‘कांग्रेसले मात्रै नागरिकमाथि गोली नचल्ने र सिंहदरबार नजल्ने ग्यारेन्टी गर्न सक्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको जीवन र लोकतान्त्रिक व्यवस्थाको सुरक्षा सुनिश्चित गर्न सक्ने शक्ति कांग्रेससँग मात्रै रहेको दाबी गरेका छन् । उनले कांग्रेसको नेतृत्वमा सरकार बने नागरिकमाथि गोली चल्ने अवस्था नआउने र राज्यका संवेदनशील संरचनामा अराजकता नहुने स्पष्ट ग्यारेन्टी कांग्रेसले मात्रै दिन सक्ने बताएका हुन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ को क्षेत्रीय समितिले शनिबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले विगतका घटनातर्फ संकेत गर्दै अबको राजनीतिक यात्रा स्थिरता, संवाद र विश्वासमा आधारित हुने बताए । “फागुन २१ पछि २२ आउँछ, अर्को वर्ष भदौ २३ र २४ पनि आउँछ,” थापाले भने, “तर, त्यो बेला नागरिकमाथि गोली चल्दैन र फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्न सक्छ भने त्यो कांग्रेसले मात्रै गर्न सक्छ । सम्हाल्ने जिम्मेवारी हाम्रो हो ।”

उनले पछिल्लो समय देशमा व्यापक रूपमा अविश्वासको वातावरण सिर्जना भएको उल्लेख गर्दै त्यसलाई विश्वासमा रूपान्तरण गर्ने दायित्व पनि कांग्रेसकै काँधमा आएको बताए । “आज समाजमा एक–अर्काप्रतिको भरोसा कमजोर भएको छ,” उनले भने, “यो अविश्वासलाई विश्वासमा बदल्ने काम कांग्रेसले मात्रै गर्न सक्छ ।” सभापति थापाले कांग्रेसको राजनीतिक कार्यशैली संवाद, समावेशिता र सहमतिमा आधारित रहेको दाबी गरे । उनले कांग्रेस सबै वर्ग, समुदाय र क्षेत्रसँग संवाद गर्न तयार रहेको उल्लेख गर्दै भने, “हामी तन्नेरीहरूसँग संवाद गर्छौं, बूढापाकासँग संवाद गर्छौं । मधेश, पहाड, हिमाल सबैसँग संवाद गर्छौं । देशबाहिर लाखौँ संख्यामा रहेका नेपाली नागरिकसँग पनि संवाद गर्छौं । कांग्रेस कसैलाई छाडेर अघि बढ्दैन ।”

उनले फागुन २१ गते हुने निर्वाचनलाई देशको राजनीतिक दिशा बदल्ने अवसरका रूपमा चित्रण गरे । निर्वाचनपछि कांग्रेसले विकास, सुशासन र स्थायित्वको एजेन्डामा सबै राजनीतिक शक्ति, नागरिक समाज र आम जनतालाई जोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “फागुन २१ को निर्वाचनपछि हामी देश विकासको एजेन्डामा सबैलाई जोडेर, सबैसँग हातेमालो गरेर अघि बढ्न चाहन्छौं,” उनले भने । सभापति थापाले आफू नेतृत्वको कांग्रेस ‘नयाँ सोच र नयाँ संकल्प’सहित अघि बढिरहेको उल्लेख गर्दै यसलाई केवल नेतृत्व परिवर्तनको विषयका रूपमा नहेर्न आग्रह गरे । “यो अनुहारको कुरा होइन,” उनले स्पष्ट पारे, “अनुहार त हामी हिजो पनि थियौं । हिजो खराब र आज असल भन्ने कुरा होइन ।”

उनले कांग्रेसको इतिहासप्रति सम्मान व्यक्त गर्दै विगतका नेतृत्वबाट सिकिएका सकारात्मक मूल्यलाई आत्मसात् गर्दै पार्टीलाई अझ फराकिलो बनाइएको बताए । “हिजोका कांग्रेसका असल कुरा लिएर आएको कांग्रेस हो,” थापाले भने, “उहाँहरूप्रति हाम्रो असिम श्रद्धा छ ।

हामीले असल कुरा सिकेर आएका छौं, अझ फराकिलो भएर आएका छौं ।” अन्त्यमा उनले पार्टीका नेता–कार्यकर्तालाई मतदातामाझ पुगेर कांग्रेस परिवर्तनको नयाँ संकल्पसहित अघि बढेको सन्देश प्रभावकारी रूपमा पुर्‍याउन आग्रह गरे । “कांग्रेस एउटा नयाँ संकल्प लिएर आएको छ भन्ने कुरा तपाईंहरूले मतदातालाई बुझाउनुपर्छ,” उनले भने । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ का कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।