फिलिपिन्स । केन्द्रीय फिलिपिन्समा रहेको एक ल्यान्डफिल्डमा फोहोरको पहाड भत्किँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस फोहोरमुनि पुरिएको आशङ्कामा शुक्रबार उद्धारकर्मीहरूले खोजी कार्य जारी राखेका छन् ।
सेबु सिटीस्थित निजी रूपमा सञ्चालित बिनालिव ल्यान्डफिल्डमा बिहीबार अग्लो फोहोरको थुप्रो ढल्दा दर्जनौँ सरसफाइ कर्मचारीहरू त्यसको चपेटामा परेका थिए ।
सहरका सहायक सार्वजनिक सूचना अधिकारी जेसन मोराताका अनुसार फोहोरको पहाड “चार तले भवन जत्तिकै अग्लो” थियो । सहरका मेयर नेस्टर आर्चिभालको आधिकारिक फेसबुक पेजमा जारी विज्ञप्तिअनुसार लगभग बाह्र जना कर्मचारीलाई जीवितै उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।
उनले भने, “बेपत्ता रहेका बाँकी व्यक्तिहरूको खोजी र उद्धारका लागि उद्धारकर्मीहरू पूर्ण रूपमा परिचालित छन् ।”
प्रहरीले सार्वजनिक गरेका हवाई तस्बिरहरूमा फोहोरको भारले थिचिएर धेरै संरचनाहरू ध्वस्त भएको देखिन्छ । सहरका सूचना अधिकारी मोराताका अनुसार ती भवनहरू निजी कम्पनीका कार्यालय, मानव संसाधन, प्रशासन र मर्मतसम्भारका कर्मचारीहरूका लागि प्रयोग हुँदै आएका थिए, जसले उक्त स्थल सञ्चालन गर्दै आएको थियो ।
“हामी धेरै कारणहरूलाई विचार गरिरहेका छौँ । सेबु सन् २०२५ को उत्तरार्धमा दुई चक्रवातको चपेटामा परेको थियो, साथै भूकम्प पनि आएको थियो,” मोराताले भने ।




































