काठमाडौं । २४ जुन २०२४ को बिहान रुकुममा रहेका एक परिवारको मोबाइलमा ह्वाट्स एप सन्देश आयो । सन्देशमा लेखिएको थियो– ‘हावाले भरिएको बलुन (डुंगा)मार्फत त्रिपोलीबाट ग्रिस जाँदैछौं ।
हामी चढेको डुंगामा ३० जना छौं । नेपाली पाँच जना मात्रै छौं । ग्रिस पुगेपछि सम्पर्क गरौंला ।’ सन्देश पठाउने ती नेपाली युवा त्यसपछि कहिल्यै सम्पर्कमा आएनन् । ग्रिस पुगे कि त्रिपोलीमै रोकिए ? अमेरिका पुग्ने सपना पूरा भयो कि समुद्रकै यात्रामा केही अनिष्ट भयो ? यी प्रश्नको जवाफ आजसम्म कसैसँग छैन ।लिबियाको राजधानी त्रिपोलीबाट समुद्री बाटो हुँदै ग्रिस जाने जानकारी आएको झन्डै डेढ वर्ष बितिसक्दा पनि ती युवासहित पाँच नेपालीको अवस्था अज्ञात छ । उनीहरूका परिवार न त कुनै आधिकारिक सूचना पाएका छन्, न राज्यका निकायले नै कुनै ठोस प्रमाण फेला पारेका छन् । फोनको घन्टी बज्ने आशा, अपरिचित नम्बर देख्दा मन झस्किने अवस्था र सपनामा मात्रै देखिने अनुहारसँगै परिवारहरू डेढ वर्षदेखि पीडादायी प्रतीक्षामा छन् ।
ती पाँचमध्ये चार जना पश्चिम रुकुमका र एक जना बाँकेका हुन् । उमेर २० देखि २७ वर्षबीचका उनीहरू अमेरिका जाने आशामा घरबाट निस्किएका थिए । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख तथा एसएसपी कृष्ण पंगेनीका अनुसार २४ जुन २०२४ मा परिवारसँग अन्तिम सम्पर्क भएपछि ती सबै जना पूर्ण रूपमा सम्पर्कविहीन छन् । आफन्तले दिएको विवरणअनुसार स्थानीय समयअनुसार बिहान करिब ४ बजे त्रिपोलीबाट ग्रिस लैजाने भन्दै ३० जनालाई एउटै डुंगामा राखिएको थियो । त्यसमा पाँच नेपाली पनि थिए । त्यसपछि उनीहरूको कुनै खबर आएन । यही आधारमा आफन्तले ब्युरोमा निवेदन दिएका हुन् ।
यसअघि पनि यस्तै घटना भएका छन् । ५ असार २०७८ मा कोलम्बियास्थित क्यारेबियन सागरमा डुंगा पल्टिँदा सात नेपाली बेपत्ता भएका थिए । १८ जना सवार डुंगामध्ये एक नेपाली र पाँच बंगलादेशीको उद्धार भए पनि अन्य सात नेपालीसहित १२ जना हराएका थिए । दाङ, पर्वतलगायत जिल्लाका ती युवाको अवस्था अहिलेसम्म अज्ञात छ । अहिले लिबियाबाट अमेरिका जाने क्रममा हराएका पाँच नेपालीको घटना पनि त्यसैको पुनरावृत्ति जस्तो देखिएको छ । परिवारले जानकारी गराएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोले इन्टरपोलमार्फत लिबियाली प्रहरीसँग समन्वय गरेको थियो । तर लिबियाबाट आएको जवाफमा ३० जना सवार कुनै डुंगा दुर्घटनामा परेको विवरण नरहेको उल्लेख थियो । ब्युरो स्रोतका अनुसार यति ठूलो संख्यामा सवार डुंगा दुर्घटना भएको भए अन्तर्राष्ट्रिय समाचार बन्ने थियो । तर त्यस्तो कुनै सूचना नआएकाले घटना झन् शंकास्पद बनेको छ ।
डुंगाबाट जाँदैछौं भनेर परिवारलाई जानकारी गराउनु, त्यसपछि पूर्ण रूपमा सम्पर्कविहीन हुनु र कुनै दुर्घटनाको आधिकारिक विवरण नआउनुले उनीहरू मानव तस्करीको जालमै कतै अलपत्र पारिएको हुनसक्ने आशंका गरिएको छ । द्वन्द्वग्रस्त लिबियामा उनीहरू डेढ वर्षदेखि बेखबर रहनु राज्यका लागि पनि गम्भीर चुनौती बनेको छ । लिबियाबाट डुंगामार्फत ग्रिस पुर्याउने अवैध आप्रवासन मार्ग विश्वकै जोखिमपूर्ण मार्गमध्ये एक मानिन्छ । भूमध्यसागर हुँदै हुने यो यात्रा प्रायः पूर्वी लिबियाको टोब्रुक क्षेत्रबाट सुरु भएर गाभ्डोस र क्रेटजस्ता दक्षिणी ग्रिस टापुमा पुग्ने गर्छ । मानव तस्करहरूले असुरक्षित डुंगा प्रयोग गर्ने भएकाले यस मार्गमा बारम्बार दुर्घटना हुने गरेका छन् ।
