काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुबाट उदाएकी युवा प्रतिभा विभुषा बस्नेत अहिले मिस नेपाल २०२६ को उत्कृष्ट २४ फाइनलिस्टमध्ये एक सशक्त प्रतिस्पर्धीका रूपमा चर्चामा छिन् ।
प्रतियोगी नम्बर १९ का रूपमा प्रतिस्पर्धामा रहेकी विभुषाले सौन्दर्यलाई केवल बाहिरी आकर्षणको विषय नभई नेतृत्व, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको माध्यमका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएकी छन् ।
बाल्यकालदेखि नै चुनौतीसँग जुध्दै अघि बढेकी विभुषाले १७ वर्षकै उमेरदेखि आफ्ना आर्थिक जिम्मेवारी आफैँ वहन गर्न थालेकी थिइन् । आत्मनिर्भर बन्ने यही यात्राले उनलाई महिलाको आर्थिक स्वतन्त्रता, आत्मविश्वास र निर्णय क्षमताको महत्व बुझाएको छ। उनी आर्थिक रूपमा सक्षम महिला नै समाजमा सशक्त भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्छिन् ।
सञ्चार क्षेत्रमा सक्रिय विभुषा पत्रकारिता, कार्यक्रम सञ्चालन तथा सामाजिक विषयवस्तुमा केन्द्रित गतिविधिमार्फत आफ्नो पहिचान बनाउँदै आएकी छन् । विशेषगरी महिला हिंसाबाट प्रभावित महिलाहरूसँग काम गर्ने क्रममा उनले आर्थिक आत्मनिर्भरताले महिलाको जीवनमा कति ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरा नजिकबाट अनुभूति गरेकी छन् । यही अनुभवपछि उनले महिला तथा युवाको आर्थिक सशक्तीकरणलाई आफ्नो मुख्य सामाजिक अभियान बनाएकी हुन् ।
सामाजिक सेवामा पनि सक्रिय विभुषा हाल ‘लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ आई नेपाल’ की उपाध्यक्षको जिम्मेवारीमा रहेर युवा नेतृत्व विकास, स्वयंसेवा र सामाजिक रूपान्तरणका विभिन्न अभियान सञ्चालन गर्दै आएकी छन् । उनका अनुसार नेतृत्व भनेको पदभन्दा बढी समाजप्रतिको जिम्मेवारी हो ।
विभुषाका लागि मिस नेपाल केवल सौन्दर्य प्रतियोगिता होइन, आफ्नो आवाज राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने प्रभावशाली मञ्च हो। यही कारण उनले प्रतियोगितालाई व्यक्तिगत उपलब्धिभन्दा पनि हजारौँ युवतीलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने अवसरका रूपमा लिएकी छन्।
उनको विश्वास छ, “सपना देख्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई पूरा गर्न निरन्तर मेहनत, स्पष्ट उद्देश्य र दृढ आत्मविश्वास आवश्यक हुन्छ ।” यही सोचका साथ उनी आगामी दिनमा नेपालको प्रतिनिधित्व अन्तर्राष्ट्रिय मञ्चमा गर्ने लक्ष्यसहित अघि बढिरहेकी छन् ।
मिस नेपाल २०२६ को अन्तिम प्रतिस्पर्धा नजिकिँदै जाँदा विभुषा बस्नेतले आफ्नो व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक प्रतिबद्धता र आत्मविश्वासका माध्यमबाट निर्णायकमात्र होइन, दर्शक र शुभेच्छुकको पनि ध्यान आकर्षित गरिरहेकी छन् । सोलुखुम्बुको प्रतिनिधित्व गर्दै राष्ट्रिय मञ्चमा उभिएकी उनी नयाँ पुस्ताकी आत्मनिर्भर, सक्षम र प्रेरणादायी युवाको प्रतीक बन्ने लक्ष्यसहित आफ्नो यात्रा निरन्तर अघि बढाइरहेकी छन् ।



































