काठमाडौं । आज (माघ ११) राष्ट्रिय सभा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचनको समय तोकेको छ ।
निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएर आज निर्वाचनको काम सुरु हुने चरणमा प्रवेश गरेको उनको भनाइ छ ।
निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको छ । १८ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन गर्न लागिएको हो । त्यसमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । १७ जनाका लागि सातै प्रदेश राजधानीमा मतदान गर्ने कार्यक्रम छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ । केही प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट तिनको नाम हटाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
आउँदो फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सांसदको पद रिक्त हुँदैछ । राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ । प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ । ५९ सदस्यीय सभामा आउँदो फागुन २० गते १९ जनाको पद रिक्त हुँदैछ । जसमध्ये १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मत खसाल्ने व्यवस्था छ। प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतको भार १९ छ । एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा सबैभन्दा धेरै मतभार प्राप्त गर्ने व्यक्ति निर्वाचित हुनेछन्।
राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ । नेपाली कांग्रेसले ९, नेकपा एमालेले ८ र लोकतान्त्रिक समाजवादी पार्टीले १ सिटमा उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकल उम्मेदवारी दिएको छ। त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टीले मधेस प्रदेशमा, नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेशमा, राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन्।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































