११औँ महाधिवेशनले एमालेलाई बलियो बनायो : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ। केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएको २२ दिनपछि पुसको चिसो मौसम र भौगोलिक कठिनाइका बाबजुद देशभरबाट केन्द्रीय सदस्यहरूको उल्लेखनीय सहभागितासहित बैठक प्रारम्भ भएको हो।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनको समग्र समीक्षा गर्दै त्यसले दिएको राजनीतिक सन्देश, भदौ २३–२४ पछि विकसित असामान्य राजनीतिक अवस्था, प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी कानुनी संघर्ष, प्रस्तावित आम निर्वाचन, अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्य र पार्टीका तात्कालिक कार्यभारबारे धारणा राखे।

अध्यक्ष ओलीले मङ्सिर २७ देखि पुस ३ सम्म सम्पन्न ११औँ महाधिवेशन केवल पार्टीको आन्तरिक प्रक्रिया मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा मोड्ने ऐतिहासिक घटना भएको बताए। भदौ २३–२४ का हिंसात्मक र विध्वंसात्मक घटनापछि मुलुक गम्भीर संकटमा फसेको अवस्थामा एमाले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिएको र पार्टीलाई पुनःसंगठित गर्न सफल भएको उनको भनाइ थियो।

महाधिवेशनले प्रतिकूल परिस्थितिमा पनि एमालेको संगठनात्मक क्षमता, जनाधार, कार्यकर्ताको मनोबल र प्रतिरोधी शक्ति झनै बलियो रहेको सन्देश दिएको अध्यक्ष ओलीको निष्कर्ष छ। भक्तपुरको सल्लाघारीमा भएको उद्घाटन सत्रमा देखिएको विशाल जनसहभागिताले लोकतन्त्र अजेय छ र एमाले त्यसको अग्रपंक्तिको शक्ति हो भन्ने सन्देश प्रवाह गरेको उनले उल्लेख गरे।

अध्यक्ष ओलीले भदौपछिको कालखण्डमा लोकतान्त्रिक दल, निर्वाचित सरकार र प्रतिनिधिसभामाथि योजनाबद्ध आक्रमण भएको, हिंसालाई आन्दोलनको नाममा महिमामण्डन गर्ने प्रयास गरिएको तथा युवापुस्तालाई दुरुपयोग गर्ने प्रवृत्ति देखिएको भन्दै कडा आलोचना गरे। यस्ता गतिविधि लोकतन्त्र समाप्त पार्ने र देशलाई असफल राष्ट्रतर्फ धकेल्ने षड्यन्त्रको हिस्सा भएको उनको ठहर छ।

उनले महाधिवेशनले पार्टीभित्र उठाइएका नेतृत्वको वैधता र सान्दर्भिकतासम्बन्धी प्रश्नलाई विधिसम्मत र लोकतान्त्रिक प्रतिस्पर्धामार्फत टुंग्याएको, आन्तरिक लोकतन्त्र थप सुदृढ भएको र पार्टी एकता झनै बलियो बनेको बताए। नवपुस्तालाई केन्द्रीय कमिटीमा योजनाबद्ध रूपमा प्रतिनिधित्व गरिनु, अनुभव र ऊर्जाबीच सन्तुलन कायम गर्नु तथा ‘घर फर्क’ अभियानमार्फत विभिन्न पृष्ठभूमिका कम्युनिष्ट शक्तिलाई सम्मानका साथ समेट्नु महाधिवेशनका महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरे।

देशको वर्तमान राजनीतिक सङ्क्रमणबारे बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र अझै जोखिममा रहेको बताए। प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार गठन र त्यसपछि निष्पक्ष निर्वाचन नै सुरक्षित निकास भएको उनको धारणा थियो। भदौ २३–२४ का घटनालाई योजनाबद्ध विध्वंसको संज्ञा दिँदै उनले त्यसको उद्देश्य लोकतन्त्र समाप्त पार्ने र संविधान असफल बनाउने रहेको दाबी गरे।

आगामी आम निर्वाचनका सन्दर्भमा उनले सरकार भयरहित र निष्पक्ष वातावरण बनाउन असफल भएको आरोप लगाए। तथापि, निर्वाचन ढिलो–चाँडो हुने निश्चित भएकाले पार्टीलाई सधैँ तयारी अवस्थामा रहन निर्देशन दिए।

अन्तर्राष्ट्रिय परिस्थितिबारे अध्यक्ष ओलीले विश्व राजनीति अस्थिर र जोखिमपूर्ण बन्दै गएको उल्लेख गर्दै नेकपा एमाले स्वतन्त्र परराष्ट्र नीति, पञ्चशील, असङ्लग्नता र अन्तर्राष्ट्रिय कानुनको पक्षमा दृढ रहेको बताए। तराई–मधेसमा देखिएका सामाजिक सद्भाव खलबलिने घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले सहिष्णुता, सौहार्दता र राष्ट्रिय एकताको पक्षमा उभिन सबैलाई आह्वान गरे।

सम्बोधनको अन्त्यमा अध्यक्ष ओलीले पार्टी एकताबद्ध र सक्रिय भए मात्र प्रतिगमन परास्त गर्न सकिने भन्दै सम्पूर्ण शक्ति लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षामा केन्द्रित गर्न पार्टी पङ्क्तिलाई आग्रह गरे।