काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा शानदार सुरुवात गरेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। जितसँगै लुम्बिनीले प्रतियोगितामा २ अंक जोडेको छ।
लुम्बिनीको जितमा ओपनर डार्सी सर्ट र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। पहिलो विकेटका लागि यी दुईले ६.२ ओभरमा ७१ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याएका थिए। सर्टले १८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४० रन बनाए। आसिफले २५ बलमा २ चौका र २ छक्कासहित ३२ रन जोडे। निरोशन डिकवेला ७ रनमा आउट भए भने कप्तान रोहितकुमार पौडेल ५ रनमा अविजित रहे।
सुदूरपश्चिमका लागि अनिल खरेलले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे। तर, बलरहरूले लुम्बिनीको आक्रामक ब्याटिङ रोक्न सकेनन् । त्यसअघि टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सुदूरपश्चिमलाई १७.२ ओभरमा ८७ रनमै समेटेको थियो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए। ओपनर सेफ जैबले १३ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। विनोद भण्डारीले ९ तथा इशान पाण्डेले ७ रन बनाए।
लुम्बिनीका लागि किशोर महतोले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। शेर मल्लले कसिलो बलिङ गर्दै ४ ओभरमा ११ रन दिएर ३ विकेट हात पारे। शाड्ली भान शाल्कविक, रोहितकुमार पौडेल र तिलक भण्डारीले समान १–१ विकेट लिए।
लुम्बिनी र सुदूरपश्चिमबीचको यो खेलले अघिल्लो संस्करणको फाइनलको समेत झल्को दिएको छ। दोस्रो संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो। अघिल्लो सिजनको फाइनलमा सुदूरपश्चिम ८५ रनमा अलआउट भएको थियो भने यसपटक ८७ रनमै समेटियो।
एनपिएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































