सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत संकलन

काठमाडौं । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत संकलन गरी त्यसका आधारमा जल व्यवस्थापन गर्न थालेको छ ।

आयोजनाले पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखाबाट सिँचाइ सुविधा लिइरहेका तथा भविष्यमा लिने किसानको लगत संकलन गरिरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए । सिँचाइ सेवा प्राप्त गर्न जल उपभोक्ता सदस्यता अनिवार्य हुने भएकाले किसानको लगत संकलन अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । स्थानीय जनप्रतिनिधि र किसानसँग छलफल गरेर लगत संकलन गरिएको हो । “सिँचाइ सेवा लिन जल उपभोक्ता सदस्यता अनिवार्य छ । यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ”, निर्देशक आचार्यले भने, “लगतका आधारमा आयोजनाले सिँचाइ विस्तार र आवश्यक पूर्वाधार निर्माणसहित जल व्यवस्थापनको काम गर्नेछ ।”पश्चिमी मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा र पर्सेनीपुर शाखा तथा पूर्वी मूल नहरअन्तर्गत राजकुलो र फत्तेपुर शाखाका उपभोक्ता किसानसँग लगत संकलनका लागि छलफल गरिएको उनले बताए ।
आयोजनाको आगामी योजना निर्माणमा सहजता ल्याउन सिञ्चित क्षेत्रका किसानको लगत संकलन गरिएको पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले बताए । उनका अनुसार पूर्वी मूल नहरअन्तर्गतका किसानको लगत संकलन अन्तिम चरणमा पुगेको छ । आयोजना निर्देशक आचार्यका अनुसार आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ । हालसम्म पूर्वाधार निर्माणमा करिब २४ अर्ब खर्च भएको छ । मर्मतसम्भारको काम नियमित रूपमा भइरहे पनि निर्माणको बाँकी काम ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए ।

आर्थिक वर्ष २०६२/६३ मा निर्माण सुरु भएको आयोजनाअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ । आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको आयोजनाको पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । हालसम्म २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले जानकारी दिएका छन् ।