अमेरिकाले ब्राजिलको निर्वाचनमा हस्तक्षेप गर्न खोज्दैछ ?

ब्राजिलका २ ठूला आपराधिक संगठनहरू ‘प्राइमिरो कमान्डो डा क्यापिटल’ (सीसीसी) र ‘कमान्डो भेर्मेल्हो’ (सीभी)लाई ‘आतंकवादी’ समूहका रूपमा वर्गीकृत गरेर संयुक्त राज्य अमेरिकाले ब्राजिलको सुरक्षा चुनौतीबारे आफ्नै परिभाषा लागू गरेको छ, जसको परिणाम कानुन कार्यान्वयनभन्दा धेरै अघिसम्म पुग्छ ।

यस कदमलाई अमेरिका र ब्राजिलको उग्रदक्षिणपन्थ दुवैले संगठित अपराधको बढ्दो अन्तर्राष्ट्रिय पहुँचविरुद्धको आवश्यक प्रतिक्रियाका रूपमा प्रस्तुत गरिरहेका छन्, तर वास्तवमा यसले सुरक्षाभन्दा बढी राजनीतिको कुरा गर्छ । यस वर्गीकरणले ल्याटिन अमेरिकामा वासिङ्टनको दीर्घकालीन हस्तक्षेपकारी प्रवृत्ति, जसले सन् १९६४ देखि १९८५ सम्म चलेको अमेरिकी समर्थन प्राप्त तानाशाहीको सम्झना दिलाउँछ र ब्राजिलको

उग्रदक्षिणपन्थी स्वार्थबिचको एउटा खतरनाक संगमलाई प्रतिविम्बित गर्छ । पीसीसी र सीभी वास्तवमै विशाल पैमानेमा हुने हिंसाका लागि जिम्मेवार छन् । तिनीहरू ल्याटिन अमेरिकाका सबैभन्दा शक्तिशाली आपराधिक सञ्जालहरू हुन् र ब्राजिल तथा त्यसभन्दा बाहिर सार्वजनिक सुरक्षाका लागि वास्तविक खतरा हुन् । तर हिंसा जतिसुकै चरम भए पनि आफैँमा कुनै संगठनलाई आतंकवादी बनाउँदैन । यद्यपि यो शब्द विवादित छ, आतंकवादलाई सामान्यतया राजनीतिक वा वैचारिक उद्देश्यका लागि गरिने हिंसाका रूपमा बुझिन्छ ।

पीसीसी र सीभीले आफ्ना स्वार्थ पूरा गर्न संस्थाहरूलाई भ्रष्ट बनाउन सक्छन्, राजनीतिज्ञहरूलाई प्रभाव पार्न सक्छन्, क्षेत्र नियन्त्रण गर्न सक्छन् वा राज्यसँग भिड्न सक्छन् तर तिनीहरूको प्राथमिक उद्देश्य आपराधिक सत्ता र मुनाफा हो, राजनीतिक रूपान्तरण होइन । राजनीति तिनीहरूका गतिविधिको संरक्षण र विस्तार गर्ने माध्यम हो, ती संगठनहरू अस्तित्वमा रहनुको कारण होइन । सरकारहरूले आतंकवादको परिभाषा जति व्यापक रूपमा लागू गर्छन्, उति नै यसले सुरक्षा खतराको वास्तविक प्रकृतिलाई ओझेलमा पार्ने जोखिम रहन्छ, जबकि राज्यहरूलाई राजनीतिक उद्देश्यका लागि यस्ता वर्गीकरणहरू प्रयोग गर्ने ठूलो छुट मिल्छ । यसले वासिङ्टनले अहिले नै यो कदम चाल्न किन रोज्यो भन्ने प्रश्नलाई विशेष महत्वपूर्ण बनाउँछ ।

न त पीसीसी, न त सीभी नै भर्खरै भेटिएका खतरा हुन् । पीसीसी १९९० को दशकको सुरुदेखि नै अस्तित्वमा छ; सीभी त्योभन्दा पनि पुरानो हो र यी दुवै संगठन र तिनले पुर्‍याउने क्षतिबारे ब्राजिलिया र वासिङ्टन दुवैलाई दशकौँदेखि थाहा छ ।

त्यसो भए अमेरिकाले सन् २०२६ मा आएर यी पुराना संगठित आपराधिक सञ्जालहरूलाई ‘आतंकवादी’ समूहका रूपमा वर्गीकृत गर्ने निर्णय किन गर्‍यो ? यसको जवाफ खतराको कुनै नयाँ मूल्यांकनभन्दा पनि ब्राजिलको आन्तरिक राजनीतिमा निहित देखिन्छ ।

