काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू आज शुक्रबार औपचारिक रूपमा पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदैछन् ।
विशेष महाधिवेशन सम्पन्न भएपछि कार्यसमिति पहिलो पटक केन्द्रीय कार्यालय प्रवेश गर्न लागेको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलले दिउँसो १ बजे सानेपामा पुग्ने कार्यक्रम तय भएको जानकारी दिए ।
पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । तर, सभापति निर्वाचित भइसकेपछि पनि थापाले पार्टीका पहिलो र दोस्रो केन्द्रीय कार्यसमिति बैठक होटलमै गरेका थिए । त्यसैगरी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न गठन गरिएको संसदीय बोर्डको बैठक समेत पार्टी कार्यालयमा नभई होटलमै बसेको थियो । यसले नयाँ नेतृत्वले किन केन्द्रीय कार्यालय प्रयोग नगरेको भन्ने विषयमा पार्टीभित्र र बाहिर चासो बढाएको थियो ।
थापा नेतृत्वको कार्यसमिति विशेष महाधिवेशनपछि हालसम्म सानेपा स्थित पार्टी केन्द्रीय कार्यालय नगएकै अवस्थामा थियो । यसबारे कांग्रेस प्रवक्ता देवराज चालिसेले अब भने केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमै बस्ने स्पष्ट पारेका छन् । उनका अनुसार शुक्रबारको बैठक पनि केन्द्रीय कार्यालयमै आयोजना गरिनेछ । यद्यपि धेरै नेताहरू काठमाडौं बाहिर रहेकाले राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरू मात्रै बैठकमा सहभागी हुनेछन् ।
पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले पनि अन्य दलसरह प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गर्न लागेको हो । यसअघि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ । प्रमुख दलहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेसँगै चुनावी प्रतिस्पर्धा थप स्पष्ट बन्दै गएको छ ।
कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर सुरुदेखि नै विवाद देखिँदै आएको छ । गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूको पहलमा विशेष महाधिवेशन आह्वान भएपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले त्यसप्रति कडा असहमति जनाएको थियो । देउवा समूहका नेताहरूले विशेष महाधिवेशनलाई अस्वीकार गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, त्यसको बाबजुद उनीहरू नै गगन थापाको हस्ताक्षर रहेको टिकट लिएर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिन थालेपछि पार्टीभित्र विरोधाभासपूर्ण अवस्था सिर्जना भएको थियो ।
विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई आधिकारिकता नदिन माग गर्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा समूहका नेताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर सर्वोच्च अदालतले उनीहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । अदालतको उक्त निर्णयपछि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतामाथि उठाइएको प्रश्न कमजोर बनेको कांग्रेसभित्रको बुझाइ छ ।
यसबीच, विशेष महाधिवेशनपछि देउवा समूहका केही केन्द्रीय सदस्य र तरुण दलका नेताहरूले सानेपाको केन्द्रीय कार्यालयमै बसेर नयाँ नेतृत्वलाई प्रवेश नदिने चेतावनी दिएका थिए । केही समय कार्यालय परिसरमै तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो । तर पछिल्लो समय उनीहरूले केन्द्रीय कार्यालय छोडिसकेका छन्, जसपछि नयाँ कार्यसमिति कार्यालय प्रवेश गर्ने वातावरण बनेको हो ।
शुक्रबार सानेपामा हुने बैठकलाई कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । लामो विवाद र असहमतिका बीच निर्वाचित नयाँ नेतृत्व अब औपचारिक रूपमा पार्टी कार्यालयबाट कामकाज सुरु गर्ने संकेतका रूपमा यसलाई लिइएको छ । साथै, सोही बैठकबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा हुने सम्भावनाले कांग्रेसको चुनावी अभियानलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।































