धार्मिक विविधतामा सद्भावको खाँचो

नेपाल परापूर्वकालदेखि नै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको जीवन्त राष्ट्र हो ।

सदिऔँदेखि नेपालका विभिन्न जातजाति र धर्म मान्ने नागरिकहरूबिच कायम रहेको पारस्परिक भाइचारा, सहअस्तित्व र सामाजिक सहिष्णुता नै राष्ट्रिय एकताको आधार हो । तर पछिल्लो समय सुनसरी र सिराहा लगायतका क्षेत्रहरूमा फैलिएको साम्प्रदायिक तनाव, धार्मिक विवाद र हिंसात्मक झडपले देशको मौलिक पहिचानमाथि नै गम्भीर धक्का पुर्‍याएको छ ।

यस्तो संवेदनशील र जटिल परिस्थितिमा राजनीतिक दलहरू, संवैधानिक प्रमुखहरू, पूर्वराष्ट्र प्रमुख, नागरिक समाज, उद्योगी–व्यवसायी र पेशागत संघसंस्थाहरूले एकै स्वरमा संयमता र सामाजिक सद्भावका लागि गरेको अपिलले सद्भावको खाँचो अपरिहार्य भइसकेको प्रस्ट पारेको छ ।

पछिल्ला घटनाक्रमले सानातिना धार्मिक वा सांस्कृतिक विवादहरूले उत्पन्न गर्ने साम्प्रदायिक तनावको स्वरूप उजागर गरेको छ । स्थिति नियन्त्रणबाहिर जान नदिन राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाहदेखि लिएर विभिन्न राजनीतिक दलका प्रमुखहरू रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेशकेन्द्रित दलका नेताहरूसम्मले देशवासीलाई संयमित हुन आग्रह गरेका छन् ।

उद्योग वाणिज्य महासंघ र नेपाल बार एसोसिएसन जस्ता नागरिक तथा पेसागत संगठनहरूले पनि अशान्ति र मुठभेडले कसैको हित नगर्ने र यसले नागरिकको दैनिक जीवनयापनका साथै मुलुकको अर्थतन्त्रमा समेत घातक असर पुर्‍याउने चेतावनी दिँदै शान्तिको कामना गरेका छन् ।

धार्मिक विविधता हाम्रो कमजोरी होइन, शक्ति हो । तर जब समाजमा अविश्वास र उत्तेजना फैलाउने प्रयास हुन्छ, तब विवेक र सहिष्णुता गुमाउँदा त्यसको मूल्य सम्पूर्ण राष्ट्रले चुकाउनुपर्छ । नेपाली समाजको इतिहास छ, हामीले जुनसुकै राजनीतिक वा सामाजिक परिवर्तन भोगे पनि धार्मिक र जातीय सद्भावलाई सधैँ अक्षुण्ण राखेका छौँ । तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको अविवेकपूर्ण प्रयोग, भ्रामक प्रचार, उत्तेजक अभिव्यक्ति र धर्मसंस्कृतिको नाममा गरिने शक्ति प्रदर्शनले साम्प्रदायिक सद्भावलाई बिथोल्ने काम गरिरहेका छन् । द्वन्द्व र हिंसाले कुनै पनि समस्याको स्थायी निकास दिँदैन, यसले प्रतिशोध, अविश्वास र विनाश मात्र निम्त्याउँछ ।

सद्भावको अपिल काठमाडौँका हलहरूमा गरिने वक्तव्यबाजी वा सामाजिक सञ्जालका भिडियो सन्देशमा मात्र सीमित हुनु हुँदैन । सरकार, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङले ढिलै भए पनि सुरक्षा परिषद्को बैठक र प्रशासनिक सक्रियता बढाएका छन्, तर यति मात्र पर्याप्त छैन । सरकारले शान्ति सुरक्षा कायम गर्नुका साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्छ र पीडितलाई न्याय तथा क्षतिपूर्तिको प्रत्याभूति दिलाउनुपर्छ ।

स्थानीय तहमा हिन्दू, मुस्लिम र अन्य धार्मिक–सामाजिक सम्प्रदायका अगुवाहरूलाई समेटेर स्थायी सद्भाव र संवाद समिति गठन गरिनुपर्छ, जसले अफवाह र तनावलाई तत्काल साम्य पार्न सकोस् ।
विविधताबिचको एकता नै नेपालको सबैभन्दा ठूलो सामर्थ्य हो । जुनसुकै धर्म, जात वा समुदायको भए पनि हाम्रा दुःख, सुख र राष्ट्रिय भविष्य एउटै धागोमा गाँसिएका छन् । राजनीतिक तिक्तता वा सामाजिक उत्तेजनालाई एकातिर पन्छाएर, प्रत्येक नागरिकले संयमता र धैर्यता अपनाउनु अहिलेको घडीको प्राथमिक कर्तव्य हो । अशान्ति र द्वेषको बाटो छाडेर संवाद, भाइचारा र आपसी विश्वासको मार्गमा अघि बढ्न सके मात्र हामीले हाम्रो धार्मिक विविधतालाई साँच्चिकै जोगाउन र राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिन्छ ।

मिति २०८३ साउन १७ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।