काठमाडौं । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल अघि बढाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा नेपालका थप ६ हिमाल समावेश गराउन अन्तर्राष्ट्रियस्तरमा प्रस्ताव अघि बढाइएको जानकारी दिएका हुन् ।
नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को साधारणसभामा नेपालले उक्त प्रस्ताव प्रस्तुत गरेको हो । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको महासंघको साधारणसभा शनिबार सम्पन्न हुँदैछ ।
सम्मेलनमा सहभागी विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, पर्वतारोहण विज्ञ तथा सरोकारवालामाझ नेपालले आफ्ना हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने विषय उठाएको हो ।मन्त्री पौडेलका अनुसार नेपालले यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टाछुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा सूचीकृत गर्न प्रस्ताव गरेको छ ।
प्रस्तावित हिमालमध्ये यालुङ काङको उचाइ आठ हजार ५०५ मिटर रहेको छ । त्यसैगरी कञ्चनजङ्घा दक्षिण आठ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्य आठ हजार ४७३ मिटर, ल्होत्से मध्य आठ हजार ४१० मिटर, ल्होत्से शार आठ हजार ४०० मिटर र यालुङ काङ पश्चिम आठ हजार ७७ मिटर अग्ला छन् ।
नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ । यसबाट नेपालमा रहेका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या पनि आठबाट बढेर १४ पुग्नेछ । त्यसपछि विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको तथ्य अन्तर्राष्ट्रिय रूपमा स्थापित हुनेछ ।
नेपालले प्रस्तुत गरेको प्रस्ताव केवल हिमालको संख्या थप गर्ने विषयमा मात्र सीमित नभई देशको पर्वतीय पहिचान र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनसँग समेत जोडिएको मन्त्री पौडेलको भनाइ छ । प्रस्तावित हिमालले छुट्टै अन्तर्राष्ट्रिय पहिचान पाएमा नेपालका हिमाली क्षेत्रको चर्चा र आकर्षण थप बढ्ने सरकारको अपेक्षा छ । मन्त्री पौडेलले यस पहलबाट पर्वतारोहण क्षेत्रको विस्तारसँगै साहसिक पर्यटन, हिमाली अनुसन्धान तथा पर्यटन प्रवद्र्धनका नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरे ।
नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न पनि यसले महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ । ‘नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने विश्वास लिएका छौं,’ मन्त्री पौडेलले भने ।
नेपाल पर्वतारोहण संघको आतिथ्यमा आयोजित यूआईएएको साधारणसभालाई नेपालले आफ्नो पर्वतीय पर्यटन र हिमाली सम्पदाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अवसरका रूपमा लिएको छ । विश्वका विभिन्न मुलुकका पर्वतारोहणसम्बन्धी संस्थाका प्रतिनिधि तथा विज्ञको सहभागिता रहेको सम्मेलनमा नेपालको प्रस्तावले विशेष महत्व पाएको छ ।
नेपालले यसअघि पनि यूआईएको साधारणसभा आयोजना गरिसकेको छ । सन् १९८२ र २०११ मा नेपालमा महासंघको साधारणसभा सम्पन्न भएको थियो । यसपटकको सम्मेलनमा थप ६ हिमाललाई अन्तर्राष्ट्रिय सूचीमा समावेश गराउने प्रस्ताव अघि सारेर नेपालले आफ्नो हिमाली सम्पदाको पहिचान विस्तार गर्ने प्रयास गरेको हो ।
प्रस्तावित सबै हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपाल विश्वकै सबैभन्दा बढी आठ हजार मिटरभन्दा अग्ला हिमाल भएको मुलुकका रूपमा थप स्थापित हुनेछ । यसले अन्तर्राष्ट्रिय पर्वतारोहीलाई नयाँ गन्तव्यतर्फ आकर्षित गर्नुका साथै हिमाली क्षेत्रको आर्थिक गतिविधि, पर्यटन व्यवसाय र स्थानीय समुदायको आयआर्जनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































