काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनले आज आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । निर्माण सम्पन्न भएर परीक्षणका रूपमा सञ्चालन हुँदै आएको सुरुङमार्गमा सडक बोर्ड नेपालको निर्णयअनुसार शुल्क संकलन सुरु गर्न लागिएको हो ।
सवारीसाधनको प्रकार र आवतजावतको दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ । सडक बोर्डले कार्यकारी समितिको १२ असोजको निर्णय तथा २६ चैत २०८२ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा टोल शुल्क उठाउने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र काठमाडौं उपत्यकाबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी मिनी बस, मिनी ट्रक र टिपरले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । बस तथा ट्रकका लागि काठमाडौं भित्रिने क्रममा २६० रुपैयाँ र उपत्यकाबाट बाहिरिने क्रममा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ठूला ट्रक तथा हेभी सवारीसाधन (लरी) ले भने काठमाडौं भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ । यसरी सवारीसाधनको आकार, प्रकृति र सुरुङमार्ग प्रयोग गर्ने दिशाका आधारमा शुल्कको दर निर्धारण गरिएको हो ।
निर्माण सुरु भएको करिब ८० महिनापछि गत ११ साउनमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको थियो । लामो समयको निर्माणपछि सञ्चालनमा आएको सुरुङमार्गलाई सुरुमा चरणबद्ध रूपमा परीक्षणका लागि सवारीसाधन सञ्चालन गर्न दिइएको थियो । पहिलो चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्र प्रवेश अनुमति दिइएको थियो । त्यसपछि दोस्रो चरणमा ८ भदौदेखि साना सवारीसाधन र नौ सिट क्षमताका सवारीलाई सुरुङ प्रयोग गर्न दिइएको थियो । तेस्रो चरणमा काठमाडौं उपत्यकाबाट बाहिरिने साना माइक्रो बस तथा मिनी बसलाई समेत प्रवेश अनुमति दिने तयारी गरिएको थियो ।
तर, यसैबीच १७ भदौमा नागढुंगा ओरालोमा सडक भासिएपछि त्यस क्षेत्रमा सवारी आवागमन प्रभावित भयो । सडक भासिएर नियमित आवागमन अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनको सहज आवतजावतका लागि सुरुङमार्ग सबै प्रकारका सवारीसाधनका लागि खुला गरिएको थियो । त्यसपछि आकस्मिक व्यवस्थापनका रूपमा सुरुङमार्ग प्रयोग गर्न दिइएको थियो । सडक भासिएको अवस्थालाई ध्यानमा राख्दै परीक्षण सञ्चालनसँगै सबै सवारीसाधनलाई निःशुल्क प्रवेश दिइएको थियो । यही व्यवस्थाअनुसार शनिबार १४ कात्तिकसम्म सुरुङमार्गबाट सवारीसाधन निःशुल्क सञ्चालन भइरहेका थिए । अब भने सडक बोर्डको निर्णय कार्यान्वयन गर्दै नियमित रूपमा टोल शुल्क संकलन गर्न लागिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुमा सवारीसाधनलाई चरणबद्ध रूपमा परीक्षणका लागि प्रवेश दिइएको थियो । तर, नागढुंगा ओरालोमा सडक भासिएपछि आकस्मिक रूपमा सबै प्रकारका सवारीसाधनका लागि सुरुङमार्ग खुला गर्नुपरेको थियो । त्यसैले केही समय परीक्षण र आकस्मिक व्यवस्थापनलाई सँगसँगै अघि बढाइएको उनले बताए । उनका अनुसार अब सडक बोर्ड नेपालबाट भएको निर्णयअनुसार शुल्क संकलनको व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो । तत्कालका लागि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट नगद र क्यूआर कोडमार्फत शुल्क संकलन गरिनेछ । यात्रुले नगद तिर्न सक्नेछन् भने डिजिटल माध्यमबाट पनि भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
