बंगालको खाडीमा रहेको ‘अनर्ब’ नामक चक्रवात थप शक्तिशाली बन्ने पूर्वानुमान छ । सोही क्षेत्रमा त्यो बिस्तारै अति शक्तिशाली चक्रवातमा विकास हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । “त्यसपश्चात् उक्त चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कार्तिक ११ (२८ अक्टोबर २०२६)मा भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानमनजिक तटीय क्षेत्रबाट अति शक्तिशाली चक्रवातका रूपमा जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

उक्त प्रणालीको प्रभावले बिहीबारदेखि शनिबार (कात्तिक १२–१४)सम्म नेपालका धेरै स्थानमा वर्षा/हिमपात हुन सक्ने पूर्वानुमान गरिएको हो । “हालसम्मको मौसम विश्लेषणअनुसार कार्तिक १२ गते बिहीबारबाट सुरु भई विशेष गरी शुक्रबार र शनिबार कोसी, वाग्मती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशसम्मको क्षेत्र बढी प्रभावित हुने सम्भावना रहेको छ,” महाशाखाले भनेको छ । त्यसको प्रभावले शुक्रबारदेखि शनिबार (कात्तिक १३–१४)सम्म कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित मध्यमसम्मको र थोरै ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ,” महाशाखाले भनेको छ, “साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।” महाशाखाले हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा र धादिङका हिमाली भूभाग, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका निम्ति ‘रेड अलर्ट’ जारी गरेको छ ।

सोही कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारभन्दा अघि नै गर्न महाशाखाले सुझाव दिएको छ । आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न महाशाखाले सर्वसाधारण एवं सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । “चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन तथा पूर्वतयारी गर्नुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” महाशाखाले भनेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।