अन्नपूर्ण स्पाइकर किङ्सको ब्रान्ड एम्बासडरमा राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारी नियुक्त

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गतको फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख खेलाडी उषा भण्डारीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। सुमिरा स्पोर्ट्स भेन्चर्सको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर किङ्सले उषासँग तीन वर्षका लागि सम्झौता गरेको हो।

सम्झौताअनुसार उषाले टोलीका प्रवर्द्धनात्मक गतिविधि, प्रचार–प्रसार तथा विभिन्न सामाजिक अभियानमा सहभागिता जनाउनेछिन्। साथै, अन्नपूर्ण स्पाइकर किङ्ससँग मिलेर नेपाली भलिबलको ग्रासरुटदेखि व्यावसायिक स्तरसम्मको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

नेपाल भलिबल लिगमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरिरहेको अन्नपूर्ण स्पाइकर किङ्स र गण्डकीमै जन्मिएकी उषा भण्डारीबीचको यो सहकार्यलाई विशेष अर्थपूर्ण मानिएको छ। भलिबलप्रेमीको बलियो आधार रहेको गण्डकी क्षेत्रमा क्लबको ब्रान्ड विस्तार गर्नुका साथै नयाँ खेलाडीलाई प्रेरित गर्न उषाको भूमिकाले महत्वपूर्ण योगदान पुग्ने क्लबको विश्वास छ।

घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै पहिचान बनाएकी उषाले माल्दिभ्सका विभिन्न क्लबबाट पनि व्यावसायिक भलिबल खेलिसकेकी छन्। सन् २०१९ मा १३औँ दक्षिण एसियाली खेलकुद (साग) बाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनले त्यसयता राष्ट्रिय टोलीबाट निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्।

उषाले २०१९ को १३औँ सागमा रजत पदक जितेकी थिइन्। २०२२ मा एभीसी वुमन्स सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाउने टोलीको सदस्य रहिन्। २०२३ मा काभा वुमन्स च्यालेन्ज लिगमा कांस्य पदक जित्नुका साथै १९औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिन्।

यस्तै, २०२४ मा नेपाल पुलिस क्लबबाट काभा वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेकी उनले सोही वर्ष काभा वुमन्स नेसन्स लिगमा रजत पदक जितिन्। २०२६ मा काभा वुमन्स क्लब च्याम्पियनसिपमा कांस्य पदक जित्नुका साथै काभा वुमन्स लिगमा नेपाललाई चौथो स्थान दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

केडिया समूहको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल भलिबल लिगमा सहभागी छ टोलीमध्ये अन्नपूर्ण स्पाइकर किङ्स पनि एक हो। क्लबले उषा भण्डारीसँगको साझेदारीले नेपाली भलिबलको विकास, नयाँ प्रतिभाको उत्पादन तथा खेलको लोकप्रियता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।