आयोगमा रमेश लेखकको इन्कारी बयान

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । सोमबार (पुस १४) सिंहदबारस्थित आयोगको कार्यालयमा पुगेर उनले लिखित जवाफ दिएका हुन् । “सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रस्ट रूपमा दुई तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहती (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्, यसबारेमा सचेत रहनुहोला, सावधानी अपनाउनुहोला,” भदौ २३ को घटनबारे उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, “दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनुहोला । तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुनसक्छ । प्रदर्शनमा घुसपैठ पनि हुनसक्छ, सतर्कता अपनाउनुहोला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो ।”

लेखकलाई यही पुस ८ गते बयानका निम्ति आयोगले पत्राचार गरेको थियो । आयोगले उक्त समयमा पदमा बहाल सरोकारवाला सरकारी अधिकारीहरूसित यसअघि नै बयान लिइसकेको छ । बयान लिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखक मात्र बाँकी थिए । गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारले त्यसक्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न आयोग बनाएको हो । उक्त दुई दिनका घटनामा ७६ जनाको मृत्यु भएको थियो । धेरैजना अझै घाइते छन् ।

लेखकले असल नियतका साथ भएको प्रदर्शनमा घुसपैठ गरेर २३ र २४ को घटना गराइएको बताएका छन् । जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।उनले २४ भदौको विध्वंश पूर्वनियोजित र योजनाबद्ध रूपमा घटाइएको भन्दै २३ मा भएको हताहतीको आवेगप्रेरित मात्र नभएको बताए ।

जेनजीले असल मनोभावनाका साथ सुरु गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरेर राष्ट्रविरुद्ध नै आक्रमण गरिएको उनको भनाइ छ । ‘जेनजी पुस्ताले असल मुद्दा र असल मनासायसहित २३ भदौमा प्रदर्शन आयोजना गरेका थिए । माइतीघरबाट सुरु भएको प्रदर्शनमा बानेश्वर पुग्दानपुग्दै घुसपैठ भयो,’ उनले भने, ‘प्रदर्शनमा घुसपैठ भएको कुरा युवा पुस्ताका भाइबैनीहरूले नै आन्दोलन हाइज्याक भयो भनेर घर फर्कन आह्वान गर्नुले पुष्टि हुन्छ । यसरी आन्दोलन हिंसात्मक बनाइयो, जसका कारण दुःखद घटना हुन पुग्यो । धेरैको मृत्यु भयो, धेरै घाइते हुनुभयो ।’

लेखकले २३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको मानवीय हताहतीको पीडाबोधले पदबाट राजीनामा दिएको बताएका छन् । जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । ‘जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा पूर्वनियोजित रूपमा घुसपैठ भएपछि हिंसात्मक बन्न पुग्यो । त्यसक्रममा थुप्रै मानवीय हतहती हुन पुग्यो । त्यो सुनेपछि असैह्य पीडा भयो ।

त्यही पीडाबोधका कारण मैले पदीय नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ उनले भने । आन्दोलनमा मानवीय हतहती भएकै दिन २३ भदौमै आफूले राजीनामा दिएको भन्दै उनले २४ गते मुलुकमा विध्वंश मच्चाइँदा आफू गृहमन्त्रीमा नरहेको बताए । ‘मैले मान्छे मार भनेर आदेश दिन सक्छु ? त्यस्तो गलत कर्म मबाट हुन्छ ? हुँदैन,’ उनले भने, ‘आयोग त के सबैभन्दा ठूलो आयोग जनताको बीचमा उभिएर स्पष्टसँग भन्दैछु, २३ भदौमा हृदयविदारक घटना भएपछि पदीय नैतिकताको आधारमा त्यसै दिन गृहमन्त्रीबाट राजीनामा दिएको हुँ ।’

निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् । ‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने, कुनै खालको लिखित मौखिक आदेश दिएको छैन । दिनुपर्ने कारण छैन । दिनुपर्ने कानुनी व्यवस्था छैन,’ लेखकले भने । उनले आफू अत्यन्तै पीडामा परेर पदीय मर्यादाको आधारमा राजीनामा दिएको जिकिर गरे । ‘कति बल प्रयोग गर्ने, कसरी गर्ने के गर्ने भन्ने छैन भनेको छैन । दिएको छैन । तर म अत्यन्तै ज्याद मर्माहित भएर पदीय मर्यादाको आधारमा राजीनामा गरेको हुँ । नैतिकताको आधारमा मैले राजीनामा गरेँ,’ लेखकले भने । उनले थप प्रश्न गर्दै भनेका छन्, ‘मैले मान्छेलाई मार भनेर आदेश दिनसक्छु ? त्यस्तो गलत कर्म म बाट हुन्छ ? हुँदैन ।’

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।