नाइमाले सम्पन्न गर्‍यो मोबिलिटी संवादको नवौँ श्रृङ्खला

काठमाडौं । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ। क्याम्पस प्रमुख डा. खेम ज्ञवाली को अध्यक्षतामा सम्पन्न कार्यक्रमको मुख्य विषय “Completely Knocked Down (CKD) Vehicle Assembly: Opportunities, Challenges and Way Forward” रहेको थियो।

अध्यक्षीय मन्तव्यमा डा. ज्ञवालीले लामो समयपछि यति महत्वपूर्ण उद्योग–शिक्षा सहकार्यमा आधारित कार्यक्रम आयोजना गर्न पाउँदा गर्व लागेको बताए। उनले यस्ता संवादहरूले व्यवहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँग सहकार्य विस्तारमा वास्तविक आवश्यकता पूरा गर्ने उल्लेख गर्दै नाइमा र विद्यार्थी संगठन AMESIN लाई धन्यवाद दिए।

करिब २०० जना सहभागी रहेको कार्यक्रममा प्राविधिक प्रस्तुति, प्यानल छलफल तथा खुला अन्तरक्रिया आयोजना गरिएको थियो। प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लोचन केन्द्र देवकोटा ले गरेका थिए। प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाइमाका बोर्ड सदस्य शेखर गोल्छा र थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इ. लक्ष्मण पालिखेल सहभागी थिए।

कार्यक्रमको स्वागत मन्तव्य अटोमोबिल तथा मेकानिकल इन्जिनियरिङ विभाग प्रमुख इ. देवेन्द्रबहादुर राउत तथा नाइमा सदस्य एवं सारडा ग्रुपका निर्देशक गौरव सारडा ले दिएका थिए। इ. राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको बताए भने प्राज्ञिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए। सारडाले CKD भेहिकल एसेम्ब्ली लाई “Make in Nepal” नीतिसँग जोडिएको व्यवहारिक औद्योगिक मोडेलका रूपमा प्रस्तुत गर्दै यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सृजना, प्रविधि स्थानान्तरण तथा स्थानीय आपूर्ति श्रृङ्खलाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्यानल छलफलका क्रममा वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्व बिना दिगो औद्योगिक विकास सम्भव नहुने बताए। भारत, चीन, ब्राजिल तथा अफ्रिकी मुलुकहरूको अनुभवले CKD भेहिकल एसेम्ब्लीलाई औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल देखाएको उल्लेख गर्दै “Make in Nepal” सन्दर्भमा यसको दीर्घकालीन सम्भावनाबारे चर्चा गरिएको थियो।

कार्यक्रमको सहजीकरण नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल ले गरेका थिए। उनले नाइमा मोबिलिटी संवादलाई आगामी दिनमा अझ फराकिलो सहकार्य र युवा सहभागितासहित निरन्तरता दिइने जानकारी दिँदै यसको दशौँ श्रृङ्खला आईओई पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको बताए।

समापन मन्तव्य काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी तथा नाइमाकी बोर्ड सदस्य यमुना श्रेष्ठ ले दिएका थिए। एसएसपी अधिकारीले चालक, ट्राफिक प्रहरी तथा सरोकारवालाहरूलाई आधुनिक सवारी साधन प्रविधिबारे शिक्षित गर्नु आवश्यक रहेको बताए। साथै, उदीयमान सवारी प्रविधि तथा सफ्ट स्किल्ससम्बन्धी तालिम उपत्यकाका सम्पूर्ण ट्राफिक प्रहरीलाई प्रदान गर्ने नाइमाको पहलको प्रशंसा गर्दै हालै ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिपछि नाइमाले गरेको सहयोगप्रति आभार व्यक्त गरे।

नाइमाकी बोर्ड सदस्य यमुना श्रेष्ठले CKD भेहिकल एसेम्ब्ली, नीतिगत स्पष्टता तथा शैक्षिक संस्था, सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र नेपालको अटोमोबिल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने धारणा व्यक्त गरिन्। उनले मोबिलिटी संवादजस्ता पहलहरूले ज्ञान आदान–प्रदान, नीतिगत समझदारी र दीर्घकालीन औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

नाइमाले यस्ता मासिक मोबिलिटी संवादहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै मोबिलिटी तथा अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा सहकार्यात्मक समाधान खोज्ने उद्देश्य रहेको जनाएको छ।