काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा २२औँ संस्करणको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ बुधबार पोखरास्थित प्रदेश सभागृहमा भव्य रूपमा सम्पन्न भएको छ । समारोहमा नेपाली खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका खेलाडी, टिम, प्रशिक्षक तथा खेलकर्मीहरूलाई विभिन्न विधामा सम्मान गरिएको हो ।
क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी वर्षका उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य तथा उपकप्तान रहेका दीपेन्द्रले क्रिकेटका कुशल भुर्तेल, खो–खोका जनक चन्द, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र उसुका विजय सिन्जालीलाई पछि पार्दै यो प्रतिष्ठित अवार्ड जितेका हुन् ।
दीपेन्द्रले एसीसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्नुका साथै वर्षभर ३७० रन र २० विकेट लिँदै प्रभावशाली प्रदर्शन गरेका थिए । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा पनि उनले ६ विकेट लिएका थिए । साथै उनी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका उत्कृष्ट खेलाडी समेत बनेका थिए ।
महिलातर्फ कराते खेलाडी एरिका गुरुङ वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भइन् । एरिकाले लगातार दोस्रो पटक यो अवार्ड जित्दै नयाँ कीर्तिमान बनाएकी हुन् । उनले एसियाली करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउनुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत पदक जितेकी थिइन् । यस विधामा फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो–खोकी मानमती धामी र भलिबलकी सलिना श्रेष्ठ मनोनयनमा थिए ।
पिपुल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारी ले जितेका छन् । उनले कुल मतको ४०.१ प्रतिशत मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीलाई पछि पारे । हिमाल गण्डकी प्रदेशका चर्चित खेलाडी हुन् र मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलमा गण्डकीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
वर्षको उत्कृष्ट युवा खेलाडी को अवार्ड क्रिकेटकी पूजा महतो ले जितेकी छन् । उनले नेपाल महिला यू–१९ क्रिकेट टोलीलाई पहिलो पटक विश्वकपमा पुर्याउँदै कप्तानका रूपमा ऐतिहासिक सफलता दिलाएकी थिइन् ।
यसैगरी भारतमा भएको पहिलो खो–खो विश्वकपमा रजत पदक जितेको नेपाल खो–खो पुरुष तथा महिला टिम ‘टिम अफ द इयर’ घोषित भयो ।
पारा एथलिट अवार्ड प्रभा आङ्देम्बेले प्राप्त गरिन् भने लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाली एथलेटिक्सका वरिष्ठ प्रशिक्षक खड्ग रानाभाट लाई प्रदान गरियो । त्यस्तै, पारा तेक्वान्दो खेलाडी तथा पारालिम्पिक कांस्य पदक विजेता पलेशा गोवर्धन लाई ‘ट्रेलब्लेजर अफ दि इयर’ अवार्डबाट सम्मान गरियो ।
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ ले नेपाली खेलकुदको उपलब्धि, संघर्ष र सम्भावनालाई उजागर गर्दै खेलाडीहरूको मनोबल उच्च बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































