डोल्पा कारागारबाट भागेका ८ मध्ये ४ कैदी पक्राउ

कर्णाली । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका ४ जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङ गाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा सोही नगरपालिका–७ घर भएका जबर्जस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका २९ वर्षीय कालीप्रसाद रोकाय र नलगाड नगरपालिका–९ जाजरकोट घर भई नकबजनी चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय तोकिएका १९ वर्षीय कैलाश भन्ने कपिल परियारलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार मंगलबार आठबिसकोट नगरपालिका १० रुकुमपश्चिम घर भएका जबर्जस्ती करणी मुद्दाका कैदी ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ सल्यान घर भएका जबर्जस्ती करणी मुद्दाका कैदी २८ वर्षीय रेशम राना पक्राउ परेका थिए ।
चेकजाँचको क्रममा भाग्न खोज्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता राठौरले बताए । यही कात्तिक १४ गते शुक्रबार बिहान ६ः०० बजे डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी भागेका थिए । भागेका अन्य कैदीबन्दीको खोजी कार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।