काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाका लागि ’विद्रोही’ उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन गरेको छ । पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा), र जिवछ साह (सिरहा) रहेका छन् । २१ फागुनमा हुने निर्वाचनमा नेकपाबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र उनीहरुका प्रस्तावक, समर्थक र प्रचारकलाई समेत कारबाही गरिएको उल्लेख छ ।
सिन्धुली–२ मा पूर्वसांसद लेखनाथ दाहाललाई नेकपाले आधिकारिक उम्मेदवार बनाएपछि गजुरेल पक्षले विद्रोह गरेको थियो । सो क्षेत्रमा महेश्वर दाहाल बागी उम्मेदवार उठाइएको छ । यस्तै, दाङ–१ मा कुलप्रसाद केसीले बागी उम्मेदवारी दिएका छन् । नेकपा उम्मेदवार मेटमणि चौधरीविरूद्ध पूर्वमुख्यमन्त्री समेत रहेका केसीले विद्रोह गरेका छन्। नेकपाबाट टिकट नपाएपछि धर्मनाथ साहले सिरहा–४ मा एमालेबाट उम्मेदवारी दिएका छन् । यस्तै, उदयपुर–२ मा पनि पार्टीले टिकट नदिएको भन्दै मेजर राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
सिन्धुली–२ मा लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालको बागी उम्मेदवारी दिलाएका गजुरेलले आफू पूर्वको केन्द्र मानिने सिन्धुली जिल्लाबाट विद्रोहको झण्डा उठाएको बताएका छन् । शुक्रबार साँझ करिब २ घण्टासम्म गजुरेलले संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालसँग छलफल गरेका थिए ।
सिन्धुली–२ मा गजुरेलनै प्रस्तावक बसेर महेश्वर दाहाललाई बागी उम्मेदवारी दर्ता गराइएको छ । प्रचण्ड–माधवले गजुरेललाई काठमाडौं बोलाएर टिकट फिर्ता गराउन आग्रह गरेका थिए । तर, उनले महेश्वरको उम्मेदवारी फिर्ता नगर्ने जवाफ प्रचण्ड–माधवलाई गराएका थिए । ‘तपाईं गतिशील नेता भएकाले तपाईंले निर्णय गर्न सक्नुहुन्छ भन्ने अपेक्षासहित हामी आएका हौं, राजन दाहालको उम्मेदवारी फिर्ता गराएर सहयोग गर्नुस् भन्यौं । उहाँले उल्टै तपाईंहरुले फिर्ता लिनुस् भन्नुभयो,’ गजुरेलले भने, ‘तर हामीले मानेनौं । हरिबोल गजुरेलको काम छैन भन्नुहुन्छ भने म फिर्ता गराउँछु भनेँ । उहाँले तपाईं पार्टीमा चाहिन्छ तर महेश्वर दाहालको उम्मेदवारी फिर्ता लिनुस् नत्र कारबाही हुन्छ भनेर धम्क्याउनुभयो ।’
गजुरेलका अनुसार उनीहरूबीच डेढ घण्टा छलफल भएको थियो । पार्टीमा स्वेच्छाचारिता, निरंकुशता, परिवारवाद हाबी भएकाले विद्रोह भएको गजुरेलको भनाइ छ । ‘मैले भनेँ– यो पार्टीमा स्वेच्छाचारिता, निरंकुशता, परिवारवाद हाबी भएकोविरुद्ध उठेको विद्रोहको झण्डा हो । मैले पूर्वको केन्द्र सिन्धुलीबाट विद्रोहको झण्डा उठाएँ,’ उनले भने, ‘अब यो पार्टीमा उकुसमुकुसमा परेका, उत्पीडनमा परेका अरु थुप्रै नेता–कार्यकर्ता पनि विद्रोहमा आउँछन् भनिदिएँ ।’ उनले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आँट गरेरै सफल भएको बताउँदै आफू लड्ने र सफल हुने कुरा प्रचण्डलाई बताएको जिकिर गरे । ‘गगन थापाले आँट गरेर सफल भए । ईश्वर पोखरेलले सुरु गरे तर सफल भएनन् । तर अब हरिबोल गजुरेल लड्छ र सफल हुन्छ भनेको छु प्रचण्ड र माधव नेपाललाई,’ उनले भने ।
प्रचण्डले उम्मेदवार सिफारिस कमिटीलाई पूरै लत्याएको उनको आरोप थियो । ‘उम्मेदवार सिफारिस गर्न बनाएको कार्यदलले क्षेत्र नम्बर १ मा राजन दाहाललाई सिफारिस गरेको थियो,’ उनले थप भने, ‘क्षेत्र नम्बर २ मा हरिबोल गजुरेलको नाम एक नम्बरमा र प्रचण्डको नाम दुई नम्बरमा राखेर सिफारिस गरेको थियो । महेश्वर दाहालको नाम चौथो नम्बरमा थियो । प्रचण्डले त एक नम्बर क्षेत्रमा सिफारिस भएका राजन दाहाललाई २ नम्बर क्षेत्रमा ल्याएर उम्मेदवार बनाउनुभयो ।’ यो कुरा थाहा पाएपछि जिल्ला कमिटीले निर्णय पुनर्विचार गर्न भनेर एकमतले निर्णय गरेर प्रचण्डलाई अनुरोध गरिएको पनि उनले बताए ।
‘राजन दाहालबाहेक अरु नेता छँदैछैन जस्तो भाष्य खडा गरियो । तर राजन दाहालबाहेक पनि एकसेएक क्षमतावान र चुनाव जित्ने नेताहरु छन् सिन्धुलीमा,’ गजुरेलले भने ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































