युएईलाई हराउँदै नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा

काठमाडौं । नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गरेको हो । युएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा ग-यो । नेपालका लागि कप्तान इन्दु बर्माले कप्तानी इनिन्स खेलिन् ।

उनले २८ बलमा अविजित ३० रन बनाइन् । रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रनको योगदान दिइन् । ६४ रनमा ४ विकेट गएको नेपालका लागि रुविना र इन्दुले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिततर्फ दोहो-याएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको थियो । नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।

यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाइन् ।

नेपालले अब सुपर-३ को दोस्रो खेलमा मंगलबार थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पनि युएईलाई हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ ।