काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गरे । लुम्बिनीले टस जितेर पहिला बलिङ गरेको खेलमा सुदूरपश्चिमका ब्याटर चल्न सकेनन् । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य साविक विजता लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । आसिफ ३२ रनमा आउट भए । निरोशन डिक्वेला ७ रनमा बोल्ड हुँदा शमिम हुसेन एक र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तोमा समेट्न लुम्बिनी लायन्सका शेर मल्ल र किशोर महतोले उत्कृष्ट प्रदर्शन गरेका थिए । किशोर ४, शेरले ३ विकेट लिँदा कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले एकएक विकेट लिएका थिए । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । विनोद ९, सैफ जैव १३, ब्रान्डन म्याकमुलेन २ र इशान पाण्डे ७, शेर्फन रदरफोर्ड एक, स्कुट कुइगेलेइन र हेमन्त धामी कुनै पनि रन नजोडी आउट भए । अनिल खरेल १७ रनमा अविजित रहे ।
नेपालमा पहिलो पटक प्रयोगमा आएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस)को प्रयोग लुम्बिनीले गरेको छ । दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्लु अपिल गरेका थिए । तर, अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिएका थिए । जसमा उनी सफल हुन सकेनन् । मंगलबार एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजेबाट विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन भएको प्रतियोगिता आगामी ५ मंसिरसम्म चल्नेछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । च्याम्पियन बन्ने टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख,तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ । एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरे ।
त्यस्तै सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) होम एण्ड अवे अवधारणामा सञ्चालन गर्ने गरी सरकारले आठ सहरमा रंगशाला निर्माणको काम अघि बढाइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएललाई शुभकामना दिँदै कम्तीमा आठ हजार दर्शक क्षमताको रंगशाला निर्माणको प्रक्रिया अघि बढेको बताएका हुन् । उनले फ्लडलाइट सुविधासहितको रंगशाला तीन वर्षभित्रै पूरा गर्ने लक्ष्य राखिएको मन्त्री लम्सालको भनाइ छ । ’चार्डपर्वहरूका बीच नेपाली क्रिकेटको पर्व, नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदैछ,’ उनले भनेका छन्, ’होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ ।’
देशका विभिन्न भागमा एनपीएल विस्तार र विकासमा नयाँ आयाम थप्ने लक्ष्य राखिएको उनले बताएका छन् । उनले सरकारको लक्ष्यअनुसार काम गर्न नेपाल क्रिकेट संघ क्यानलाई आग्रह पनि गरेका छन् । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाले एनपीएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास लिएका छौँ,’ उनले थप भनेका छन्, ’क्रिकेट संघ (क्यान)ले पनि सोही अनुरूप आवश्यक तयारी अघि बढाओस् ।एनपीएलको सफल आयोजनाका लागि हार्दिक शुभकामना ।’
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































