काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले घुस नखुवाईकन नागरिकको कामै नबन्ने अवस्था रहेको बताएका छन् । दीगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीले घुस खान्न र खान दिन्न भने पनिआम मानिस घुस दिँदा हैरान भइरहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलेले ‘म पनि घुस खान्न, अरूलाई पनि खान दिन्न’ भने पनि नागरिकले घुस नखुवाइकन सजिलैसँग सरकारी सेवा नपाएको मन्त्री गुरुङको भनाइ छ । देशमा भ्रष्टाचार र घुस दिनुको पीडा नागरिकलाई मात्रै थाहा भएको र यो पीडा प्रधानमन्त्रीलाई थाहा नभएको सञ्चारमन्त्री गुरुङले बताए।
‘घुस दिनुको पीडा जनतालाई थाहा छ नि, ठूला मान्छेलाई कसरी थाहा हुन्छ, मैले घुुस खाएँ भनेर भन्न कसैले आउँदैन । जनताले मैले उसलाई घुस दिए भन्नलाई प्रधानमन्त्रीकहाँ पहुँच नै पुगेको छैन । सामान्य मान्छेले प्रधानमन्त्रीलाई भेट्नै पाउँदैन,’ उनले भने ।
प्रधानमन्त्री जिल्लातिर गएको बेला पनि कार्यकर्ताले घेरेर राख्ने र नागरिकले समस्या राख्नै नपाउने समस्या रहेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।




