निर्देशक नेपालले अहिलेको भुक्तानी व्यवस्था अस्थायी प्रकृतिको रहेको बताए । भविष्यमा सवारीसाधनलाई लामो समयसम्म लाइनमा बस्न नपर्ने गरी स्वचालित प्रणालीबाट शुल्क भुक्तानी गर्ने व्यवस्था गरिने उनको भनाइ छ । त्यसका लागि शुल्क तिर्न मिल्ने अटोमेटिक कार्डको व्यवस्था गर्ने तयारी भइरहेको छ । यस्तो प्रणाली लागू भएपछि सुरुङमार्ग प्रवेश गर्ने र बाहिरिने सवारीसाधनको शुल्क संकलन थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
सुरुङमार्ग सञ्चालनका लागि निश्चित गति सीमा पनि तोकिएको छ । सुरुङभित्र प्रवेश गर्ने सबै सवारीसाधनले प्रतिघण्टा ४० किलोमिटरको गतिमा चलाउनुपर्ने व्यवस्था गरिएको छ । सुरुङभित्र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले गति सीमा निर्धारण गरिएको हो । साथै सुरुङभित्र लेन अनुशासन कायम गर्नुपर्नेछ । लेन मिचेर सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले ट्राफिक प्रहरीले सीसी क्यामेरामार्फत निगरानी गर्दै आएको छ । नियम उल्लंघन गर्ने सवारीसाधनलाई निगरानीका आधारमा कारबाहीसमेत गरिँदै आएको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं र धादिङबीचको सडक यात्रामा उल्लेख्य समय बचत हुने अपेक्षा गरिएको छ । सुरुङमार्ग निर्माण हुनुअघि धादिङबाट काठमाडौं प्रवेश गर्दा नागढुंगा उकालोमा सवारी चापका कारण लामो समयसम्म जाममा बस्नुपर्ने अवस्था थियो । सामान्य अवस्थामा पनि सवारीसाधनको चापअनुसार साना सवारीलाई करिब १५ मिनेट र ठूला सवारीलाई ३५ मिनेटसम्म समय लाग्ने गरेको थियो । तर, सुरुङमार्ग प्रयोग गर्दा धादिङको सिस्नेखोलादेखि काठमाडौंको बलम्बुस्थित किसिपिडीसम्म करिब सात मिनेटमै पुग्न सकिने आयोजनाको भनाइ छ ।
सुरुङभित्र हावा आवतजावत र प्रदूषण नियन्त्रणका लागि १५ वटा जेट फ्यान जडान गरिएको छ । मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २.५५७ किलोमिटर रहेको छ । मुख्य तथा आपत्कालीन सुरुङलाई जोड्न प्रत्येक ३७५ मिटरको दूरीमा सातवटा क्रस प्यासेज निर्माण गरिएका छन् । कुनै दुर्घटना वा आपत्कालीन अवस्था उत्पन्न भएमा यात्रु तथा सुरक्षाकर्मीलाई मुख्य सुरुङबाट आपत्कालीन सुरुङतर्फ जान सहज होस् भन्ने उद्देश्यले क्रस प्यासेज निर्माण गरिएको हो ।
यद्यपि, सुरुङमार्ग सबै प्रकारका सवारीसाधनका लागि खुला गरिएको छैन । पैदलयात्री, मोटरसाइकल तथा अन्य दुईपांग्रे सवारी, तीनपांग्रे सवारी र गैरमोटर चालित सवारीसाधनलाई सुरुङभित्र प्रवेश निषेध गरिएको छ । त्यसैगरी डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन तथा विस्फोटक पदार्थ ओसारपसार गर्ने सवारीलाई पनि सुरुङ प्रयोग गर्न रोक लगाइएको छ । सुरुङभित्र आगलागी वा विस्फोटको जोखिम कम गर्न यस्तो व्यवस्था गरिएको हो । सुरुङमार्ग चौबीसै घण्टा सञ्चालनमा रहनेछ । यसको व्यवस्थापन, सञ्चालन र रेखदेखको जिम्मेवारी युसिन–एआरटी जेभीले पाएको छ । यो संयुक्त उपक्रममा चिनियाँ कम्पनी युसिन र नेपाली कम्पनी एआरटी सहभागी छन् ।
