काठमाडौं । मेलम्ची खानेपानी तीन दिन(शुक्रबार)देखि ठप्प छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति,राजनीतिक दल लगायतले विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै गत शुक्रबारदेखि पानी पथान्तरण बन्द गरेका हुन् ।
उनीहरूले खानेपानी बन्द गरेपछि खानेपानी मन्त्रालय र संघर्ष समितिबीच पटक–पटक छलफल भएको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार गत शुक्रबार र शनिबार छलफल भयो । हालसम्म सहमति जुट्न सकेको छैन । मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्र पन्त भन्छन्,‘छलफल भए पनि सहमति नै हुन सकेको छैन,जसकारण मेलम्चीको पानी ठप्प छ ।’ आइतबारको छलफल पनि निष्कर्षमा पुगे ।
२०८१ असोजमा संघर्ष समिति र खानेपानी मन्त्रालयबीच बाढीबाट प्रभावितहरूको पुनःस्थापना, सडक, पुल तथा भौतिक संरचनाको निर्माण,पानीको महसुलको २५ प्रतिशत रकम हेलम्बुको विकासमा खर्च गर्नुपर्ने लगायत लिखित सहमति भएको थियो । तर,हालसम्म ती लिखित सहमति कार्यान्वयनमा नआएको समितिले जनाएको छ। मेसन् २००१ मा सुरू भएको मेलम्ची खानेपानी आयोजना दुई दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो ।
तर,२०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनासँगै स्थानीयको बसोबास स्थानमा ठूलो क्षति पुगेको थियो । संघर्ष समितिका अनुसार बढी आयोजनाको तल्लो तटीय क्षेत्रका जीविकोपार्जनसँग जोडिएका हजारौं रोपनी खेतीयोग्य फाँट, विद्यालय, क्याम्पसका पूर्वाधार तथा दर्जनौँ व्यावसायिक फार्म ट्राउट, कुखुरा, च्याउ फार्म, घट्ट, मिल, हाते कागज, काष्ठ, ब्लक, स–मिल, फर्निचर, पसल, होटल, रिसोर्ट इत्यादि तहसनहस भएको थियो ।
स्थानीयले मेलम्ची खानेपानी ठप्प पारेपछि काठमाडौं उपत्यकामा खानेपानी वितरणमा समस्या भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्चीको पानी ठप्प भएपछि अहिले यही उपत्यकाभित्र रहेको अन्य स्रोतको पानी मात्रै वितरण गरिएको छ । मेलम्ची खानेपानी आउँदा पहिला दैनिक रूपमा पानी वितरण गरिएको थियो भने अहिले ठाउँअनुसार दिन बिराएर पानी वितरण गर्नुपरेको छ । ‘मेलम्चीको पानी बन्द भएपछि केही समस्या त भएको छ तर,पनि आन्तरिक स्रोतको पानी मिलाएर वितरण गरिरहेका छौँ,’उनले भने ।
केयुकेएलका अनुसार काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । अहिले मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको छ । ०७८ सालमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि हालसम्म १२ महिना पानी आउन सकेको छैन । ०७८ को बाढीयता कहिले वर्षात त कहिले मर्मतको नाममा पानी बन्द गरिँदै पठाइँदै गरिएको छ । अरू बेला नियमित मेलम्चीको पानी आए पनि वर्षेनि वर्षातको बेला मेलम्ची खानेपानी बन्द गर्नुपर्ने बाध्यता छ । मेलम्चीमा आएको बाढीपछि खानेपानी आयोजनाको दातृनिकाय एशियाली विकास बैंक (एडीबी)ले अध्ययन गरी दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई मेलम्ची खानेपानीको हेडवर्क्स सार्न सुझाव दिएको थियो । एडीबीले बनोट तथा बाढी पहिरोको जोखिमका कारण हेडवर्क्स सार्न सुझाव दिएको हो ।
एडीबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब १ किलोमिटर माथि सार्न सुझाव दिएको छ । यही आयोजनाको हेडवर्क्स सार्नका लागि एडीबीले २ अर्ब अनुदान पनि दिएको थियो । तर हालसम्म सरकारले हेडवर्क्स सार्न सकेको छैन । सरकारले स्थानीयवासीको माग पूरा नगर्दा बेला बेला पानी बन्द भइरहेको छ । जसकारण उपत्यकावासीले हालसम्म दीर्घकालीन रूपले पानीको उपभोग गर्न पाएका छैनन् । २०८१ जेठ २३ गते पनि मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति र त्यस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सुरूङ प्रवेश गराइएको पानी यो वर्षको वर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन चेतावनी दिएका थिए । यस्तै, ०८१ असोज ९ गते पनि मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले आफूहरूका माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं उपत्यकामा लैजान नदिने चेतावनीसहित हेलम्बु गाउँपालिका क्षेत्रमा प्रदर्शन गरेका थिए । उनीहरूले यति धेरै वर्षसम्म पर्खिएको तर सरकारले अहिलेसम्म पनि बेवास्ता मात्रै गर्दै आइरहेको भन्दै विरोध प्रदर्शन गरेका थिए ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































