समानुपातिक मतपत्र छपाइ सकियो, प्रत्यक्षको सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढाएको छ । निर्वाचनको महत्वपूर्ण तयारीअन्तर्गत समानुपातिक तर्फको मतपत्र छपाइ कार्य पूरा भइसकेको आयोगले जनाएको छ भने अब प्रत्यक्ष तर्फको मतपत्र छपाइ औपचारिक रूपमा सुरु गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिक तर्फका लागि कुल दुई करोड आठ लाख ५४ हजार आठ सय मतपत्र छापिसकिएको छ । उनले भने, “समानुपातिक तर्फको मतपत्र छपाइ तोकिएको समयमै सम्पन्न भएको छ । अब प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट सुरु गरिएको छ ।”

भण्डारीका अनुसार प्रत्यक्षतर्फका लागि करिब दुई करोड तीन लाख २३ हजार मतपत्र छापिनुपर्नेछ । “प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य करिब १५ दिनभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ,” उनले जानकारी दिए । निर्वाचन तालिकाअनुसार छपाइ सम्पन्न गर्न आवश्यक कागज, मसी, सुरक्षा तथा प्राविधिक जनशक्ति सबै तयारी अवस्थामा रहेको आयोगको भनाइ छ । निर्वाचन आयोगले फागुन ५ गते अगावै देशभरका सम्बन्धित निर्वाचन सामग्री भण्डारण स्थल तथा निर्वाचन क्षेत्रहरूमा मतपत्र पुर्‍याइसक्ने लक्ष्य लिएको छ ।

यसका लागि छपाइपछि प्याकेजिङ, ढुवानी र सुरक्षासम्बन्धी काम पनि सँगसँगै अघि बढाइएको आयोगले जनाएको छ । आयोगका अनुसार मतपत्र छपाइ कार्य उच्च सुरक्षा व्यवस्थाका बीच भइरहेको छ । छपाइ स्थलमा सिसिटिभी निगरानी, सुरक्षा निकायको स्थायी उपस्थिति तथा गोपनीयता कायम गर्ने कडाइका साथ प्रबन्ध मिलाइएको छ । छपाइ प्रक्रियामा आयोगका प्रतिनिधि, प्राविधिक टोली र सुरक्षा निकायको संयुक्त अनुगमन रहने व्यवस्था गरिएको छ ।

यसपटकको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअन्तर्गत मत खसाल्नुपर्ने भएकाले मतपत्रको डिजाइन, रंग र संकेतहरूलाई मतदातामैत्री बनाइएको आयोगको दाबी छ । मतपत्रमा दलको नाम, चुनाव चिह्न र उम्मेदवारको विवरण स्पष्ट देखिने गरी छपाइ गरिएको बताइएको छ ।

निर्वाचन आयोगले समयमै मतपत्र छपाइ र वितरण सम्पन्न गरेर निर्वाचनलाई निष्पक्ष, स्वच्छ र विश्वसनीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । आयोगका अधिकारीहरूका अनुसार अबको मुख्य ध्यान मतदान सामग्री व्यवस्थापन, कर्मचारी तालिम, मतदाता शिक्षा र सुरक्षा तयारीमा केन्द्रित हुनेछ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लिएर देशभर राजनीतिक सरगर्मी बढिरहेका बेला, मतपत्र छपाइको काम समयमै अघि बढ्नुले निर्वाचन तयारी सही दिशामा अघि बढिरहेको संकेत दिएको विश्लेषकहरू बताउँछन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।