सुरुङ सञ्चालन तथा व्यवस्थापनका लागि ६४ जना जनशक्ति परिचालन गरी टोल शुल्क संकलन गरिनेछ । समग्र सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनमा भने १४६ जना कर्मचारी रहनेछन् । सम्झौताअनुसार सेवा प्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङमार्गको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ । यस अवधिमा सुरुङको नियमित मर्मतसम्भार, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल शुल्क संकलन तथा सुरुङसँग जोडिएका पहुँच सडकको रेखदेखसमेत कम्पनीकै जिम्मेवारीमा रहनेछ । काठमाडौं र धादिङ दुवैतर्फका पहुँच सडकको अवस्था राम्रो राख्ने, सवारी आवागमनलाई व्यवस्थित गर्ने तथा सुरुङभित्र कुनै समस्या आए तत्काल व्यवस्थापन गर्ने जिम्मेवारी पनि कम्पनीलाई दिइएको छ । दैनिक रूपमा संकलन भएको टोल शुल्क सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सुरुङमार्ग सबै सवारीसाधनका लागि खुला गरिएपछि यसको भित्री वातावरणमा प्रदूषण बढेको गुनासोसमेत आउन थालेको छ । विशेषगरी ठूला मालवाहक सवारीसाधनबाट निस्कने धुवाँका कारण सुरुङभित्र प्रदूषण बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । सुरुङभित्र सवारीसाधनको आवागमन बढेसँगै भेन्टिलेसन प्रणाली र प्रदूषण नियन्त्रणको विषय पनि चुनौतीका रूपमा देखिन थालेको छ । आयोजनाका निर्देशक नेपालले ठूला मालवाहक सवारीसाधनबाट बढी धुवाँ निस्कने गरेको गुनासो आएको बताए । प्रदूषण नियन्त्रणका लागि यातायात व्यवस्था विभागलाई सवारीसाधनको प्रदूषण परीक्षण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको उनले जानकारी दिए । विभागसँग समन्वय गरेर काठमाडौं प्रवेश गर्ने सामान बोकेका
सवारीसाधनलाई सुरुङमा प्रवेश गर्नुअघि नै बाहिर प्रदूषण परीक्षण गर्ने संयन्त्र राख्ने तयारी भइरहेको उनको भनाइ छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा चन्द्रागिरि नगरपालिका–२ स्थित टुटीपाखामा शिलान्यास गरेपछि सुरु भएको थियो । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोभिड–१९ महामारी, स्थानीयस्तरका अवरोध तथा अन्य प्राविधिक र व्यवस्थापकीय कारणले आयोजना सम्पन्न हुन लामो समय लागेको थियो । निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको थियो ।
निर्माण कम्पनीले जेठ २०८३ मा आयोजनालाई सुरुङमार्गको निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको थियो । सम्झौताअनुसार हस्तान्तरण भएको एक वर्षसम्म सुरुङमा कुनै प्राविधिक समस्या देखिएमा निर्माण कम्पनी हाज्मा एन्डोले नै मर्मतसम्भार गर्नुपर्ने व्यवस्था छ । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा उकालोको ट्राफिक चाप घट्ने, यात्रा समय छोटिने र काठमाडौं प्रवेश तथा बाहिरिने सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ । अब शुल्क संकलन सुरु भएसँगै सुरुङमार्गको नियमित सञ्चालन, मर्मतसम्भार, सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउनु सम्बन्धित निकायका लागि थप महत्वपूर्ण हुनेछ । साथै तोकिएको गति सीमा, लेन अनुशासन, प्रदूषण नियन्त्रण र आपत्कालीन उद्धार व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्रै सुरुङमार्गको दीर्घकालीन उपयोगिता र सुरक्षित सञ्चालन सुनिश्चित हुने देखिन्छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































