कांग्रेसले सरकारलाई भन्यो : भयको शासन बन्द गर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारलाई भय र भ्रमको शासन बन्द गर्न चेतावनी दिएको छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रतिपक्षको प्रश्न र आवाजलाई दबाबमा राख्ने सोच र षडयन्त्रका साथ कांग्रेसविरुद्ध भ्रम सिर्जना गरिएको बताए । कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनलाई प्रचलित कानुन बमोजिम निर्वाचन आयोगबाट अद्यावधिक भइ सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भइ १५औँ महाधिवेशन सम्पन्न भइसकेकोमा शृंखलावद्ध षडयन्त्र र सुनियोजित हतकण्डालाई पूर्ण रूपमा खारेज गरिएको उनको भनाइ छ ।

‘कांग्रेसका आम सदस्य र लाखौं शुभेच्छुक सबैको मानमर्दन गर्न खोज्ने यस्तो दुष्प्रचारले आम सदस्य र शुभेच्छुको विश्वासलाई आघात पुर्‍याउन सक्दैन,’ महामन्त्री पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आधारहीन तथा कपोलकल्पित विषयहरू, नेपाली कांग्रेस र कांग्रेसको नेतृत्व विरुद्ध रचेको कृतिम भाष्य प्रतिपक्षको प्रश्न र आवाजलाई दबाबमा राख्न सकिन्छ कि भन्ने सोच र षडयन्त्रका साथ निर्मित भएका हुन भन्नेमा हामी प्रष्ट छौं । यस्ता षडयन्त्र र सुनियोजित हतकण्डालाई नेपाली कांग्रेस पूर्ण रूपमा खारेज गर्दछ ।’

कांग्रेसको वैधानिकताका सवालमा पार्टी र नेतृत्वविरुद्ध लगाइएका आरोप, तथाकथित अडिओ बयान र प्रचारहरू निराधार, कपोलकल्पित र नियोजित रहेको पौडेलको भनाइ छ । ‘यस्ता षडयन्त्रका पछाडिको उद्देश्य, बदनियत र संलग्न पात्रहरू समयक्रममा थप उजागर हुँदै जानेछन । कांग्रेस आफूमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न र जस्तोसुकै छानवीनका लागि तयार छ, षडयन्त्र चिर्न सक्षम छ,’ उनले भने, ‘त्यसैले यस प्रसंगमा जति पनि घटना घटेका छन्, सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न नेपाली कांग्रेस माग गर्दछ ।’

इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम लिएर राज्यका निकायहरू दुरुपयोग भइरहेका तथ्यहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले ‘राज्य संरक्षित गिरोह’कै शैलीमा फोन नियन्त्रणमा लिने प्रमाण नष्ट गर्ने काम गरेको पौडेलको आरोप छ ।  शासकको स्वार्थका लागि शस्त्रीकरण हुन्छन् भन्ने कुराको पुष्टी गरेको भन्दै प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय सम्बन्ध व्यक्तिले अनुसन्धानमा छेडखानी गरेको उनले बताए । प्रहरी महानिरिक्षक हटाउनु यसकै पछिल्लो एउटा कडी भन्दै शासन संचालनको यो शैली लोकतान्त्रिक व्यवस्था र संविधानप्रदत्त नागरिक अधिकारमाथि नै गम्भीर षडयन्त्र र चुनौती भएको कांग्रेसले भनेको छ ।

सेलेक्टिभ र निर्देशनात्मक अनुसन्धान आफ्ना गल्तिको ढाकछोप गर्ने, प्रश्न गर्नेलाई तर्साउने र प्रतिपक्षलाई कमजोर बनाउने कलुषित मनसायबाट भइरहेको कांग्रेसको ठहर छ । कांग्रेस न्यायपालिकाको सुदृढीकरण र राज्यका संस्थाको सवलीकरणको पक्षमा पनि उत्तिकै दृढ रहेको भन्दै पछिल्ला दिनमा सरकार पूर्णतः स्वेच्छाचारी र निरंकुश बनेको पौडेलले बताए । यस्ता असंवैधानिक कदमविरुद्ध उठ्ने नागरिक र प्रतिपक्षका आवाज थुन्न उद्धत देखिएको भन्दै अपारदर्शी निर्णय, पत्रकारमाथि धरपकड र संवैधानिक निकायमाथिको नियन्त्रणले सरकारको अलोकतान्त्रिक चरित्र उजागर गरेको उनले बताए । पार्टीलाई ‘डिफेम’ गर्ने बदनियतका साथ आएका षडयन्त्रलाई कांग्रेसले राजनीतिक र कानुनी दुवै ढङ्गले सामना गर्ने उनले बताए । कांग्रेसले यसका लागि उपसभापति पुष्पा भुषालको नेतृत्वमा आवश्यक कानुनी परामर्श प्रक्रिया अगाडि बढाउने उनले बताए । कांग्रेस संसदीय दलको तर्फबाट नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा संसदमा आवश्यक पहलकदमी लिने पौडेलले बताए ।

‘१५औँ महाधिवेशनमार्फत संकल्प गरेझै जनसरोकारका मुद्दामा जिम्मेवार र रचनात्मक सहयोगका लागि कांग्रेस सधैँ तयार छ । अतः राज्य–नियन्त्रित अफवाह फैलाएर भय र भ्रम सिर्जना गरी सत्ता चलाउने धन्दा बन्द गरी जनताका मूल मुद्दामा तत्काल केन्द्रित हुन कांग्रेस सरकारलाई आग्रह गर्दछ,’ पौडेलले भने । १५औं महाधिवेशनको स्पष्ट नीति अनुसार ‘प्रतिपक्षीय निगरानी’ मार्फत सरकारका गलत क्रियाकलापमा प्रश्न गर्दा अत्तालिएको उनको भनाइ छ । सरकार संरक्षित गिरोहले आफ्नो गल्ती ढाकछोप र विषयान्तर गर्न बुनेका षड्यन्त्रमा नपरी जनसरोकार, विधिको शासन र नागरिक स्वतन्त्रताका पक्षमा दृढ रहन सम्पूर्ण पार्टी पंक्तिलाई कांग्रेसले अपिल गरेको छ । प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।