काठमाडौं । नेपाली कांग्रेसले हालसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरेको छ। यो तथ्यांक कांग्रेसको १४ औं महाधिवेशनको तुलनामा बढी हो।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’का अनुसार अहिलेसम्म अधिकांश जिल्लामा नवीकरण प्रक्रिया टुंगिएको छ भने केही जिल्लामा मात्र छुटपुट काम बाँकी छ।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको कामबारे जानकारी दिँदै रसाइलीले भने, “केही जिल्लामा अझै विवाद छन् र केही जिल्ला छुटेका छन्, तर आजसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण सकिएको छ। यो आँकडा जनसम्पर्क समिति र विवाद देखिएका जिल्ला बाहेकको हो।” उनका अनुसार यो प्रगति अघिल्लो महाधिवेशनको तुलनामा उल्लेख्य रूपमा बढी हो। २०७८ सालमा सम्पन्न १४ औं महाधिवेशनका बेला कांग्रेसमा जम्मा ७२ प्रतिशत क्रियाशील सदस्यले मात्र नवीकरण गरेका थिए। “त्यसबेला भन्दा यसपालि नवीकरण गर्ने प्रतिशत बढेको छ,” रसाइलीले भने। उनका अनुसार यसपटक पार्टीले क्रियाशील सदस्यता नवीकरणका मापदण्ड पनि केही खुकुलो बनाएको छ। विगतमा विभिन्न कारणले नवीकरण छुटेकालाई समेत यसपटक नवीकरणको अवसर दिइएको छ भने अन्य राष्ट्रिय दल परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई पनि क्रियाशील सदस्यता प्रदान गरिएको छ।
कांग्रेसमा हाल करिब ८ लाख ८९ हजार क्रियाशील सदस्य रहेको बताउँदै रसाइलीले त्यसको ७५ प्रतिशत सदस्यता नवीकरण भइसकेको जानकारी दिए। यस्तै, नयाँ क्रियाशील सदस्यताको प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ। उनका अनुसार देशभर १२५ स्थानबाट नयाँ क्रियाशील सदस्यताको विवरण प्रणालीमा प्रविष्ट भइरहेको छ। “१२५ ठाउँमा नयाँ सदस्यताको इन्ट्री भइरहेको छ, त्यसको पूर्ण आँकडा संकलन गर्न बाँकी छ,” उनले भने। १४ औं महाधिवेशनका बेला गरिएको निर्णयअनुसार १५ औं महाधिवेशनमा भाग लिन पाउने गरी क्रियाशील सदस्यताको फारम वितरण गर्ने निर्णय पनि कार्यान्वयनमा ल्याइएको रसाइलीले जानकारी दिए। यसअनुसार सुर्खेत, काठमाडौं–६ र पर्सा–३ मा क्रियाशील सदस्यता फारम वितरण गर्ने निर्णय भएको छ। त्यसैगरी, कपिलवस्तु–१ मा जनता समाजवादी पार्टी (जसपा) का नेताहरू कांग्रेसमा प्रवेश गरेकाले त्यहाँ पनि क्रियाशील सदस्यता फारम उपलब्ध गराउने निर्णय गरिएको छ। “कपिलवस्तु–१ मा ५७५ वटा नवीकरण फारम दिने निर्णय भएको छ,” रसाइलीले बताए।
कांग्रेसले यसअघि पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। तर, हाल केन्द्रीय कार्यसम्पादन समिति बैठकहरू निरन्तर बसिरहेका छन्। ती बैठकहरूले महाधिवेशनको कार्यतालिकामा संशोधन गर्ने तयारी गरिरहेको जनाइएको छ। क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको प्रक्रिया टुंगोमा पुगेसँगै कांग्रेसले महाधिवेशनको अन्तिम तयारीलाई थप तीव्र बनाउने संकेत देखिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