पाँच नेपाली बेपत्ता भएपछि उनीहरूका आफन्त २३ पुस २०८१ मा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा उजुरी लिएर पुगेका थिए । आफन्तका अनुसार उनीहरू १० जुन २०२४ मा लिबिया पुगेका थिए । त्यसको १० दिनपछि समुद्रको बाटो हुँदै ग्रिस जान लागेको जानकारी दिएका थिए । तर त्यसयता कुनै सम्पर्क हुन सकेन । परराष्ट्रबाट पनि कुनै पत्तो नलागेपछि परिवार अहिले मानव बेचबिखन अनुसन्धान ब्युरोमा धाइरहेका छन् । ब्युरोको अनुसन्धानअनुसार बेपत्ता युवामध्ये एक जना ३० सेप्टेम्बर २०२३ मा अजरबैजानको भिसा प्रयोग गरेर नेपालबाट बाहिरिएको देखिएको छ । अर्का एक जना ३० मे २०२४ मा यूएईको भिसा लगाएर युएई प्रस्थान गरेका थिए । दुई जना ११ अप्रिल २०२४ मा काठमाडौं हुँदै ओमान गएको अध्यागमन रेकर्डमा भेटिएका छन् । एक जनाको भने कुनै आधिकारिक यात्रा विवरण फेला परेको छैन । त्यसैले उनी स्थलमार्ग हुँदै दिल्ली पुगेर त्यहाँबाट हवाई मार्ग प्रयोग गरेको आशंका गरिएको छ ।
अनुसन्धानले देखाएअनुसार तीमध्ये एक युवा यसअघि दुई पटक अमेरिका जान असफल भएका थिए । पहिलो पटक दुबई, टर्की हुँदै स्पेन पुर्याइएका उनी स्पेनको विमानस्थलमै ५४ दिन बसेपछि पक्राउ परेर टर्की हुँदै नेपाल फर्काइएका थिए । दोस्रो पटक दुबई ट्रान्जिट हुँदै उजबेकिस्तान र अजरबैजान पुर्याइयो । त्यहाँबाट पनि उनी नेपाल फर्किएका थिए । तेस्रो पटक भने २९ चैत २०८० मा ओमान हुँदै लिबिया पुर्याइयो । त्यतिबेलासम्म ती युवाबाट ७२ लाख रुपैयाँ असुल भइसकेको थियो । त्रिपोलीबाट डुंगामार्फत ग्रिस हुँदै अमेरिका लैजाने योजना थियो । ‘हावाले भरिएको बलुनमार्फत ग्रिस जाँदैछौं’ भन्ने सन्देश आएपछि १२ असार २०८१ देखि उनी सम्पर्कविहीन भएको दाजुले दिएको जाहेरीमा उल्लेख छ । बेपत्ता पाँच जना भए पनि अहिलेसम्म ब्युरोमा एक जनाको तर्फबाट मात्रै जाहेरी परेको छ । प्रहरीका अनुसार अन्य युवाहरू आफन्त वा चिनेजानेकै माध्यमबाट अमेरिका जान खोजेकाले उजुरी नआएको हुनसक्छ । एक अनुसन्धान अधिकृतका अनुसार एक जना आफ्नै मामा नाता पर्ने व्यक्तिको भरमा अमेरिका जान निस्किएका थिए ।
अर्कोतर्फ दलालहरूले आश्वासन र प्रलोभन देखाएर उजुरी नै नहाल्न दबाब दिने गरेको पनि देखिएको छ । ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार ती पाँचै युवालाई फरक–फरक एजेन्टले अमेरिका लैजाने भन्दै लिबिया पुर्याएको खुलेको छ । एउटै समयमा त्रिपोली हुँदै अमेरिका लैजाने भनिए पनि उनीहरू फरक–फरक नेटवर्कमार्फत त्यहाँ पुगेको देखिन्छ । डेढ वर्ष बितिसक्दा पनि कुनै ठोस सुराक नपाइनु परिवारका लागि पीडादायी प्रतीक्षा बनेको छ । अमेरिका जाने सपनामा घर छाडेका ती पाँच नेपाली युवा अहिले कहाँ छन् भन्ने कसैलाई थाहा छैन ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































