नेपालका गाउँगाउँबाट लाखौँ युवाहरू भविष्यको खोजमा वैदेशिक रोजगारीका लागि मरुभूमिको तातो हावामा पसिना बगाउन बाध्य छन् । तर अर्काको देशमा रातदिन मेहनत गरेर फर्केका युवाहरूले स्वदेशमै कृषि तथा उद्यमशीलताको बाटो रोजेर सफलता हासिल गर्दै नेपाली ग्रामीण अर्थतन्त्रमा योगदान गरिरहेका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताको व्यावसायिक च्याउखेतीको सफलता यसैको एउटा उत्कृष्ट नमूना हो । ७ वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका गुप्ताले सुरुमा थोरै लगानीबाट सुरु गरेको च्याउखेती अहिले वार्षिक ३० टनभन्दा बढी उत्पादन गर्ने र खर्च कटाएर १५ लाख रुपैयाँभन्दा बढी खुद आम्दानी गर्ने सफल व्यवसायमा परिणत भएको छ । गुप्ताको उद्यम एक व्यक्तिको सफलता मात्र होइन, बरु कृषिप्रधान नेपालमा साना तथा मझौला उद्यमले खोलेको उद्यमशीलताको ढोका पनि हो ।
वैदेशिक रोजगारीबाट फर्किने अधिकांश युवाहरूले कमाएको पुँजी घरजग्गा खरिद वा उपभोग्य वस्तुमा खर्च गर्ने प्रवृत्ति हाबी भइरहेका बेला रोशनप्रसाद गुप्ता र उनका भाइ भरतले त्यो रकमलाई स्वदेशी माटोमै लगानी गरे । सुरुवाती चरणमा ५० हजार रुपैयाँ लगानी गर्दा घाटा व्यहोर्नुपरे पनि निरन्तरको मेहनत, प्राविधिक सुधार र अनुभवले उनीहरूलाई आज ६ वटा टनेलमा दैनिक २०० किलोभन्दा बढी च्याउ उत्पादन गर्ने स्थानमा पुर्याएको छ । यसले के स्पष्ट पार्छ भने उद्यमशीलतामा सफलता रातारात मिल्ने विषय होइन, यसका लागि धैर्यता, सिकाइ र अठोटको आवश्यकता पर्छ ।
आज उनको फार्मबाट धरान, इटहरी, इनरुवा, गाईघाट र राजविराजसम्म च्याउ बिक्री भइरहेको छ र ६ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ‘आफैँ उद्यमी बनेर अरूलाई पनि रोजगारी दिन सकिन्छ’ भन्ने सन्देश अनुकरणीय छ ।
नेपालमा कृषि क्षेत्रलाई परम्परागत निर्वाहमुखी परिधिबाट मुक्त गरी व्यावसायिक, आधुनिक र विषादीरहित बनाउन सकियो भने थोरै क्षेत्रफलबाट पनि उच्च प्रतिफल लिन सकिन्छ भन्ने कुरा गुप्ताको अनुभवले देखाउँछ । ६ कट्ठा क्षेत्रफलमा टनेल निर्माण गरेर वर्षको १० महिनासम्म उत्पादन लिन सकिने च्याउखेती साना किसान र युवा उद्यमीका लागि अत्यन्तै उपयुक्त विकल्प हो । पराल, चुन, बाँस र प्लास्टिकजस्ता स्थानीय रूपमा पाइने सामग्रीको प्रयोग गरी विषादीरहित उत्पादन गर्दा बजारमा यसको माग निरन्तर बढ्दो छ । धरान र इटहरीजस्ता नजिकका सहरी बजारहरूले कृषि उपजको बजारीकरणमा पुर्याएको योगदानले के देखाउँछ भने उत्पादन र बजारबिचको सही समन्वय हुन सके किसानले मूल्य नपाएर सडकमा तरकारी फाल्नुपर्ने नियति व्यहोर्नुपर्दैन ।
यस सफलताको अर्को महत्वपूर्ण पाटो स्थानीय र प्रादेशिक सरकारको प्रोत्साहन पनि हो । कृषि ज्ञान केन्द्र सुनसरी र बराहक्षेत्र नगरपालिकाबाट प्राप्त अनुदान, ५० प्रतिशत सहुलियतमा प्राप्त मिनी ट्रयाक्टर, सफारी तथा टनेल निर्माणमा सहयोगले व्यवसायीको मनोबल उच्च बनाएको देखिन्छ । जब राज्यका तीनै तहका सरकारले वास्तविक र मेहेनती किसानको पहिचान गरी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउँछन्, तब मात्र कृषिमा आत्मनिर्भरता हासिल हुन सक्छ । यद्यपि अनुदान पहुँचवालाको पोल्टोमा पर्ने र वास्तविक किसानसम्म नपुग्ने विकृति सर्वत्र देखिइरहेका बेला मधुवनको दृष्टान्त भने नीति–निर्माताहरूका लागि पनि सकारात्मक पाठ हो ।
नेपालमा बेरोजगारी र युवा पलायनको विकराल समस्यालाई सम्बोधन गर्ने सबैभन्दा भरपर्दो माध्यम कृषि उद्यमशीलता नै हो । मरुभूमिमा पसिना बगाउनुको साटो आफ्नै गाउँघरमा थोरै लगानी र उच्च प्रविधिको प्रयोग गरी च्याउखेलीजस्ता उच्च मूल्य जाने उपजको खेती गर्न सके परिवारसँगै बसेर स्वाभिमानको जिन्दगी बाँच्न सकिन्छ । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सीप, अनुभव र पुँजीलाई एकीकृत गर्दै उनीहरूलाई सहुलियतपूर्ण ऋण, प्रविधि हस्तान्तरण र बजार ग्यारेन्टीको प्रबन्ध मिलाउनुपर्छ । गुप्ताले देखाएको बाटोलाई पछ्याउँदै धेरैभन्दा धेरै युवाहरू कृषि उद्यममा जोडिन सके मात्रै मुलुकको अर्थतन्त्र सुदृढ हुनेछ र राष्ट्रिय आत्मनिर्भरताको सपना साकार हुने देखिन्छ ।
२०८३ कात्तिक १८ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