यस वर्गीकरणको समयलाई राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको सरकार विरुद्धको राजनीतिक लडाइँमा वासिङ्टनलाई संलग्न गराउने बोल्सोनारो परिवारको प्रयासभन्दा अलग गरेर हेर्न गाह्रो छ । पूर्वराष्ट्रपति जायर बोल्सोनारो सन् २०२२ को चुनावी हारपछि ‘कू’को प्रयासमा आफ्नो भूमिकाका लागि २७ वर्ष ३ महिनाको जेल सजाय काटिरहेका छन् भने उनका छोराहरूले त्यो लडाइँलाई अमेरिकातर्फ बढाएका छन् ।

पूर्वराष्ट्रपतिका छोराहरूमध्येका एक फ्लावियो बोल्सोनारोले महिनाौँदेखि लुलालाई संगठित अपराधप्रति नरम भएको रूपमा चित्रण गर्दै आएका छन् र अमेरिकी अधिकारीहरूलाई लुला सरकारविरुद्ध कडा कदम चाल्न दबाब दिइरहेका छन्, जसमा ट्रम्प प्रशासनलाई पीसीसी र सीभीलाई आतंकवादी संगठनका रूपमा वर्गीकृत गर्न प्रत्यक्ष दबाब दिनु पनि समावेश छ । उनका भाइ एडुआर्डो बोल्सोनारो, जो अहिले अमेरिकामा बस्छन्, आफ्ना बुवा विरुद्धको कारबाहीका क्रममा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशहरूविरुद्ध प्रतिबन्ध र ब्राजिलमाथि भन्सार शुल्क (ट्यारिफ) लगाउन पहल गर्दै अझ अगाडि बढे । १६ जुनमा ब्राजिलको सर्वोच्च अदालतले एडुआर्डोलाई त्यो अभियानका क्रममा धम्की र दबाब (कोएसन) दिएको अभियोगमा ४ वर्ष २ महिनाको जेल सजाय सुनाएको छ ।

फ्लावियोको पहलको तत्कालै चुनावी महत्व पनि छ । उनी अक्टोबरको निर्वाचनमा लुलाका मुख्य प्रतिस्पर्धीका रूपमा उदाएका छन् । ११ अगस्टको सीएनटी/एमडीए (सीएनटी/एमडीए) पोलले पहिलो चरणमा लुलालाई ४२.४ प्रतिशत र फ्लावियोलाई २८.७ प्रतिशतमा राखेको छ ।

त्यस चुनावी सन्दर्भमा आतंकवादी वर्गीकरणले एउटा महत्वपूर्ण राजनीतिक भूमिका खेल्छ, जसले ब्राजिलको उग्रदक्षिणपन्थद्वारा प्रवद्र्धित लुला आपराधिक संगठनहरूसँग मिलेका छन् वा तिनीहरूसँग भिड्न अनिच्छुक छन् भन्ने भाष्यलाई बलियो बनाउँछ । यसको उद्देश्य त्यस्ता दाबीहरू प्रमाणित गर्नु मात्र होइन, बरु शंकाको वातावरण सिर्जना गर्नु हो, जसलाई आन्तरिक रूपमा हतियार बनाउन सकियोस् र ब्राजिलमा अमेरिकाको ठूलो संलग्नतालाई औचित्य दिन सकियोस् ।

उग्रदक्षिणपन्थी प्रदर्शनहरूका क्रममा बोल्सोनारो परिवारका समर्थकहरूले अमेरिकी झण्डा प्रदर्शन गरेको र ब्राजिललाई वामपन्थबाट बचाउन सैन्य र विदेशी हस्तक्षेपको खुला रूपमा माग गरेको देख्नु सामान्य कुरा हो । त्यसैले अमेरिकी झण्डा र हस्तक्षेपका लागि गरिएका आह्वानहरू केवल नाटकीय मात्र होइनन्, तिनीहरूले आफ्नो आन्तरिक संघर्षमा वासिङ्टनलाई सहयोगीका रूपमा हेर्ने राजनीतिक आन्दोलनलाई प्रतिविम्बित गर्छन् । यो रणनीति परिचित छ । विश्वभरि दक्षिणपन्थी आन्दोलनहरूले अपराध, बसाइँसराइँ, राजनीतिक विपक्ष र आतंकवाद बिचको भिन्नतालाई बढ्दो रूपमा धमिलो पारेका छन् । सुरक्षा सम्बन्धी भाषा विपक्षीहरूलाई

