काठमाडौं । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा सुदृढ गर्ने, सूचना आदान–प्रदानलाई सहज बनाउने, सम्भावित अपराध नियन्त्रणमा सहयोग पुर्याउने तथा समग्र रूपमा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा दिने उद्देश्यका साथ ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने भएको छ। विभागका अनुसार उक्त प्रणाली यही पुस १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइनेछ।
सुरुवाती चरणमा यो सूचना प्रणाली काठमाडौँ उपत्यकाभित्र लागू गरिने जनाइएको छ। अध्यागमन विभागले सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै प्रणालीलाई व्यवस्थित, प्रभावकारी र व्यवहारिक रूपमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला संघसंस्था तथा सम्बन्धित सरकारी–निजी निकायहरूसँग सुझाव संकलन गरेको हो। कार्यक्रममा होटल व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि, विमान सेवा प्रदायक, ट्राभल तथा टुर अपरेटर, मनी एक्सचेञ्जरलगायत निकायका प्रतिनिधिहरूको सहभागिता थियो।
अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली औपचारिक रूपमा उद्घाटन गर्न विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनले प्रणाली कार्यान्वयन अघि नै सरोकारवालाहरूबाट सुझाव लिनु आवश्यक ठानेर अन्तरक्रिया गरिएको उल्लेख गर्दै प्राप्त सुझावका आधारमा प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताए। उनका अनुसार यो प्रणाली लागू भएपछि नेपालमा बसोबास गर्ने वा भ्रमण गर्ने विदेशी नागरिकसम्बन्धी विवरण एकीकृत रूपमा उपलब्ध हुने, आपतकालीन अवस्थाको व्यवस्थापन सहज हुने र विभिन्न निकायबीच समन्वय बलियो बन्ने अपेक्षा गरिएको छ। विभागका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा यो प्रणाली अनिवार्य रूपमा लागू गरिनेछ। यसपछि दोस्रो चरणमा आगामी फागुन १७ गतेदेखि देशभरका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरलगायत विदेशी नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने निकायहरूमा प्रणाली विस्तार गरिने कार्ययोजना छ। क्रमशः तेस्रो चरणमा सबै प्रकारका होटल, गेष्ट हाउस, होमस्टे तथा अन्य सार्वजनिक र निजी संस्थाबाट प्रवाह हुने सेवामा समेत यो प्रणाली लागू गरिने अध्यागमन विभागको योजना रहेको छ।
सूचना प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै निकायहरू अनिवार्य रूपमा प्रणालीमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ। दर्ता नभई सेवा प्रदान गर्दा प्रणालीको उद्देश्य पूरा नहुने भएकाले समयमै आबद्ध हुन अध्यागमन विभागले सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ। प्रवक्ता ढकालका अनुसार प्रणाली कार्यान्वयनको समय नजिकिँदै गए पनि हालसम्म दर्ता भएका निकायहरूको संख्या अपेक्षाकृत न्यून रहेको छ, जसले कार्यान्वयनमा चुनौती थपिन सक्ने संकेत गर्छ।
अध्यागमन विभागले यो सूचना प्रणालीमार्फत विदेशी नागरिकहरूको आवागमन, बसोबास र सेवा उपयोगसम्बन्धी विवरण अद्यावधिक राखिने, सुरक्षा निकाय तथा अन्य सरकारी संस्थासँग आवश्यक सूचनाको समन्वय गर्न सहज हुने र पर्यटन क्षेत्रलाई थप सुरक्षित तथा व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, सम्भावित गैरकानुनी गतिविधि, आपराधिक घटना तथा आपतकालीन अवस्थामा छिटो प्रतिक्रिया जनाउन पनि यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। विभागका अनुसार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली दीर्घकालीन रूपमा नेपालको पर्यटन व्यवस्थापन सुधार गर्ने महत्त्वपूर्ण आधार बन्नेछ। यसका लागि सबै सरोकारवाला निकायको सक्रिय सहभागिता, समयमै दर्ता र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको अध्यागमन विभागको निष्कर्ष छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































