नेपाली बजारमा नयाँ डिजिटल पहल : इभेन्ट व्यवस्थापनका लागि ‘द निम्तो’

काठमाडौं । डिजिटल प्रविधिको तीव्र विकाससँगै इभेन्ट व्यवस्थापनलाई सहज र सरल बनाउने उद्देश्यसहित नयाँ नेपाली एप ‘द निम्तो’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। अब विवाह, भोज, पार्टी, कर्पोरेट कार्यक्रम तथा पारिवारिक समारोहका लागि आवश्यक भेन्यु, फोटोग्राफर, मेकअप आर्टिस्ट, डिजे, डेकोरेसन र मेहन्दीजस्ता सेवाहरू घरमै बस्दै मोबाइल एपमार्फत सजिलै बुक गर्न सकिने भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा एपका फिचर र सेवाबारे जानकारी दिइयो। सो अवसरमा ‘द निम्तो’ का निर्देशक प्रसन्न राज अर्याल ले एप विगत दुई वर्षदेखि परीक्षण तथा प्रयोगको चरणमा रहे पनि अहिले औपचारिक रूपमा सार्वजनिक गरिएको जानकारी दिए।

उनका अनुसार हालसम्म ५० हजारभन्दा बढी प्रयोगकर्ताले एप प्रयोग गरिसकेका छन् भने २०० भन्दा बढी इभेन्ट बुकिङ सफलतापूर्वक सम्पन्न भइसकेका छन्। साथै, प्लेटफर्ममा हाल एक हजारभन्दा बढी इभेन्ट सेवा प्रदायक आबद्ध भइसकेका छन्।

अर्यालले ‘द निम्तो’ को सफलता कुनै एक व्यक्तिको नभई सम्पूर्ण टिमको निरन्तर मेहनत, धैर्य र सामूहिक विश्वासको परिणाम भएको बताए। नेपालमै बसेर स्वदेशकै सम्भावनालाई उपयोग गर्दै कानुनी, पारदर्शी र जिम्मेवार डिजिटल प्लेटफर्म निर्माण गरिएको उनले उल्लेख गरे। विदेश जाने सोच त्यागेर सुरु गरिएको यस पहलले आज प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सयौं व्यक्तिलाई रोजगारीको अवसर प्रदान गरिरहेको उनको भनाइ छ।

प्रयोगकर्ताको अनुभव अझ सहज बनाउन एपमा आफूले रोजेको भेन्युको ३६० डिग्री भर्चुअल टुर हेर्न मिल्ने सुविधा पनि समावेश गरिएको छ। साथै, आगामी दिनमा कार रेन्टल, बग्गी सेवा, पण्डित तथा ज्योतिषी सेवा समेत थप गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।

हाल आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध ‘द निम्तो’ ले इभेन्ट व्यवस्थापनको झन्झटलाई केही क्लिकमै समाधान गर्दै समय, श्रम र खर्च बचत गर्ने डिजिटल समाधानका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।