अवैध ठहराउने र असाधारण उपायहरूको औचित्य पुष्टि गर्ने औजार बनेको छ ।
मेक्सिकोले यसको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गर्छ । मेक्सिकन कार्टेलहरूलाई आतंकवादी संगठनका रूपमा वर्गीकृत गर्न अमेरिकी राजनीतिज्ञहरूबाट आएका आह्वानहरूसँगै प्रायः मेक्सिकन भूभागभित्र एकतर्फी सैन्य कारबाहीका प्रस्तावहरू पनि जोडिएका छन् र निकोलस मादुरोलाई क्याराकासस्थित उनको सुरक्षित निवासबाट अमेरिकी बलहरूले अपहरण गरेपछि कुनै पनि ल्याटिन अमेरिकी नेतासँग ट्रम्पको एकतर्फी कारबाहीको धम्कीलाई गम्भीरतापूर्वक लिने कारण छ ।

त्यसैले मुद्दा वासिङ्टनले सुरक्षा खतरालाई कसरी परिभाषित गर्छ भन्ने मात्र होइन तर त्यो परिभाषाको प्रयोग कस्ता अधिकार र हस्तक्षेपका रूपहरूलाई औचित्य दिन सकिन्छ भन्ने हो । त्यो प्रश्न अब सिधै ब्राजिलसम्म विस्तार भएको छ । वासिङ्टनको दाबी छ कि पीसीसी र सीभी जस्ता समूहहरूलाई आतंकवादी संगठनका रूपमा वर्गीकृत गर्नाले थप कानुनी औजारहरू मात्र प्रदान गर्छ तर ती औजारहरूले आपराधिक अभियोजनभन्दा धेरै परसम्म परिणामहरू बोक्छन् । तिनीहरूले अमेरिकी अधिकारीहरूलाई सम्पत्ति फ्रिज गर्ने, प्रतिबन्धहरू लगाउने र यी समूहहरूलाई सहयोग गरेको अभियोग लागेका व्यक्तिहरूमाथि मुद्दा चलाउने ठूलो अधिकार दिन्छन् ।

तिनीहरूले ब्राजिलमा सञ्चालित कम्पनीहरूका लागि नयाँ अनुपालन दायित्वहरू पनि सिर्जना गर्छन् र वित्तीय सञ्जालहरूलाई बढी निगरानीको दायरामा ल्याउँछन् । बैंकहरूको पीसीसी वा सीभीसँग कुनै जानीजानी सम्बन्ध नहुन सक्छ, तैपनि आफ्ना प्रणालीहरू तिनीहरूसँग जोडिएका कोषहरू ओसारपसार गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रयोग भएका छैनन् भनी देखाउन दबाबको सामना गर्नुपर्ने हुन सक्छ । ग्राहकहरू, तेस्रो पक्षहरू, फ्रन्ट कम्पनीहरू र जटिल भुक्तानी शृंखलाहरूमार्फत त्यस्ता सम्बन्धहरूको खोजी गर्नु असाधारण रूपमा गाह्रो हुन सक्छ ।

वित्तीय असरहरू ‘पिक्स सम्बन्धी अमेरिकाको छुट्टै विवादसँग पनि जोडिन्छन्, जुन ब्राजिलको केन्द्रीय बैंकद्वारा सञ्चालित एक इन्स्ट्यान्ट भुक्तानी प्रणाली हो र भिसा तथा मास्टरकार्ड जस्ता कार्ड सञ्जालहरूको मुख्य विकल्प बनेको छ । व्यापक व्यापार विवादको एक भागका रूपमा वासिङ्टनले पिक्सको सूक्ष्म निगरानी गरेको छ, जबकि फ्लावियो बोल्सोनारोले गैरपश्चिमी भुक्तानी प्रणालीहरूसँग यसको भविष्यका सम्बन्धहरूलाई सीमित गर्ने प्रस्ताव गरेका छन् ।

