गुल्मी । गुल्मी जिल्लाको रिडी क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मानवनिर्मित ताल निर्माण भइरहेको छ। रिडी खोलालाई उपयोग गर्दै यहाँका ८ जना स्थानीय युवाले मिलेर ताल निर्माण गरिरहेका छन्।
विशेषगरी माघे संक्रान्ति मेलालाई लक्षित गरी हाल अस्थायी ताल निर्माण भइरहेको छ। त्यसपछि आगामी वर्ष स्थायी ताल निर्माण गर्ने युवाहरूको योजना रहेको छ।
स्थानीय युवा सुन्दर भण्डारीका अनुसार रुरु ताल एडभेन्चर प्रणाली अन्तर्गत निर्माण भइरहेको ताल करिब तीन दिनभित्र सम्पन्न हुने अनुमान गरिएको छ। तालको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन कालागि रहेको उनले बताए। उनका अनुसार ताल निर्माणमा कम्तीमा १ करोड रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ ।
तालमा दुईवटा डुंगा सञ्चालन र तटबन्ध निर्माणसमेत गरिँदै छ। “रिडीलाई पर्यटन हब बनाउने उद्देश्यका साथ हामीले रुरु ताल निर्माण गर्न लागेका हौँ,” भण्डारीले भने, “यसबाट पर्यटक भित्र्याउन सकिन्छ भन्ने विश्वास छ।” उनले तालसँगै जिपलाइन सञ्चालनका लागि गाउँपालिकासँग समन्वय भइरहेको जानकारी दिए।
भण्डारीका अनुसार तालको चौडाइ करिब ६० मिटर र लम्बाइ ३ देखि ४ सय मिटर रहने अनुमान गरिएको छ। तालको गहिराइ सुरुवाती भागमा करिब ४ मिटर, अन्तिम भागमा ४ देखि ५ फिट तथा पक्की पुलमुनिको भागमा करिब ७ फिट रहनेछ।
माघे संक्रान्तिको चापका कारण हाल अस्थायी संरचना तयार गरिँदै भए पनि दशैं–तिहार लगत्तै आरसीसी वाल, २ देखि ३ वटा ढोका निर्माण गरी ताललाई थप व्यवस्थित बनाइने योजना रहेको भण्डारीले बताए।




