यदि पीसीसी वा सीभीसँग जोडिएको रकम पिक्समार्फत पठाएको भेटिएमा यसको आतंकवादी वर्गीकरणले थप निगरानीको तह थप्न सक्छ । ब्राजिलका सुरक्षा अधिकारीहरूले पनि चेतावनी दिएका छन् कि यस वर्गीकरणले अमेरिकासँगको प्रहरी सहकार्यको दीर्घकालीन माध्यमहरूलाई जटिल बनाउन सक्छ । पीसीसी र सीभीमाथिका संयुक्त अनुसन्धानहरू नियमित सूचना आदानप्रदान र कानुन कार्यान्वयन एजेन्सीहरू बिचको समन्वयमा धेरै निर्भर हुन्छन् । तर यी समूहहरूलाई आतंकवादी संगठनका रूपमा व्यवहार गर्दा केही अनुसन्धानहरू बढी प्रतिबन्धित गुप्तचर र राष्ट्रिय सुरक्षा माध्यमहरूमा सर्न सक्छन्, जसले सहकार्यलाई सुदृढ गर्नुको सट्टा अझ गाह्रो बनाउँछ । यी तात्कालिक परिणामहरूभन्दा बाहिर यो वर्गीकरणले ब्राजिलको सुरक्षा नीतिमा गहिरो अमेरिकी संलग्नताका लागि एउटा नजिर सिर्जना गर्छ र सम्पूर्ण ल्याटिन अमेरिकाले यो फिल्म पहिले पनि हेरिसकेको छ ।

शीतयुद्धभरि वासिङ्टनले आन्तरिक राजनीतिक संघर्षहरूलाई साम्यवाद विरुद्धको ठूलो वैचारिक संघर्षको अङ्गका रूपमा प्रस्तुत गर्दै नियमित रूपमा हस्तक्षेपको औचित्य साबित गर्‍यो । सरकारहरू, सामाजिक आन्दोलनहरू र राजनीतिक कलाकारहरूलाई अमेरिकाका व्यापक रणनीतिक उद्देश्यहरूभित्र तिनीहरूको उपयोगिता अनुसार वर्गीकृत गरियो ।

आज हस्तक्षेपको औचित्यका रूपमा साम्यवादविरोधी भावनाको ठाउँ ठूलो मात्रामा आतंकवादविरोधी भावनाले लिएको छ, यद्यपि ट्रम्प र उग्रदक्षिणपन्थीहरूले साम्यवादको डरलाई पनि ब्युँताएका छन् र यसलाई आफ्नो वामपन्थी कित्ताका लगभग जुनसुकै कुरामा लागू गरिरहेका छन् । शब्दावली बदलिएको छ तर तर्क उस्तै अचम्मको रूपमा उस्तै छ ।

एकतर्फी रूपमा खतराहरू परिभाषित गरेर र ती परिभाषाहरू विदेशमा निर्यात गरेर वासिङ्टनले पहिले अमेरिकी हस्तक्षेप अनुभव गरिसकेका सार्वभौम देशहरूभित्र राजनीतिक प्रभावका नयाँ बाटाहरू सिर्जना गर्छ । ब्राजिलसँग संगठित अपराधको गम्भीर समस्या छ, जसका लागि कडा कानुन कार्यान्वयन, अन्तर्राष्ट्रिय सहकार्य र संस्थागत सुधार आवश्यक छ । तर आपराधिक संगठनहरूसँग प्रभावकारी रूपमा लड्न तिनीहरू के हुन् भनेर बुझ्न आवश्यक छ, राजनीतिक पात्रहरूले तिनीहरूलाई के बनाउन चाहन्छन् भन्ने होइन ।

पीसीसी र सीभी खतरनाक छन्, किनभने तिनीहरू परिष्कृत आपराधिक सञ्जालहरू हुन् । तिनीहरूलाई आतंकवादी संगठनका रूपमा पुनः परिभाषित गर्नाले राजनीतिक फाइदाहरू सिर्जना गर्न सक्छ । तर यसले खतराको वास्तविक प्रकृतिलाई नै ओझेलमा पार्ने जोखिम रहन्छ ।

वासिङ्टनले एउटा जटिल आन्तरिक सुरक्षा समस्यालाई भूराजनीतिक र वैचारिक युद्धमैदानमा परिणत गर्दैछ र ल्याटिन अमेरिकामा इतिहासले संकेत गर्छ कि जब वासिङ्टनले आफ्नै राजनीतिक स्वार्थको चश्माबाट आन्तरिक समस्याहरूलाई पुनः परिभाषित गर्न थाल्छ, सार्वभौमसत्ता प्रायः पहिलो शिकार बन्छ । (लेखक ब्राजिलियन पत्रकार तथा अनुसन्धानकर्ता हुन् ।) अलजजिराबाट भावानुवाद

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।